काठमाडौं। तपाईं अहिले कुन सवारीसाधन चढ्नु हुन्छ? इलेक्ट्रिक डिजेल/पेट्रोल इन्जिन?
एकपल्ट आफ्नो सवारीसाधनको ब्लु बुक (सवारी दर्ता प्रमाणपत्र) पल्टाउनुस् त! ब्लु बुकको एउटा पन्नामा सवारीको विस्तृत विवरण उल्लेख हुन्छ।
उक्त विवरणमा १० नम्बर बुँदा केही याद गर्नुभयो?
त्यहाँ पेट्रोल/डिजेल भन्ने अप्सन छ भने विद्युतीयलाई स्थान दिइएको छैन। विद्युतीय गाडीको ब्लु बुक हेर्ने हो भने त्यहाँ हातैले ‘इलेक्ट्रिक’ लेखिएको छ।
त्यो मात्र होइन, ब्लु बुकमा इन्जिन नम्बर लेख्ने ठाउँ मात्र छ। मोटर नम्बर लेख्न कुनै विकल्प छैन। यातायात कार्यालयले काम चलाउका लागि इन्जिन नम्बर लेख्ने ठाउँमा मोटर नम्बर लेखिरहेका छन्।
नेपालमा विद्युतीय सवारी साधान चल्न थालेको १६ वर्ष भइसक्यो। त्यस्तै, दुईपांग्रे सवारीसाधन पनि नेपाली बजारमा आएको पनि वर्षौं भइसक्यो। .
निजी प्रयोजनका लागि सन् २००७ मा रेभा नामक विद्युतीय चारपांग्रे ब्रान्ड नेपाल भित्रिएको थियो। हाल नेपालका सडकमा महिन्द्रा, हुन्डाई किया, बिवाइडी, एमजी, सेरेस, वुलिङ, नेटागायतका ब्रान्डका विद्युतीय सवारीसाधन छन्।
त्यस्तै, सेगवे, एनआईयु, एथर, टेल्जी, लेभ्निङलगायत दर्जनौं दुईपांग्रे विद्युतीय सवारीसाधन छन्। तर, अहिलेसम्म सरकारले विद्युतीय सवारीसाधनका लागि ब्लु बुकमा अप्सन राख्न सकेको छैन।
विद्युतीय सवारीसाधन चल्न थालेको वर्षौंसम्म पनि ब्लु बुकमा इलेक्ट्रिकको अप्सन नराख्नु भनेको सरकारले नै विद्युतीय प्रविधिमा आधारित सवारीसाधनलाई स्वीकार्न नसकेको देखिएको हो।
ब्लु बुकमा इलेक्ट्रिक सवारीसाधनलाई पनि स्थान दिनुपर्ने एमजीका लागि नेपालको आधिकारिक वितरक पारामाउन्ट मोटर्सका महाप्रबन्धक सचिन अर्याल बताउँछन्। ‘इन्जिन नम्बर लेखेको ठाउँमा मोटर नम्बर लेख्नुपरेको छ। इलेक्ट्रिकको अप्सन नै नभएर हातले लेख्नुपरेको छ। यदि विद्युतीयलाई नै सम्बोधन गरेर ब्लु बुक बनाइएको भए राम्रो हुन्थ्यो,’ उनले भने।
२०७५ देखि ब्लु बुक छाप्ने जिम्मेवारी प्रदेशमा गएकाले यो विषयमा आफूहरु जानकार नभएको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरु बताउँछन्।
हाल नेपालका सडकमा महिन्द्रा, हुन्डाई किया, बिवाइडी, एमजी, सेरेस, वुलिङ, नेटागायतका ब्रान्डका विद्युतीय सवारीसाधन छन्। त्यस्तै, सेगवे, एनआईयु, एथर, टेल्जी, लेभ्निङलगायत दर्जनौं दुईपांग्रे विद्युतीय सवारीसाधन छन्। तर, अहिलेसम्म सरकारले विद्युतीय सवारीसाधनका लागि ब्लु बुकमा अप्सन राख्न सकेको छैन।
‘हामीले पहिले ब्लु बुक छापेर यातायात कार्यालयमा पठाउँथ्यौं। २०७५ देखि यो काम प्रदेशले गरिरहेका छन्। त्यसअघि विभागले छापेको ब्लु बुकमा किन विद्युतीयको अप्सन राखिएन भन्ने विषय पुरानो हो। त्यसकारण उतिसारो जानकारी छैन,’ उनले भने।
पूर्वनिर्धारित ढाँचामा छपाइ गर्नुपर्ने भएकाले ब्लु बुकमा विद्युतीय सवारीसाधनको अप्सन राख्न नमिलेको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले बताए।
‘हामीले त्यत्तिकै अप्सन थप्न मिल्दैन। ऐन, नियमावलीमा जे भनिएको छ, त्यही गर्नुपर्छ। त्यसकारण पुरानो ढाँचामा विद्युतीय अप्सन नभएका कारण यो समस्या आएको हो,’ उनले क्यापिटल नेपालसँग भने। अहिले यातायात नियमावली बनिरहेको र त्यसमा यो विषय सम्बोधन हुने उनले बताए।
‘यातायात नियमावली संशोधनका लागि गृहकार्य भइरहेको छ। संशोधित नियमावलीमा नयाँ प्रविधिलाई पनि सम्बोधन गर्ने गरी काम भइरहेको छ,’ उनले भने।