काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनको सवालमा प्रदेश सरकारका मुख्यमन्त्रीबाट व्यक्त भावना सम्बोधन गर्न संघीय सरकारका मन्त्रीहरूलाई निर्देशन दिएका छन्।
आज सिंहदरबारमा मन्त्रिपरिषद् सदस्यसँगै सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बसेका बेला प्रधानमन्त्रीले संघीयता बलियो बनाउनकै लागि मुख्यमन्त्रीको चिन्ता र चासो सम्बोधन गर्नुपर्ने बताएका हुन्।
छलफलमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयता कार्यान्वयनका सन्दर्भमा प्रधानमन्त्री दाहालको अग्रसरतालाई गम्भीर रूपमा लिँदै संघीय मन्त्री र सांसद पनि उत्तिकै जिम्मेवार हुनुपर्ने बताए।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले छिमेकी भारतसँग जोडिएका छोटी भन्सार कार्यालय सञ्चालनका लागि अर्थ मन्त्रालयसँग आग्रह गरे।
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले संघीयता कार्यान्वयनमा देखिएका ढिलासुस्तीका सम्बन्धमा समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघीयता कार्यान्वयनमा प्रधानमन्त्री दाहालले लिएको पहलको सराहना गर्दै सोही स्तरमा संघीय सरकारका मन्त्रीहरूले पनि अग्रसरता दिनुपर्ने बताए।
बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संघीय मन्त्रालयले अधिकार छिटो हस्तान्तरण गर्नुपर्नेमा जोड दिए। उनले सङ्घीयता कार्यान्वयनमा कर्मचारी प्रशासनले एकात्मक मानसिकता त्याग्नुपर्ने बताए।
लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीयता कार्यान्वयनमा प्रधानमन्त्री दाहालले देखाएको सक्रियतालाई संघीय मन्त्रीहरूले पनि अनुशरण गर्नुपर्नेमा जोड दिए।
कोसीका मुख्यमन्त्री केदार कार्कीले संघीयता कार्यान्वयनमा प्रधानमन्त्री दाहालको भावना मन्त्रीहरूले पनि बुझ्नुपर्ने बताए।