काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा लगानी वातावरण निर्माण गर्न निजी क्षेत्रको तर्फबाट दिएका सुझावअनुसार कानुन संशोधन गर्न आवश्यक रहेको बताएका छन्।
बुधबार इकोनोमिक मिडिया एसोसिएसन नेपालको प्रथम वार्षिकोत्सव अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ढकालले लगानी सम्मेलन अगाडि अध्यादेश वा नियमित प्रक्रियाबाट जसरी हुन्छ, कानुन संशोधन गरेर सरकारले लगानी वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका हुन्।
‘लगानी सम्मेलनका लागि निजी क्षेत्रबाट हामीले १२ वटा कानुन संशोधन गरी लगानी वातावरण बनाउन सरकारलाई सुझाएका छौं। लगानी सम्मेलन अगाडि नै यी कानुन संशोधन गर्न सकियो भने यसले लगानी ल्याउन सहयोग गर्नेछ’, अध्यक्ष ढकालले भने।
उनले अर्थतन्त्रका धेरै सूचक सकारात्मक रहँदारहँदै पनि उपभोक्ता र लगानीकर्ता दुवैको मनोबल बढ्न नसकिरहेको अहिलेको अवस्थामा सरकारबाट सकारात्मक सन्देश मात्र दिन सकिए केही भरोसा थपिने बताए।
बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्नुपर्दैन भनेर केही व्यक्तिले दिएको अभिव्यक्तिले जनतामा अन्योल सिर्जना गरेको अध्यक्ष ढकालको भनाइ छ।
‘निजी क्षेत्रको मनोबल गिरेको अवस्था छ। निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण राम्रो हुन सकेको छैन। अहिलेको अवस्थामा लगानी बढ्न सम्भव छैन। यसका लागि लगानी वातावरण बनाउन जरुरी छ। नकारात्मक कुरा निस्तेज गर्दै सरकारले लगानी वातावरण निर्माणमा विशेष ध्यान दिन आवश्यक छ’, उनले भने। महासंघ अध्यक्ष ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीको आइपिओ निष्कासन गर्न अनुमति दिन सरकारलाई आग्रह गरे।
‘आइपिओमा जाने प्रक्रियामा रहेका कम्पनीको आइपिओ रोकिएको छ। यो प्रक्रियामा रहेका कम्पनीको आइपिओ जारी गर्न खुला गर्नुपर्छ। अहिले करिब २५÷३० वटा कम्पनी आइपिओमा लैजान प्रक्रियाको अन्तिम चरणमा पुगेर रोकिएको अवस्था छ। यसलाई तत्काल अगाडि बढाउन आग्रह गर्दछु’, उनले भने।