काठमाडौं। सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेवानि)ले २ वटा न्यारोबडी जहाज भाडामा लिन अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। निगमले मुलुकको पर्यटन प्रवर्द्धनमा सशक्त उपस्थिति देखाई विदेशी पर्यटकलाई समेत सेवा दिने उद्देश्यले २ वटा न्यारोबडी जहाज भाडामा लिने निर्णयअनुसार बोलपत्र आह्वान गरिएको जनाएको छ ।
‘निगमको कार्ययोजनाअनुरुप हाल निगमसँग रहेका २ वटा वाइडबडी जहाज जापान, सिड्नी र दक्षिण कोरिया उडानमा प्रयोग भएका छन्। अन्य गन्तव्यको उडान चाप मौजुदा जहाजले धान्न नसक्ने भएकाले थप जहाज भाडामा लिन लागिएको हो। यसबाट दिल्ली, दुबई, दोहा, मलेसियालगायतका गन्तव्यको उडान चाप व्यवस्थापन गर्न सकिन्छ’, निगमले विज्ञप्तिमा भनेको छ।
जहाज थप भएसँगै निगमको आय बढ्ने र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत अन्य गन्तव्यमा उडान भर्ने योजना छ।
सरकारबाट विभिन्न समय गठित निगम सुधार आयोग, समितिले समेत निगमको सम्भावित व्यापारलाई विस्तार गर्न अहिले भएका जहाजले नपुग्ने र तत्काल जहाज थप्नुपर्ने सुझाव दिएकाले जहाज भाडामा लिन लागिएको निगमले प्रस्ट्याएको छ।
‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको विशेष निर्देशन र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको विशेष पहलमा निगमको १० वर्षे व्यावसायिक योजनाअनुरुप बजार विस्तारका लागि जहाज थप गर्न लागिएको हो। ती जहाज आगामी जुलाईसम्म निगमको उडानमा आइसक्ने अपेक्षा गरिएको छ’, विज्ञप्तिमा भनिएको छ।