काठमाडौं। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) १ अर्ब बढीको धुलो दूध र मखन मौज्दात हुन थालेपछि विदेश निर्यात बजारको खोजीमा लागेको छ।
डिडिसीका उपनिर्देशक एवंम सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले धुलो दूध र मखन निर्यातका लागि अमेरिका र दक्षिण कोरियामा नमुनाको रुपमा पठाएको बताए। ‘हामीले पहिलो चरणमा नमुना पठाएका छौं,’ अधिकारीले भने, ‘उताबाट जवाफ आएपछि दोस्रो र तेस्रो चरणको प्रक्रिया अगाडि बढ्छ। त्यसपछि मात्र निर्यात हुने÷नहुने टुंगोमा पुग्छौं।’
नेपालले यसअघि विभिन्न मुलुकमा दुग्धजन्य पदार्थ निर्यात गरे पनि कोभिडपछि रोकिएको थियो। पछिल्लो समय दूध उत्पादन बढ्दै गएसँगै खपत न्यून हुन थालेपछि डिडिसीमा मौज्दात (स्टक) बढ्दै गएको छ। दूध खपत घटेपछि डिडिसीले किसानबाट लिएको दूधबाट पाउडर र मखन बनाउँदै आएको छ।
हालसम्म करिब १ अर्ब रुपैयाँ बढीको पाउडर दूध र मखन स्टक रहेको अधिकारीले जानकारी दिए। अहिले डिडिसीले दैनिक १ लाख ५० हजार लिटर दूध किसानबाट लिँदै आएकामा बिक्री भने १ लाख मात्र हुने गरेको जनाएको छ। खपत खटेपछि अहिले किसानलाई दिनुपर्ने भुक्तानीमा समेत ढिलाइ हुँदै गएको सूचना अधिकारीको भनाइ छ।
बिक्री घटेपछि किसानलाई ७० देखि ८० करोड रुपैयाँ भुक्तानी बाँकी रहेको डिडिसीले बताएको छ। दैनिक ७० देखि ८० लाखको बिक्रीले किसानबाट १ करोड ५० लाख बराबरको सामान लिने गरेको उल्लेख छ। सोही कारण बजारमा बिक्री नबढ्दा दुग्धजन्य सामग्री मौज्दात बढेको हो।
नेपालले यसअघि पनि विभिन्न मुलुकमा दुग्धजन्य पदार्थ निर्यात गरे पनि कोभिडपछि रोकिएको थियो। पछिल्लो समय दूध उत्पादन बढ्दै गएसँगै खपत न्यून हुन थालेपछि डिडिसीमा मौज्दात (स्टक) बढ्दै गएको छ। दूध खपत घटेपछि डिडिसीले किसानबाट लिएको दूधबाट पाउडर र मखन बनाउँदै आएको छ।
नेपाल डेरीका सञ्चालक एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरनिको राजभण्डारी डिडिसीले दुग्धजन्य पदार्थको विदेश निर्यात सम्भावना खोज्नुलाई सकारात्मक भएको बताउँछन्। डिडिसीले भनेजस्तै अमेरिका र कोरियामा अहिलेकै अवस्थामा सम्भावना न्यून रहेको उनको बुझाइ छ।
अमेरिकासहित युरोपेली मुलुकमा खोरेत रोग उन्मूलन नभएका देशबाट दुग्धजन्य पदार्थ आयातमा पूर्ण रुपमा रोक लगाएकाले नेपालबाट तत्कालै सम्भावना नदेखेको उनले बताए। नेपाल पूर्ण रुपमा खोरेत रोग उन्मूलन मुलुकभित्र परिनसकेकाले डिडिसीले अन्य मुलुकमा ध्यान दिए सहज हुने उनको सुझाव छ।
प्रशोधन गरेका वस्तुमा कुनै पनि जीवाणु नहुने तथ्यलाई विश्व बजारमा डिडिसीले स्थापित गर्न सके ठूलो परिमाणमा दुग्धजन्य पदार्थ निर्यात गर्न सक्ने स्थिति रहेको उनले बताए।
‘अमेरिका र कोरियालाई पनि प्रशोधन भएका दुग्धजन्य पदार्थमा जीवाणु नरहने विषयमा कन्भिन्स गर्न सके धेरै राम्रो हुन्छ,’ सञ्चालक राजभण्डारीले भने, ‘त्यसको विकल्पमा चीनको तिब्बत पनि उत्तम हुन्छ।‘ तिब्बतमा नौनी घ्यूको राम्रो बजार रहेकाले त्यसतर्फ पनि डिडिसीले सोच्न आवश्यक रहेको उनले बताए।
पछिल्लो समय भारतबाट धेरै मात्रामा दूध खुलमखुल्ला आउँदा नेपालमा खपत घटेको व्यवसायी बताउँछन्। नेपाली बजारमा भन्दा भारतमा दूधको मूल्य सस्तो भएकाले बिचौलियाले त्यहाँबाट ल्याएर बिक्री गर्दा यहाँका व्यवसायी समस्यामा परेका छन्। सोही कारण दूध खपत घटेकाले सरकारले गम्भीर ध्यान दिनुपर्ने अवस्था रहेको सञ्चालक राजभण्डारीको भनाइ छ।