काठमाडौं। मदिरा ब्रान्ड खुकुरीले पोखराको फेवा किनारमा पाँचदिने ‘खुकुरी फ्रेन्ड्स अफ फेस्टिभल’ आयोजना गर्ने भएको छ।सौन्दर्य र पानीरङको राजधानी पोखरालाई शब्दको सहर बनाउने उद्देश्यले सुरु भएको नेपाल लिटरेचर फेस्टिभलमा विगत तीन संस्करणदेखि नेपाल डिस्टिलरीको साथ रहँदै आएको छ।
‘जहाँ शब्दहरु जीवन्त हुन्छन्’ मूल नारासहित सुरु भएको नेपाल लिटरेचर फेस्टिभलले प्रत्येक संस्करणमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय लेखक, कलाकार, अभियन्ता, पत्रकार, बुद्धिजीवी, अर्थशास्त्री, सेलिब्रिटी र राजनीतिक व्यक्तित्वलाई सन् २०१६ देखि पोखरामा भेला गराई समसामयिक विषयवस्तुमा अन्तरक्रिया र अन्तरसंवाद गर्दै आएको छ।
प्रत्येक दिनको अन्तिम सत्रमा विभिन्न कलाकारका साथ सांगीतिक प्रस्तुति पस्किँदै आएको छ। कलाको सबभन्दा सशक्त माध्यमका रुपमा संगीतले मानिसलाई आकर्षित गर्दछ र जटिल भावनालाई अरुसम्म अभिव्यक्त गरी तरंगित बनाउने सामर्थ्य राख्छ।
जुनसुकै उमेर, जाति, राष्ट्रियता वा स्वभावका श्रोतालाई भावनात्मक रुपमा उत्प्रेरित गर्ने शक्ति संगीतमा हुन्छ। यिनै विषयलाई अनुभूत गर्दै यस वर्षदेखि संस्थागत रुपमै फ्रेन्ड्स अफ फेस्टिभल समुदायको सुरुआत गरिन लागेको कम्पनीले जनाएको छ।
फेवा किनारमा पाँच दिनसम्म आयोजना हुने यस वर्षको खुकरी फ्रेन्ड्स अफ फेस्टिभलमा सांगीतिक सत्रका रुपमा पहिलो दिन कुमार नगरकोटीको काव्यिक प्रस्तुति, दोस्रो दिन कुटुम्ब ब्यान्ड, तेस्रो दिन, प्राडा धु्रवेशचन्द्र रेग्मी अनि उनको समूह र द ब्लु फ्रेट ब्यान्ड तथा अन्तिम दिन विपुल क्षेत्री एन्ड द ट्राभलिङ ब्यान्डका प्रस्तुति रहनेछन्।
साहित्यिक र सांगीतिक अन्वेषणको यो नौलो यात्राको सुरुआतमा सहयोग अपेक्षा गरिएको नेपाल लिटरेचल फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले बताए। खुकरी फ्रेन्ड्स अफ फेस्टिभलले आउँदा दिनमा साहित्य, काव्य र संगीतलाई अन्तरघुलन गर्दै यसमा विश्वास गर्ने विशेष समुदाय निर्माणको लक्ष्य राखेको उनको भनाइ छ।
कार्यक्रमलाई इभेन्ट एमएक्सले व्यवस्थापन गर्नेछ। कार्यक्रममा सहभागी हुन चाहनेलाई अनलाइनमार्फत र पोखरा अनि काठमाडौंका पोखरा पिज्जा हाउस आउटलेटमा फेस्टिभलका टिकट उपलब्ध रहेको कम्पनीले बताएको छ।