काठमाडौं। मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले भारत भ्रमणमा जाने ग्राहकलाई लक्षित गरी रोमिङ प्याक सञ्चालनमा ल्याएको छ। कम्पनीले शुक्रबारबाट सञ्चालनमा ल्याएको रोमिङ प्याकमा ग्राहकले करसहित १ सय रुपैयाँमै सेवा सुचारु गर्न सक्नेछन्।
यो प्याक लिनेबित्तिकै रोमिङ सेवा स्वतः सुचारु हुनेछ भने ग्राहकले तत्कालै ५०० एमबी डेटा पाउनेछन्। इन्कमिङ कल उठाउन र भारतमा फोन गर्न पेएजयूगो शुल्कमा ३२ प्रतिशत छुट पाउँछन्।
ग्राहकले करसहित १६.४८ प्रतिमिनेटमा कल उठाउन र भारतमा कल गर्न सक्ने एनसेलले बताएको छ। पेएजयूगोको प्रतिएसएमएस शुल्कमा २९ प्रतिशत छुटकाससहति ६.३४ रुपैयाँमा एसएमएस पठाउन सकिनेछन्।
एकपटक सुचारु गरेपछि प्याक ३ दिनका लागि मान्य हुने र ग्राहकले आफ्नो आवश्यकता वा भारत बसाइको आधारमा जति पटक पनि यो प्याक लिन सक्नेन्।
यस्तै, सोही प्याकेजअन्तर्गत ग्राहकले तत्काल ५०० एमबी डेटा,भ्वाइस र एसएमएस सेवाशुल्कमा छुट पाउने कम्पनीले जनाएको छ। यो प्याकमार्फत ग्राहकले सबैभन्दा सुलभ शुल्कमा भारतमा रहँदा सम्पर्क गर्न सक्ने कम्पनीको भनाइ छ।
यो प्याकले नेपालका सीमावर्ती वीरगन्ज, भैरवा, नेपालगन्ज, विराटनगर, जनकपुरलगायत सहरबाट भारत भ्रमण गर्ने साना व्यवसायी, यातायात मजदुर आदि ग्राहकको रोमिङ सेवा मागलाई सम्बोधन गर्ने अपेक्षा कम्पनीको छ।
सबै भारतीय सेवाप्रदायकसँग काम गर्ने भएकाले यो प्याकले विशेषगरी ग्राहकलाई विभिन्न उद्देश्यका लागि भारत भ्रमण गर्दा सस्तो दरमा सजिलैसँग सम्पर्कमा रहन सहयोग पुग्ने विश्वास एनसेलले लिएको छ।