खुला अकासमुनि परस्पर मिलेर मुस्काइरहेका सैलुङका सय थुम्का, हरिया सुन्दर पाटन अनि त्यसमा चरिरहेका चौंरी र घोडाका बथानको मनमोहक दृश्य। अनि हेरेर नअघाइने हिउँचुलीका लस्कर। साँच्चै स्वर्गको नाभि भन्न सुहाउने एक अद्वितीय गन्तव्य। दोलखा र रामेछाप सिमानामा पर्ने सैलुङको असली परिचय हो, यो।
संघीय राजधानी काठमाडौंबाट छोटो दूरीमा रहेको सुन्दर सैलुङले आफ्नो वास्तविक पहिचान खोजिरहेको छ। समुद्री सतहबाट ३ हजार १ सय ५० मिटर उचाइमा रामेछाप र दोलखा सिमानामा रहेको सय थुम्का मिलेर बनेको सैलुङ पर्यटकीय तथा अध्यात्मिक हिसाबले समेत निकै महत्त्वपूर्ण संगम हो।
स्पार्क एडभेन्चर २०२३ का लागि स्पार्क ग्रुपले यस्तो अद्भुत स्थान सैलुङलाई गन्तव्य बनाएको थियो। करिब २ सयभन्दा बढी व्यक्तिसहित हामी सैलुङ पुगेका थियौं।
सैलुङ यात्रामा निस्किँदै गर्दा धुलिखेलको मिराबल रिसोर्टमा सबै जना भेटियौं। विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू त्यहाँ भेटिएका थियौं। भेटिएका सबैको गन्तव्य एकै थियो सैलुङ। सबैको मुहारमा सैलुङ पुग्ने तीव्र इच्छा, हुटहुटी र ऊर्जा थियो।
सयौं पाहुनासाथ धुलिखेलको यस रिसोर्टमा सानदार उद्घाटन गरिएको थियो। पाहुनालाई पञ्चेबाजाबाट स्वागत र स्वादिष्ट खानेकुराको आनन्द पस्किइएको थियो। सैलुङ जाँदै गर्दा यस्तो लाग्दै थियो कि यहाँ विभिन्न क्षेत्रबाट आएका भए पनि नेपाली भएर जुटेका थियौं।
रिसोर्टबाट निस्किएपछि करिब ५० वटा अफरोड गाडीको लावालस्करले छुट्टै किसिमको उमंग पैदा गरिरहेको थियो। नेपालका पाखापखेरा अवलोकन गर्ने यो एउटा उत्तम मौका पनि थियो।
कहिले पक्की, कहिले धुलैधुलो त कहिले खाल्डाखुल्डीसहितको साँघुरो बाटो। सहर छाडेर बाहिर आउँदा एड्भेन्चर फिल गर्ने मौका पायौं। हामीलाई गरिएको स्वागत तथा सत्कारले निकै नै सकारात्मक ऊर्जा आएको महसुस भएको थियो। न्यानो सत्कार र स्वागत, अनि छोटो–छोटो चिया ब्रेक सैलुङ नपुगुन्जेलसम्म नै विभिन्न ठाउँमा भइरह्यो।
चुनौतीबीच बाटोमा मनमोहक दृश्यले हामीलाई चकित बनाइरह्यो। बाटोमा गाडीको गतिसँगै गाउँबेसी नियाल्दै यात्रा गर्दा लाग्थ्यो, वास्तवमा नेपालको वास्तविक पहिचान यिनै लेकबेसी, बस्ती र संस्कृतिमा नै सजीव छ। यात्राभरि यस्तो लाग्यो कि हामी प्रकृतिलाई बेस्सरी अँगालो मारिरहेका छौं।
पहिलो दिन करिब चार घन्टा यात्रापछि हामी दोरम्बाको सुन्दर गाउँ पुग्यौं। त्यहाँ हामीलाई स्थानीय बाजा, झाँकी र कलात्मक नृत्य प्रदर्शनका साथ पूरै गाउँबाट स्वागत गरिएको थियो। स्वागत कार्यक्रममा पाएको माया निकै नै अद्भुत थियो। मन निकै नै रोमाञ्चित भएको थियो।
मलाई लाग्छ, यो आत्मीयता विरलै महसुस गर्ने सौभाग्य जुट्छ। हाम्रो थकानलाई यहाँको न्यानो आतिथ्यता र मौलिकताले कतिखेर बिर्साइसकेछ, थाहै भएन।
दोरम्बापछि हामी खोलाखर्क पुग्दा सूर्यास्त भइसकेको थियो। त्यहाँ भव्य स्वागतसाथ हामी अगाडि बढ्दै गयौं। मादल र डम्फुको तालमा हामी सबै मन्त्रमुग्ध बनेका थियौं। त्यो आत्मीयताको माहोलमा हामी पनि निकै रमाएका थियौं। यो सुन्दर अनुभवले हाम्रो मनलाई अझ सन्तुष्ट बनाएको थियो।
खोलाखर्कमा पाहुनालाई स्वागत गर्न स्थानीय संस्कृतिअनुसार झाँकीका साथै परिकार राखिएको थियो। उहाँहरूको यो संस्कार नै रहेछ। कस्तो राम्रो संस्कार! यसरी संस्कार जोगाइराख्नु अहिलेको आवश्यकता हो। भव्य र न्यानो स्वागतपछि हामी हाम्रो गन्तव्य सैलुङ डाँडातर्फ लाग्यौं।
खोलाखर्कबाट सैैलुङ निकै नजिक देखिएको थियो। सैैलुङको भ्युटावरमा बालिएको बत्ती निकै नजिक देखिएको थियो। भ्यु टावरको बत्ती पछ्याउँदै हामी करिब ४५ मिनेट पैदल यात्रामा सैलुङ थुम्कामा पुग्यौं।
गन्तव्यतर्फ लाग्दै गर्दा मनमा एकखाले उत्सुकता जाग्दै थियो। म केही भावुक पनि भएँ। सधैं आकासबाट देखेको यस ठाउँमा पाइला टेक्न पाउँदा म निकै उत्साहित थिएँ।
सैैलुङ थुम्का पुगेपछि मलाई लाग्यो नेपाल वास्तवमै सुन्दर छ। तर, त्यसको कदर पनि हामीले गर्न सकेका छैनौँ र प्रचार पनि। त्यहाँका थुम्का, हावा अथवा अरू जेसुकै होस् सबै प्राकृतिक थिए। त्यहाँको सुन्दरता नै त्यही थियो। हामी पुग्दा अँध्यारो भइसकेकाले त्यसबखत त दृश्यावलोकन गर्न सकिएन। तर, त्यहाँको वातावरणले मोहित बनाइरह्यो।
साढे तीन दशकदेखि सैैलुङमाथिको आकासमा उड्दै ‘वाउ’ मात्रै भन्दै आएको थिएँ। त्यतिखेर यो ठाउँ कहिले पुगुँला भन्ने भएको थियो, तर आउने अवसर जुरेको थिएन। अहिले प्रत्यक्ष सैैलुङ जान पाउँदा मलाई निकै खुसी मिलेको थियो।
पछिल्लो समय म सकेसम्म जान मन लागेको ठाउँमा गाडीमा गएको हुन्छु। यहाँ पनि आउने सोच थियो नै। तर स्पार्क एडभेन्चरमा जान पाउँदा म निकै खुसी भएँ।
पहिलो रात तारा झल्किने आकासमुनि चिसो बताससँगै सैलुङको अभूतपूर्व दृश्य बाँच्दै गर्दा अमूल्य अनुभूति पाएका थियौं। प्राकृतिक विश्राममा पुगेर दिनको थकान भुल्दै हामी सुस्तरी निदायौं।
सैलुङले हामीलाई दोस्रो दिनको मनमोहक सूर्योदयको साथ स्वागत ग¥यो। हरेक पाइलाले हरियालीको रमणीय वातावरण बनाउने त्यो अद्भुत कला सैलुङसँग थियो। मौन भव्यतामा विशाल हिमालका ३६० डिग्री अनुभूति दिन्थ्यो। त्यसबाहेक हरियाली थुम्का, पारि देखिएका बादलका दृश्यले मन झन् रोमाञ्चक बनाइरह्यो।
सैैलुङको तल मन्दिर र गुफा छ भने माथि गुम्बा छ। हामीले यी सबैको अवलोकन ग¥यौं। हिन्दु र बुद्ध धर्मावलम्बीको तीर्थस्थलका रूपमा परिचित सैैलुङ आध्यात्मिक मात्रै होइन, प्राकृतिकरूपमा पनि निकै धनी छ। यी ठाउँमा समय बिताउँदा निकै आनन्द आयो।
दोस्रो दिन बिहान त्यहाँको स्थानीय परिकार खाजाका रूपमा खाइयो। चौंरीको दूध, भुटेको मकै, आलुको तरकारी निकै स्वादिला थिए। यी परिकारले साँच्चै रैथाने भनेको यो पो हो त भन्ने आभाष दिलाएको थियो।
दिउँसो भने सांस्कृतिक कार्यक्रमको मजा लिइयो। पाँच घन्टाभन्दा बढी पैदल हिँडेर कार्यक्रममा सहभागी हुन स्थानीय आएका थिए। यो आत्मीयताले मन भावुक बनायो।
मैले गुम्बामा गुरुसँग बास बस्ने अवसर पनि पाएँ। साथी प्रेमराजा महत र म सँगै गुरुसँग बसेका थियौं। म अध्यात्म र प्रकृतिसँग अन्तरघुलित हुने व्यक्ति। सैैलुङमा धार्मिक हिसाबले सुरुमा बौद्ध गुम्बा र पछि भ्यु टावर बनेपछि पर्यटकको आउजाउ राम्रो हुन थालेको देखेँ।
अहिले त्यहाँ मन्दिर पनि बन्दै रहेछ। यहाँ बुद्धिस्टमात्र नभई हिन्दुहरूको पनि उत्तिकै बसोबास रहेछ। पर्यटन प्रवद्र्धनबारे चासो र चिन्तनकै क्रममा यही क्षेत्रका प्रदेश सांसद युवराज चौलागाईंलगायतसँग कुरा भयो। उहाँहरू सैैलुङमा पर्यटन प्रवद्र्धनका लागि अग्रसर भइरहेको थाहा पाउँदा खुसी पनि लाग्यो।
समग्रमा सैलुङमा साँच्चै एड्भेन्चर महसुुस गर्न पाउँदा निकै नै उत्साहित भएँ। त्यहाँको स्थानीय परिकार, मकै, भटमास, चौंरीको दूध, सिस्नोजस्ता खानेकुराले मन अझै भरिएको छैन। साँच्चै, सैलुङ कति राम्रो छ भनेर बयान गरेर पुग्दैन, त्यहीँ गएर अनुभूत गर्न सक्नुपर्छ।
सैैलुङ पर्यटन तथा आध्यात्मिक पर्यटनका हिसाबले एकदमै महत्वपूर्ण भूमि हो। त्यसको प्रचार अझ धेरै हुनुपर्छ। पर्यटन प्रवद्र्धनका लागि सञ्चालित संघसंस्था, पर्यटन बोर्ड, पर्यटन विभागलगायतले पनि यस क्षेत्रमा पर्यटन विकास गर्ने र सैैलुङलाई विश्वसामु फैलाउने उद्देश्य लिनुपर्छ। हरेक नेपालीले पनि यसको प्रचार–प्रसार गर्नुपर्छ।
(लामा नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन हुन्।)
प्रस्तुतीः सुवास योञ्जन