काठमाडौं। २०८१ वैशाखमा ‘हिमालयन हाइड्रो एक्स्पो’ को चौधौं संस्करण सञ्चालन हुने भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिको संयुक्त आयोजनामा ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ सञ्चालन हुन लागेको हो। यसअघि सन् २०१७, २०१८ र २०२२ मा ‘हिमालयन हाइड्रो एक्स्पो सञ्चालन भएको थियो।
बुधबार इप्पानले काठमाडौंमा पत्रकार सम्मेलन गरी वैशाख १२, १३ र १४ मा ‘समृद्धिका लागि ऊर्जा’ नारासहित एक्स्पो सञ्चालन हुन लागेको जानकारी दिएको हो। एक्स्पोमा २०० बढी स्टल रहने र त्यसमध्ये ५० प्रतिशत स्टल विदेशी कम्पनीका हुने इप्पानले जनाएको छ।
नेपाल–भारतबीच १० वर्षमा १० हजार मेगावाट विद्युत दीर्घकालीन रुपमा निर्यात गर्ने सम्झौता भएको तथा सन् २०३५ भित्र १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने उद्देश्यसहितको २८ हजार ५ सय मेगावाट उत्पादन गर्ने सरकारको लक्ष्यमा हिमालयन हाइड्रो एक्स्पोले महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ।
देशको आर्थिक समृद्धि र उज्यालो नेपालसँग ऊर्जा जोडिएकाले यसलाई मूर्त रुप दिने गरी निजी क्षेत्रबाट एक्स्पो आयोजना गर्न लागिएको हो। नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत वृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो ज्ञान र सूचना आदानप्रदानमा एक्स्पो उचित गन्तव्य हुने इप्पानको अपेक्षा छ।
एक्स्पोमा ऊर्जा विकाससँग सरोकारवाला सरकारी तथा गैरसरकारी निकाय, विश्वविद्यालय र कलेज, स्वदेशी तथा विदेशी लगानीकर्ता कम्पनी, दातृ निकाय, कूटनीतिज्ञ नियोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसाय कम्पनी, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनीलगायतलाई सहभागी गराएर ऊर्जा समृद्धिका विभिन्न आयामबारे नीतिगत बहस अनि नयाँ प्रविधि र उपकरण प्रदर्शनी गरिने इप्पानले जनाएको छ।
त्यस्तै, दिगो, समावेशी, हरित, पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पुँजी संकलन र व्यवस्थापन, जनताको सहभागिता, आन्तरिक खपत र विद्युत व्यापार, समृद्धि र सामाजिक विकास, नीति र राजनीतिको प्राथमिकतालगायत विषयमा ७ वटा प्राविधिक सत्र तथा छलफल चलाइनेछ।
एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिललगायत मुलुकका कम्पनी तथा सरोकारवाला सहभागी हुनेछन्। एक्स्पो ५० हजार बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ।
एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रोपावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनस, कन्सल्ट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक तथा वित्तीय संस्था, सिमेन्ट, डन्डीलगायतका २०० भन्दा बढी स्टल रहनेछन्। एक्स्पोमा सहभागिताका लागि माघ २४ बाटै स्टल बुकिङ खुला गरिने इप्पानले जनाएको छ।