काठमाडौं। इन्डियन आयल कर्पोरेसन (आइओसी) ले एक सातादेखि नेपाललाई पर्याप्त एलपी ग्यास दिन आनाकानी गरेको छ। आइओसीले प्राविधिक समस्या देखाएर सातादेखि पर्याप्त ग्यास नदिँदा आधा बुलेट मात्र ग्यास भरेर नेपाल आइरहेको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले जानकारी दिए।
दैनिक ८० देखि ८५ बुलेट ग्यास नेपाललाई दिँदै आएकामा पछिल्लो एक सातामा ४० देखि ४५ वटा मात्र भरेर पठाएको उनको भनाइ छ। भारतले ग्यास पर्याप्त नपठाउँदा तत्कालै बजारमा अभाव नदेखिए पनि यो समस्या तत्काल समाधान नभए केही समयपछि अभाव देखिने उनले बताए।
संघका अनुसार नेपालमा मासिक ४५ हजार मेट्रिक टन ग्यास भारतबाट आइरहेको छ। तर, पछिल्ला केही दिनदेखि मागअनुसारको ग्यास नदिएको व्यवसायी बताउँछन्।
यस विषयमा नेपाल आयल निगम (एनओसी)लाई संघबाट जानकारी गराएर तत्कालै समस्या समाधान गर्न अनुरोध गरिएको अध्यक्ष घिमिरेले बताए। निगमका निमित्त प्रमुख नागेन्द्र साहले भने समस्या समधान भइसकेको जानकारी दिए। ‘एक साताअघि आइओसीमा केही प्राविधिक समस्या देखिएको थियो,’ निमित्त प्रमुख साहले भने, ‘अहिले समस्या समधान भएर मागअनुसारको ग्यास आइरहेको छ।’
निमित्त प्रमुख साहले बिहीबार ७६ वटा र आज ६० वटा बुलेट ग्यास भरेर नेपाल आएको जानकारी दिँदै बजारमा ग्यास अभाव नहुने दाबी गरे। ‘अहिले हामीसँग पर्याप्त ग्यास भएकाले तत्कालै आत्तिइहाल्नुपर्ने स्थिति छैन,’ निमित्त प्रमुख साहले भने, ‘इन्डियन आयल कर्पोरेसनमा देखिएको समस्या पनि समाधान भइसकेको छ।’ ग्यासबाहेक पेट्रोल, डिजेल र मट्टीतेल भने सहज रुपमा आइरहेको व्यवसायीले बताए।