काठमाडौं। सवारीसाधन आयातकर्ताले छुट्टै संगठन बनाउने भएका छन्। नवनिर्वाचित नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको कार्यसमितिबाट रुष्ट बनेका व्यवसायीले आयातकर्ताको मात्र संगठन बनाउन लागेका हुन्।
नाडाका निवर्तमान अध्यक्ष ध्रुव थापा, वर्तमान अध्यक्ष करण चौधरीले व्यावसायिक हकहितका लागि काम नगरेको आरोप लगाएर केही आयातकर्ताले नयाँ संस्था बनाउने अन्तिम तयारी गरेका हुन्।
यसका लागि आयातकर्ताले भेइकल इम्पोटर्स नामक ह्वाट्सएप ग्रुप बनाएर छलफलसमेत गरिरहेका छन्। त्यो ग्रुपमा आयातकर्ता मात्रै छन्। नाडामा स्पेयर पार्टस्, टायर, लुब्रिकेन्ट, रिकन्डिसनलगायत जोडिँदा आयातकर्ताको माग सम्बोधन नभएको असन्तुष्टको आरोप छ।
त्यस्तै, नाडामा नेतृत्व तहमा जान व्यवसायी–व्यवसायीबीचमै आरोपप्रत्यारोप हुने गरेको, चरम राजनीतिक हुने गरेको र नीतिगत रुपमा पैरवी नहुने भएकाले नयाँ संस्था आवश्यक परेको एक व्यवसायीले बताए। नयाँ संस्थामा नेपालमा भएका आयातकर्तामध्ये ८० प्रतिशत बढीको सहभागिता रहने जनाइएको छ।
यो संगठनले गाडी आयातकर्ताको मागलाई लबिइङ गर्ने हुँदा माग छिटो सम्बोधन हुने व्यवसायीको विश्वास छ। पछिल्लो समय नाडामा हुने चुनाव खर्च पनि अत्यधिक बढेपछि त्यसबारे सोधीखोजी गर्ने आयातकर्ता व्यवसायी पनि समानान्तर संस्था बनाउन तम्सिएका हुन्।
नयाँ संगठनका लागि विद्युतीय सवारीसाधन आयातकर्ता पनि आतुर देखिन्छन्। विशेषगरी विद्युतीय सवारीसाधनको अस्थिर कर नीतिबारे नाडाले सरकारलाई स्पष्ट रुपमा प्रश्न गर्न नसकेको उनीहरुको आरोप छ।
नयाँ संगठन बनाउने कुरा धेरै अघि बढिसकेको र दुई साताभित्रै संस्था दर्ता गरिने स्रोतले जनाएको छ। नयाँ संगठनका लागि विद्युतीय सवारीसाधन आयातकर्ता पनि आतुर देखिन्छन्। विशेषगरी विद्युतीय सवारीसाधनको अस्थिर कर नीतिबारे नाडाले सरकारलाई स्पष्ट रुपमा प्रश्न गर्न नसकेको उनीहरुको आरोप छ।
यसअघि विद्युतीय गाडी आयात गर्नेको छुट्टै संस्थाको अभ्याससमेत भइसकेको थियो। उक्त संस्थामा एमजी गाडी आयात गर्ने व्यवसायी शिरीष मुरारका अध्यक्ष थिए । यद्यपि संस्थालाई हालसम्म सार्वजनिक गरिएको छैन।
नाडा पदाधिकारीले औपचारिकता पूरा गर्न मात्र विद्युतीय सवारीसाधनबारे सरकार र विभिन्न मञ्चमा बोल्ने गरेको भन्दै उनीहरु रुष्ट बनेका हुन्। नाडामा आयातकर्ताको लबिइङ नचलेको भन्ने उनीहरुको तर्क भने त्यति बलियो देखिँदैन।
नाडा अध्यक्ष चौधरी, वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्षद्वय निराकार श्रेष्ठ, राजनबाबु श्रेष्ठ, कार्यसमिति सदस्य यमुना श्रेष्ठ, सोहन श्रेष्ठ, सौरभ थापा, मेघराज पौडेल सबै आयातकर्ता नै हुन्। अध्यक्षदेखि कार्यसमिति सदस्यसम्म आयातकर्ता हालीमुहाली भएको संस्थामा उनीहरुकै लबिइङ नचल्ने भन्ने आरोप सही देखिँदैन।
नयाँ संगठन बने पनि नाडा नफुट्ने केही व्यवसायीको तर्क छ। नाडाभित्र गाडी आयातकर्ता, टायर, स्पेयर, लुब्रिकेन्ट समेटिएको हुनाले आयातकर्ताको छुट्टै संगठन बन्दा फरक नपर्ने उनीहरुको विश्वास छ।