काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीलाई सरकारले लिएको राजस्व लक्ष्य भेटाउने गरी काम गर्न निर्देशन दिएका छन्। बुधबार भैरहवा भन्सार कार्यालय निरीक्षण गर्दै मन्त्री महतले त्यसका लागि कर्मचारी कर्तव्यनिष्ठ र सदाचार हुनुपर्ने बताए।
‘राजस्वको लक्ष्य भेटाउन कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्नुस्। यो जिम्मेवारी जोकोहीले पाएको छैन। धेरै मान्छे हाम्रो राज्य संयन्त्रका अंग हुन पाएका छैनन्। मेरो पनि त्यत्तिकै योग्यता थियो। हामीले पनि केही जिम्मेवारी पाए हुन्थ्यो भन्ने थुप्रै नागरिक छन्। प्राप्त जिम्मेवारीसँगै राज्यले दिएको तलबभत्ताबाट तपाईंहरु सन्तुष्ट हुनुपर्छ। मलाई यसले पुगेन, योभन्दा मलाई ठूलो चाहिन्छ कसैले भन्छ भने उसले त्यो ठाउँ छाड्नुपर्छ। जिम्मेवारीबाट पन्छिने छुट कसैलाई छैन।’
भैरहवा भन्सारलाई सशक्त नेतृत्व दिन, अन्य निकायसँग राम्रो समन्वय गर्ने, सुरक्षा निकायसँग निरन्तर समन्वय राखेर चोरी निकासी रोक्ने, छिटो भन्सारलाई सिस्टममा राख्न र जिम्मेवारीलाई उच्च सर्तकताका साथ निरन्तर खबरदारी गर्ने कर्मचारीलाई उनले निर्देशन दिए।
‘कार्यरत कर्मचारी एक वर्ष नभई सरुवा गर्न नमिल्ने भन्ने अहिले छैन। क्षमतामा प्रश्न उठ्यो भने जुनसुकै बेला पनि सरुवा हुन सक्छ,’ मन्त्री डा. महतले भने, ‘यद्यपि कर्मचारीलाई मैले अविश्वास गर्न खोजेको होइन।’
अहिले सहज भएको अवस्थाभन्दा कोभिडमा असहज भएका बेलामा भन्सार बढी उठेको विषयलाई उनले सुनाए। ‘गाडी आयात कम भयो भन्ने कुरा आएको छ तर त्यो मात्र कारण हुन सक्दैन । त्यो कुरामा कर्मचारीले गम्भीर भएर ध्यान दिनुहोला। चोरी पैठारी रोक्न भन्सार नाकामा खटिने सबै तहबीच एकअर्काको राम्रो समन्वय हुनुपर्छ,’ उनले भने।
जफत सामान लिलामीका लागि पनि समयसीमा पहिले घोषणा गर्न, भन्सार र आन्तरिक राजस्वबीच समन्वय हुन जरुरी रहेको उनले औंल्याए। महतले भने, ‘जाँचपासका लागि प्राविधिक रुपमा के–के चाहिन्छ, के कुराले समस्या भएको छ, त्यसको रिपोर्ट गर्नुहोला। समस्याको सम्बोधन तुरुन्त हुन्छ।’