काठमाडौं। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ‘नेपाल व्यापार सर्वेक्षण २०७८’ अनुसार मुलुकभित्र थोक तथा खुद्रा व्यापार गर्ने कुल ४ लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्ये करिब ३२ प्रतिशत दर्ताबिनै सञ्चालनमा रहेको देखाएको छ।
बाँकी ६८ प्रतिशत व्यापारिक प्रतिष्ठान कुनै न कुनै प्रकारको सरकारी निकायमा दर्ता भएको सर्वेक्षणमा उल्लेख गरिएको छ। यस क्षेत्रमा संलग्न ११ लाख ३० हजार ६ सय ४५ मध्ये ४ लाख ३ हजार ९६४ महिला रहेका छन्।
सर्वेक्षणका अनुसार यसलाई सय प्रतिष्ठानमा हेर्दा औसत १४६ पुरुष र ८१ महिला रोजगारीमा रहेको सर्वेक्षणले देखाएको छ।
यस क्षेत्रमा संलग्न कुल कामदारमध्ये तलब ज्याला र अन्य सुविधा पाउनेको संख्या २ लाख १९ हजार ५५१ छ। यसमा महिला ४५ हजार ९ र पुरुष १ लाख ७४ हजार ५४२ रहेका छन्।
यस क्षेत्रमा तलब ज्याला र अन्य सुविधा लिई काम गर्नेभन्दा बढी संख्या परिवारका सदस्यका व्यक्तिको रहेको देखिएको छ। तलबी कामदार भएका व्यापारिक प्रतिष्ठानको तलब ज्याला र अन्य सुविधामा प्रतिप्रतिष्ठान औसत वार्षिक ६ लाख ४ हजार ९१२ रुपैयाँ खर्च भएको देखिएको छ भने प्रतिकामदार औसत वार्षिक २ लाख ८ हजार ४९४ खर्च देखिने सर्वेक्षणमा उल्लेख छ।
सर्वेक्षणअनुसार व्यापारिक प्रतिष्ठानको मुख्य कार्यबाहेक अन्य क्रियाकलापबाट २ अर्ब ४ करोडबराबर अन्य अम्दानी भएको र प्रतिप्रतिष्ठान औसत अन्य अम्दानी ६९ हजार पाइयो। त्यसैगरी व्यापारिक प्रतिष्ठानको सञ्चालन खर्च १ खर्ब ३३ अर्ब र प्रतिप्रतिष्ठान औसत सञ्चालन खर्च २ लाख ६४ हजार देखिएको छ।
केन्द्रीय तथ्यांक विभागले आन्तरिक व्यापारअन्तर्गत मुलुकभित्र हुने वस्तुको थोक तथा खुद्रा व्यापार क्षेत्रको अवस्थाबारे अध्ययन गरी आधारभूत तथ्यांक उपलब्ध गराउन आव २०६५/६६ मा पहिलो व्यापार सर्वेक्षण सञ्चालन गरिएको थियो भने यो दोस्रो सर्वेक्षण हो।
राष्ट्रिय स्तरको सर्वेक्षण छनोटविधिमा आर्थिक गणना २०७५ बाट प्राप्त मुलुकभित्रका सरकारी निकायमा दर्ता भएका तथा दर्ता नभई अनौपचारिक सञ्चालन भएका व्यापारिक प्रतिष्ठानको आँकडालाई लगत सूचीका रुपमा प्रयोग गरिएको थियो। लगत सूचीमा ४ लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठान थिए।
कार्यालयका प्रवक्ता डा. हेमराज रेग्मीका अनुसार सर्वेक्षणबाट प्राप्त नतिजा तिनै १५ हजार २९९ प्रतिष्ठानबाट प्राप्त तथ्यांकका आधारमा सबै व्यापारिक प्रतिष्ठानका लागि अनुमान गरिएको हो।