काठमाडौं। जीवन बिमा कम्पनी नेपाल लाइफले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफामा १२.९० प्रतिशतको वृद्धि भएकोे छ। चालू आर्थिक वर्षको पहिलो ६ महिनासम्म कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३७ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो। कम्पनीको दोस्रो त्रैमासिक अवधिसम्म कुल बिमाशुल्क आर्जन २,०००.०६ करोड रहेको छ, जुन गत वर्षको सोही अवधिमा प्राप्त कुल बिमाशुल्क १,८६२.७२ करोडको तुलनामा ७.३७ प्रतिशतले वृद्धि भएको हो।
कम्पनीले समीक्षा अवधिमा ३ अर्ब १६ कराड प्रथम बिमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.६९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ६४ करोड रुपैयाँ प्रथम बिमाशुल्क आर्जन गरेका थियो। नवीकरण बिमाशुल्क १६ अर्ब ८३ करोड रहेको छ।
कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्म ६८२.०५ करोड खुद दाबी भुक्तानी गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म करिब १५० अर्व ८६ करोड रुपैयाँ रहेको जीवन बिमा कोष २१.७४ प्रतिशतले वृद्धि भई करिब १८३ अर्व ६५ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।
कम्पनीको महाविपत्ति कोषमा १ अर्व ४ करोड रुपैयाँ सञ्चित छ। त्यसैगरी कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब ३ करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटी १७ करोड रुपैयाँ रहेको छ।
८ अर्व २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको समीक्षा अवधिमा प्रतिसेयर आम्दानी १०.४२ रुपैयाँ रहेको छ। यस्तै, कम्पनीको प्रति शेयर नेटवर्थ १२८.०१ रुपैयाँ, मूल्य अनुपात आम्दानी ६२.८६ गुणा, प्रतिसेयर कुल सम्पत्ति मूल्य २,४०१ रुपैयाँ र औसत प्रतिफल दर १०.०२ प्रतिशत छ।