काठमाडौं। राष्ट्रिय गौरवको सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्य आयोजनाले ८ अर्ब २५ करोड रुपैयाँ बढीको स्रोत सुनिश्चितता माग गरेको छ। इलेक्ट्रोमेकानिकल, प्रसारणलाइन र मरिण खोला नियन्त्रणका लागि ८ अर्ब २५ करोड रुपैयाँ बढी स्रोत सुनिश्चितता माग गरिएको आयोजनाका सूचना अधिकारी रवि शाक्यले बताए।
आयोजनाले पुस पहिलो साता सिँचाइ विभागमा स्रोत मागेर फाइल पठाएको थियो। हाल स्रोत सुनिश्चितताको फाइल सिँचाइ विभागबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय हुँदै अर्थ मन्त्रालयबाट राष्ट्रिय योजना आयोगमा पुगेको मरिण डाइभर्सनका आयोजना निर्देशक मित्र बराल बताउँछन्।
योजना आयोगले निर्णय गरेपछि फेरि अर्थ मन्त्रालयमा फाइल पुगेर स्रोत सुनिश्चितताको निर्णय हुनुपर्छ। ‘स्रोत सुनिश्चितताको फाइल राष्ट्रिय योजना आयोगमा पुगेको छ, हामी पनि ठेक्का आह्वानका लागि आवश्यक तयारी गर्दैछौं’ निर्देशक बरालले भने।
कहिले हुन्छ ठेक्का आह्वान
आयोजनाले इलोक्ट्रोमेकानिकल, प्रसारणलाइन र मरिण खोला नियन्त्रणका लागि सवा ९ अर्ब बढीको ठेक्का आह्वानको तयारी गरेको हो। इलेक्ट्रोमेकानिकलका लागि १ अर्ब ९५ करोड, प्रसारण लाइनका लागि २ अर्ब ३० करोड र मरिण खोला नियन्त्रणका लागि ४ अर्ब ३ करोड रुपैयाँको स्रोत सुनिश्चितता आवश्यक पर्छ।
चैत भित्रै ठेक्का आह्वान गर्ने योजना बनाएको छ। ‘चैतसम्म ठेक्का आह्वान गर्नेगरी स्रोत मागेका छौं, योजना आयोगमा छलफल भइरहेको छ’ निर्देशक बरालले भने, ‘अर्थले स्रोत सुनिश्चित गर्दासम्म हामीले ठेक्का आह्वानको आन्तरिक तयारी पनि गरिसक्छौं।’
इलेक्ट्रोमेकानिकलको अन्तर्राष्ट्रिय ठेक्का आह्वान हुने छ भने प्रसारण लाइन र खोला नियन्त्रणका लागि राष्ट्रिय ठेक्का आह्वान हुने अयोजनाले जनाएको छ। आयोजनाले सिन्धुलीको मरिण खोला ४४ किमि नियन्त्रण गर्नुपर्नेछ। यसमध्ये २ किमि खोला नियन्त्रण गर्न २०८० असोजमा ‘जय माँ स्वर्गद्वारी–सिद्धिकाली–कालिका भगवतीको जोइन्ट भेन्चर पार्टनर’ (जेभी) सँग आयोजनाले ठेक्का सम्झौता गरेको छ।
७ करोड १३ लाख ४७ हजार ३ सय १९ रुपैयाँमा २ किमि खोला १ वर्षमा नियन्त्रण गर्नुपर्ने सम्झौता छ। बाँकी ४२ किमि खोला नियन्त्रणका लागि ४ अर्ब ३ करोड रुपैयाँ स्रोत सुनिश्चित हुनुपर्ने सूचना अधिकारी शाक्य बताउँछन्। अबको ४ वर्ष भित्र आयोजनाले ४४ किमि खोला नियन्त्रण गरिसक्नुपर्ने जिम्मेवारी छ।
त्यस्तै इलेक्ट्रोमेकानिकल निर्माणका लागि विशेषज्ञसँग छलफल गरेर स्रोत सुनिश्चितता माग गरिएको उनको भनाइ छ। साथै ४४ किमि लामो प्रसारणलाइन निर्माण हुनेछ। मरिण डाभर्सनबाट ३१ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ।आयोजनाले बाँध र विद्युत्गृह निर्माणका लागि २०७९ पुस १७ गते नेपालको रमण कन्स्ट्रक्सन र भारतको पटेल इन्जिनियरिङको जेभीसँग ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार २०८४ भदौसम्म आयोजनाको बाँध र विद्युतगृह १२ अर्ब रुपैयाँमा निर्माण हुनेछन्। हालसम्म बाँध र विद्युततर्फको भौतिक प्रगति ५.१ प्रतिशत भएको सूचना अधिकारी शाक्यले बताए।
सुनकोसी मरिण डाइभर्सनको शिलान्यास तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २० मा गरेका थिए। हालसम्म आयोजनाको कुल भौतिक प्रगति २६.५४ प्रतिशत भएको छ। त्यस्तै सुरुमा ४६ अर्ब १९ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो।
तर, अहिले लागत बढेर ४९ अर्ब ४२ करोड रुपैयाँ लागत अनुमान पुगेको सूचना अधिकारी शाक्य बताउँछन्। ‘भदौमा आयोजनाको खरिद गुरु योजना अद्यावधि गर्दा लागत अनुमान र म्याद बढेको हो’ उनले भने। हालसम्म आयोजनाको वित्तीय प्रगति २५.१ प्रतिशत रहेको पनि शाक्यले जानकारी दिएका छन्।
आर्थिक वर्ष २०८२÷०८३ मा सम्पन्न हुनेगरी सुरु भएको आयोजना म्याद खरिद गुरु योजना अद्यावधि गर्दा थप गरेर २०८४ सम्म पुर्याइएको छ। आयोजना शिलान्यास गर्दा तय गरेको म्यादमा निर्माणको ठेक्का सम्भौता गरेर काम गर्न नसकिने भएपछि खरिद गुरु योजना अद्यावधि गर्दा म्याद थप भएको आयोजनाले जनाएको छ।
त्यस्तै आयोजनालाई आवश्यक पर्ने अधिकांश जग्गा अधिग्रहण भइसकेको पनि बताइएको छ। कुल ४५.४६ हेक्टर जग्गा आवश्यक पर्नेमा हालसम्म ४४.७६ हेक्टर जग्गा अधिग्रहण भइसकेको आयोजनाका सूचना अधिकारी शाक्य बताउँछन्।
डेढ महिनादेखि सुरुङभित्रै थुनियो मेसिन
मरिण डाइभर्सनले सुनकोसीको पानी १३.३ किमि लामो सुरुङमार्फत् सिन्धुलीको मरिण खोलामा पुर्याउने योजनाका छ। सुरुङ खन्न आयोजना कार्यालयले चाइना ओभरसिज कम्पनी ‘कोभेक’ सँग १० अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको छ। कोभेकले २०७९ असोज २८ गतेबाट अमेरिकी प्रविधिको ‘टनेल बोरिङ मेसिन’ (टिबिएम) ले सुरुङ खन्दैछ।
सुरुङ खन्न सुरु भएको १६ महिनामा ४ पटक अवरोध भइसकेको छ। आयोजनाका अनुसार २०७९ पुसमा कडा चट्टान भेटिएर ९ दिन र २०७९ कै चैतमा लेदोमाटोका कारण २३ दिन सुरुङ खन्ने काम प्रभावित भएको थियो। त्यस्तै २०८० असोज २८ मा पनि कडा चट्टान भेटिएपछि ९ दिनपछि अर्थात कात्तिक ६ बाट मात्रै फेरि काम सुरुङ खन्न सुरु भएको थियो।
फुस्रो र लेदोसहितको माटो भेटिएर पुस १० बाट चौथो पटक सुरुङ खन्ने काममा अवरोध भएको छ। साथै सुरुङ भित्रै टिबिएम मेसिन पनि थुनिएको आयोजनाले जनाएको छ। डेढ महिनासम्म विभिन्न प्रयास गर्दा पनि अझै मेसिन बाहिर निकाल्न नसकिएको शाक्यले बताए।
‘हामीले प्रयास गरी रहेका छौं, मेसिन निकाल्न सकिएको छैन’ सूचना अधिकारी शाक्य भन्छन्, ‘अहिले केमिकल हालेकाले धुलो माटो र पानी आउन कम भएको छ, फागुन पहिलो सातासम्म मेसिन निकाल्न सकिन्छ होला।’ २०८१ असारसम्म म्याद रहेको सुरुङको हालासम्म ७९.२८ प्रतिशत प्रगति भएको अर्थात् १३.३ किमिमा १०.५४४ किमि खनिएको छ।
सुनकोसी र तामाकोसीको पानीलाई १३.३ किमि लामो सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी सिन्धुली कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसाल्ने योजना छ। त्यस्तै सोही आयोजनामा सिँचाइसँगै ६६ मिटर उचाइबाट पानी खसालेर ३१ मेगावाट विद्युत उत्पादन गर्ने योजना छ।
सिन्धुली र रामेछापमा निर्माण हुने उक्त आयोजनाले बागमती र मधेस प्रदेशलाई जोड्ने छ। डाइभर्सनले तराईको ७७ हजार हेक्टर जमिनमा थप सिँचाइ पुग्ने छ। यसअघि नै बागमती सिँचाइ आयोजनाले तराईको ४५ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याइसकेको छ।
बागमती सिँचाइ आयोजना र सुनकोसी–मरिण डाइभर्सन आयोजनाबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुग्ने छ।