काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र गतिशील बन्दै गएको दाबी गरेका छन्।
आज इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) को प्रथम वार्षिकोत्सवअवसरमा आयोजित ‘अर्थतन्त्र पुनरुत्थानमा सरोकारवालाको भूमिका’ विषयक छलफलमा उनले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा अगाडि बढ्दै गएको बताएका हुन्।
‘विगतका दिनमा धेरै रकम अनुत्पादक क्षेत्रमा खर्च भयो। उक्त खर्चको दायित्व तिर्दा अर्थतन्त्र केही दबाबमा परेको थियो। पुँजीगत खर्च अब बढ्छ, त्यो विस्तारै समाधान हुँदै छ। अर्थतन्त्र लयमा फर्कंदै छ’, उनले भने।
अर्थमन्त्री महतले बैंक तथा वित्तीय क्षेत्रबाट लिएको ऋण तिनुपर्ने बताए। ‘बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण कुनै हालतमा पनि तिनुपर्छ’, उनले भने। सबै क्षेत्रको सामूहिक प्रयासबाट मात्र अर्थतन्त्रले गति लिने उनको भनाइ छ।
अर्थतन्त्रले पछिल्लो समय राम्रो गति लिएको तथ्यांकले देखाएको उनले दाबी गरे। ‘हामीसँग पुँजी छ तर खर्च गर्न समस्या भएको छ। आगामी दिनमा खर्च पनि बढ्छ’, उनले भने।
राष्ट्र बैंककका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले पछिल्लो समय नेपालको अर्थतन्त्र गतिशील बन्दै गएको बताए। आयात विस्तारै घट्दै जानुका साथै विप्रेषणसमेत बढ्दै गएको उनले जिकिर गरे।
कर्जालाई उत्पादन क्षेत्रमा प्रवाह गर्नुपर्नेमा उनले जोड दिए। अर्थतन्त्रलाई सकारात्मक सन्देश दिने खाले समाचार सम्प्रेषणमा लाग्न सञ्चार माध्यमसँग उनको आग्रह छ।
उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रका सूचकांक पछिल्लो समय सकारात्मक गतिमा जाँदा पनि उक्त सकारात्मक कुरा जनतामा जान नसकेको बताए। अध्यक्ष ढकालले मुलुकमा लगानी वातावरण निर्माण गर्न जरुरी रहेको उल्लेख गरे।
नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेशकुमार अग्रवालले अर्थतन्त्रलाई अगाडि बढाउन निजी क्षेत्रको मनोबल बढाउन जरुरी रहेको बताए। राष्ट्रिय सहकारी महासंघ अध्यक्ष ओमदेवी मल्लले व्यक्तिगत पाराले सहकारी चलाउँदा सहकारी क्षेत्रमा समस्या उत्पन्न भएको उल्लेख गरिन्।
नेपाल बैंकर्स संघ अध्यक्ष सुनील केसी, नेपाल उद्योग परिसंघ उद्योग समिति संयोजक लक्ष्मीप्रसाद सुवेदीलगायतले मुलुकको अर्थतन्त्रको विकासको क्षेत्रमा इमानले खेलेको भूमिका सराहनीय रहेको बताए।
इमानका अध्यक्ष रोयल आचार्यले मुलुकको अर्थतन्त्रलाई सबल बनाउन संस्थाले पहल गर्दै आएको जनाए। बैंक तथा वित्तीय संस्थाको आवाज इमानले बोल्दै आएको उनको भनाइ छ।