पर्सा। जथाभावी फोहर फ्याँक्नेहमाथि कारबाही सुरु गरेको वीरगञ्ज महानगरपालिकाले गएको ६ महिनामा साढे २४ लाख रुपैयाँ जरिमाना उठाएको छ।
वीरगञ्ज महानगरले २०७९ पुस १७ देखि जरिमना गर्न सुरु गरेको र हालसम्म जथाभावी फोहर फ्याँक्ने व्यक्ति र संस्था गरी ९ सयबाट २४ लाख ६३ हजार जरिमानाबापतको राजस्व संकलन गरेको सरसफाइ शाखा प्रमुख सरफुदिन मियाँले जानकारी दिए।
‘घर, पसल र कार्यालयबाट निस्किने फोहर जताततै फ्याँक्ने स्थानीयको प्रवृत्ति छ’, सरसफाइ शाखा प्रमुख मियाँले भने, ‘त्यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले फोहर फ्याँक्नेलाई जरिमाना तिराउने अभियान सुरु गरेका छौं।’ यो अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने योजना बनाएकोसमेत उनको भनाइ छ।
सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरका ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ। सफा, सुन्दर वीरगञ्जको योजनाअनुसार अहिले बिहान, दिउँसो र राती गरी तीन चरणमा नाला र सडक सरसफाइ गरिरहेको पनि उनले बताए।
विगतमा अस्तव्यस्त र दुर्गन्धित नगरका रुपमा परिचित महानगरलाई मुलुककै नमुना महानगर बनाउने लक्ष्यका साथ योजना अघि बढाएपछि यतिबेला वीरगञ्ज महानगर क्षेत्र सफा र सुन्दर देखिन थालेको छ। बजेट अभावका कारण देखाउँदै सरसफाइका कर्मचारी हटाएपछि भने फेरि पुरानै अवस्थामा त फर्किने होइन भन्ने चिन्ता बढेको सरसफाइ प्रमुख मियाँको कथन छ।
स्थायी प्रकृतिका सरसफाइ कर्मचारीले अवकाश पाएका र ज्यालादारीका रुपमा राखिएकालाई बजेट अभावका कारण हटाउनुपरेको उनको भनाइ छ।–रासस