काठमाडौं। सरकारी स्वामित्वको राष्ट्रिय बिमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि दरखास्त आह्वान गरेको छ।कम्पनीले योग्यता पुगेका इच्छुक व्यक्तिले सिइओका लागि २१ दिनभित्र सिलबन्दी आवेदन दिन सूचना प्रकाशित गरेको हो।
बिमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा सोसरह उपाधि हासिल गरेको हुनुपर्ने योग्यता तोकिएको छ।
यस्तै, व्यवस्थापक तहमा बिमा क्षेत्रमा भए कम्तीमा पाँच वर्ष वा आर्थिक, बैंक वित्तीय क्षेत्रमा भए आठ वर्ष एवं दुवै क्षेत्रमा भए एक वर्षको अनुभवसहित कम्तीमा सात वर्षको अनुभव भएको हुनुपर्ने सर्त राखिएको छ।
चार्टर्ड एकाउन्टेन्सी वा सोही विषयमा स्नातक उपाधि हासिल गरी व्यवस्थापक तहमा बिमा क्षेत्रमा भए कम्तीमा १० वर्ष, बैंक, वित्तीय क्षेत्रमा भए १५ वर्ष तथा दुवै क्षेत्रमा भए बिमामा एक वर्षको अनुभवसहित कम्तीमा १२ वर्षको अनुभवन भएको हुनुपर्ने सूचनामा उल्लेख छ।