काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुर सबस्टेसनदेखि ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुंगेसाँघु सबस्टेसनसम्मको अमरपुर–ढुंगेसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सुरु गरेको छ।
झापाको लखनपुरदेखि (दमक सबस्टेसन) अमरपुर सबस्टेसनसम्मको काबेली करिडोर १३२ केभी प्रसारण लाइन र सुनसरीस्थित इनरुवा सबस्टेसनदेखि सुंखुवासभाको वसन्तपुर हुँदै ढुंगेसाँघुसम्मको कोसी करिडोर २२० केभी प्रसारण लाइनलाई एकआपसमा आबद्ध गर्न अमरपुर–ढुंगेसाँघु लाइन निर्माण सुरु गरिएको हो।
कोसी करिडोरअन्तर्गत वसन्तपुर–इनरुवा खण्ड सञ्चालनमा आइसकेको छ। वसन्तपुर–ढुंगेसाँघु खण्ड निर्माण अन्तिम चरणमा छ। काबेली करिडोर सञ्चालनमा छ।
हिलिहाङ गाउँपालिका अध्यक्ष, वडाध्यक्ष, स्थानीय बासिन्दालगायतको उपस्थितिमा सोमबार अमरपुर–ढुंगेसाँघु १३२ केभी प्रसारण लाइनको टावर निर्माण शिलान्यास गरिएको छ।
करिब १९ किलोमिटर प्रसारण लाइनमा ६७ वटा टावर निर्माण गर्नुपर्नेछ। उक्त प्रसारण लाइनबाट २ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ।
काबेली नदी जलाधार क्षेत्रमा निर्माण भएका र हुने जलविद्युत् आयोजनाको विद्युत्लाई विश्वसनीय तथा प्रभावकारी रुपमा प्रवाह गर्न अमरपुर–ढुंगेसाँघु १३२ केभी प्रसारण लाइन सुरु गरिएको आयोजना प्रमुख अनुप गौतमले बताए।
आयोजना प्रमुख गौतमका अनुसार, कोशी र काबेली करिडोर प्रसारण लाइन एक आपसमा आबद्ध हुने भएकाले कुनै कारणले काबेली करिडोरमा समस्या आए उक्त लाइनमा जोडिएको विद्युत् कोसी करिडोरतर्फ पठाउन सकिन्छ।
यसले गर्दा पूर्वी नेपालको राष्ट्रिय प्रसारण ग्रीडको विश्वसनीयता बढ्नुका साथै स्थानीय विद्युत् आपूर्ति पनि विश्वसनीय, गुणस्तरीय र सुदृढ बन्नेछ। तमोर नदी जलाधार क्षेत्रमा निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् ढुंगेसाँघु सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित हुनेछ।
सरकारको करिब एक अर्ब २० करोड लगानीमा आर्थिक वर्ष २०७५/७६ मा आयोजना सुरु गरिएको हो। प्रसारण लाइन निर्माणका लागि २०७९ सालमा ठेक्का सम्झौता भएको थियो। आयोजनाअन्तर्गत अमरपुर तथा ढुंगेसाँघु सबस्टेसनमा दुई÷दुईवटा लाइन वे निर्माण गरिनेछ।
यसका अतिरिक्त स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि ढुङ्गेसाँघु सबस्टेसनमा ११ केभीका संरचना निर्माण गरिनेछ। लाइन वे र ११ केभीका संरचना बनाउन चालू आर्थिक वर्षमा ठेक्का लगाइनेछ। आयोजनाअन्तर्गतका सम्पूर्ण काम आर्थिक वर्ष २०८१/८२मा सक्ने लक्ष्य राखिएको आयोजना प्रमुख गौतमले जानकारी दिए।