काठमाडौं। नेपाल चेम्बर अफ कमर्स र निर्यात परिषद्बीच व्यापार घाटा न्यूनीकरण एवं निर्यात वृद्धिका लागि सहकार्य समझदारी भएको छ।
परिषद्का नवनिर्वाचित पदाधिकारी एवं कार्यसमितिलाई जमलस्थित चेम्बर भवनमा स्वागत गर्ने क्रममा निर्यात सहजीकरणका लागि नीतिगत सुधार एवं सम्भावनाका विभिन्न विषयमा सहकार्य गर्ने सझदारी बनेको हो।
दुई संस्थाबीच नीति निर्माणदेखि भन्सार सहजीकरण गर्ने विषयमा सहकार्य हुनेछ। निर्यातयोग्य वस्तु पहिचान र प्रवर्द्धन हुन नसक्दा अपेक्षित लाभ लिन नसकिएको चेम्बर अध्यक्ष राजेन्द्र मल्लले बताए।
उनले भने, ‘मुलुकमा १० खर्बभन्दा बढीको निर्यात सम्भावना छ। तर, डेढ खर्ब रुपैयाँ बराबरको पनि निर्यात हुन सकेको छैन।’ निर्यात प्रवर्द्धनमा देखिएको नीतिगत कठिनाइ अन्त्य गर्न चेम्बरले पहल गर्ने अध्यक्ष मल्लको भनाइ छ।
व्यापार घाटा न्यूनीकरणका लागि नीतिगत सुधारसँगै भन्सार प्रशासनलाई चुस्त र प्रभावकारी बनाउनुपर्ने सुझाव उनले दिए।भन्सारमा उच्चस्तरीय क्वारेन्टाइन ल्याब स्थापना एवं निर्यातमा दिइने सहुलियतको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए।
वस्तु निर्यात गर्दा अनलाइनबाट सीधै भुक्तानी गर्न सकिने व्यवस्था गरिए निर्यात दोब्बरले वृद्धि गर्न सकिने उनको भनाइ छ। मुलुकभरबाट उत्पादन भएका कृषिजन्य, हस्तकला, जडीबुटी, चिया, कफीलगायतका वस्तुलाई एकै ठाउँ जम्मा गरी एकीकृत निर्यात केन्द्र वा निर्यात प्रवर्द्र्धन गृहमार्फत निकासी गर्न सकिए साना व्यवसायीलाई लाभ तथा उत्पादन लागत कम हुने अध्यक्ष मल्लले दाबी गरे।
चालू आर्थिक वर्षको ५ महिनामै व्यापार घाटा ५ खर्व ९७ अर्ब रुपैयाँ नाघिसकेको भन्दै अध्यक्ष मल्लले प्रत्येक वर्ष मुलुकको व्यापार घाटा बजेटकै हाराहारी हुन थालेको बताए।
उनले भने, ‘आर्थिक समृद्धि र विकासको बाधक मुलुकको चरम व्यापार घाटा पनि हो। आन्तरिक उत्पादन नहुँदा कृषिजन्य वस्तुमा समेत परनिर्भरता बढ्दो क्रममा छ। सम्भावना भएका क्षेत्रमा समेत निर्यात सहजीकरण हुन सकेको छैन।’
मुलुकको निर्यात प्रवर्द्र्धनका लागि विदेशी मुलुकका निजी क्षेत्रसँग उच्चस्तरीय व्यावसायिक भेटवार्ताका लागि चेम्बरले पहल गर्ने अध्यक्ष मल्लले जानकारी दिए। व्यापार सहजीकरणका लागि चेम्बरले विभिन्न देशका राजदूतसँग छलफल गरिरहेको भन्दै अध्यक्ष मल्लले विदेशी निजी क्षेत्रसँग व्यापार सहजीकरणका लागि पहल भइरहेको बताए।
कार्यक्रममा नेपाल निर्यात परिषद्का नवनिर्वाचित अध्यक्ष नरेशलाल श्रेष्ठले भन्सार प्रक्रिया सहजीकरण नहुँदा व्यवसायीले अनावश्यक दुःख पाएको गुनासो गरे।