काठमाडौं। नेपाल भ्रमणमा आउनेभन्दा जाने बढी भएपछि सेवा खाता घाटा कायमै रहेको छ। चालू आर्थिक वर्षको ६ महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय ९२ अर्ब ८७ करोड रुपैयाँ छ।
तर, भ्रमण आय भने ३९ अर्ब ५६ करोड रुपैयाँ मात्र छ। भ्रमण आय र भ्रमण व्ययमध्ये भ्रमण खर्चको वृद्धिदर उच्च छ। खुद सेवा घाटा भने सामान्य घटेको छ।
गत वर्षको ६ महिनामा ३६ अर्ब २२ करोड रुपैयाँ सेवा खाता घाटा रहेकामा गत पुसमा भने ३६ अर्ब ६ करोडमा सीमित भएको छ।
चालू वर्षको ६ महिनामा भ्रमण व्यय गत वर्ष पुससम्मको ५८ अर्ब ९५ करोड रुपैयाँको तुलनामा ६०.६ प्रतिशतले बढेको छ।
तर, भ्रमण आय भने गत वर्षको २७ अर्ब ४० करोडको तुलनामा ४४.४ प्रतिशतले मात्रै बढेको छ। भ्रमण व्ययमध्ये शिक्षातर्फको खर्च सबैभन्दा बढी ५७ अर्ब ८२ करोड रुपैयाँ छ।
शिक्षातर्फको भ्रमण खर्च अत्यधिक बढ्दा समग्र सेवा क्षेत्र घाटा हुन पुगेको छ। गत वर्ष पुसमा शिक्षातर्फको खर्च ३५ अर्ब ३६ करोड रुपैयाँ थियो।
पछिल्लो ६ महिनामा खुद ट्रान्सफर बढेर करिब ८ खर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष २२.७ प्रतिशतले बढेको खुद ट्रान्सफर चालू वर्ष २४ प्रतिशतले बढेर ७ खर्ब ९९ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।
विप्रेषण आप्रवाह (रेमिट्यान्स)मा सकारात्मक वृद्धि हुँदा वैदेशिक मुद्रा सञ्चिति र भुक्तानी सन्तुलनमा सकारात्मक प्रभाव परेको छ। तर, यस अवधिमा गत वर्षको पहिलो ६ महिनाकै तुलनामा आयात, निर्यात र व्यापार घाटा भने घटेको छ।
चालू वर्ष रेमिट्यान्स २५.३ प्रतिशतले बढेर ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ भने शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोडले बचतमा छ।
आयात ३.१ प्रतिशत, निर्यात ७.२ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.६ प्रतिशतले घटेको छ। ६ महिनामा वस्तु आयातमा विदेशी मुद्रा खर्च भएका आधारमा हाल कायम विदेशी विनिमय सञ्चितिले १४.५ महिनाको वस्तु आयात र १२.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा उल्लेख छ।