काठमाडौं। देशभर २२ वटा सुरुङ मार्ग निर्माण तयारी अघि बढेको छ। त्यसमध्ये २ सुरुङ मार्ग निर्माणाधीन छन् भने ७ वटा आयोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययन सम्पन्न भएको छ। निर्माणाधीन र प्रारम्भिक सम्भाव्यता अध्ययन सकिएका ९ वटा आयोजनाको लागत १ खर्ब रुपैयाँ बढी छ।
त्यस्तै, ८ वटा सुरुङ मार्ग निर्माणको सम्भाव्यता अध्ययन भइरहेको छ भने ३ वटा सुरुङ निर्माण सम्भाव्यता अध्ययन प्रक्रियामा छ। त्यसका लागि ठेक्का लगाउने तयारी भइरहेको भौतिक तथा पूर्वाधार मन्त्रालयअन्तर्गको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक नरेशमान शाक्यले बताए।
निर्माणाधीन सुरुङ मार्ग
काठमाडौं र धादिङ जोड्ने नागढुंगा–नौबिसे सुरुङ मार्ग निर्माणको अन्तिम चरणमा छ। जापानिज सहयोग नियोग (जाइका) को ऋण सहयोगमा निर्माण भएको नागढुंगा सुरुङको लागत २० अर्ब ६० करोड रुपैयाँबराबर छ। २६ सय ८८ मिटर लामो सुरुङको ९९ प्रतिशत काम सकिएर ‘ब्रेक थ्रु’ (सुरुङ छेड्ने) प्रक्रियामा छ।
त्यस्तै, सिद्धार्थ राजमार्गमा पर्ने पाल्पाको सिद्धबाबा सुरुङ मार्ग निर्माणाधीन छ। २०७८ फागुनमा विकास केन्द्रले चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग ५ वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको छ। ११ सय २६ मिटर लामो सिद्धबाबा सुरुङ निर्माणका लागि ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सम्झौता भएको छ।
सिद्धबाबा सुरुङ मार्ग ‘इन्जिनियरिङ, प्रोक्युरमेन्ट, कन्स्ट्रक्सन’ (इपिसी) मोडेलमा निर्माण हुने गरी ठेक्का सम्झौता भएकाले निर्माण कम्पनीले सुरुङको डिजाइनसहित निर्माण ५ वर्षभित्र गर्नुपर्नेछ। सोहीअनुसार चाइना स्टेटले डिजाइन बनाएर सुरुङ निर्माण थालेको छ। निर्माणाधीन २ वटा सुरुङको लागत २७ अर्ब ९४ करोड रुपैयाँ बढी छ।
सम्भाव्यता अध्ययन सम्पन्न सुरुङ मार्ग
सुनसरीमा रहेको धरान लेउती सुरुङ मार्ग अध्ययनमा लागि २०७८ वैशाख ३० मा विकास केन्द्र र ‘टीएमएस ईआई माभेन रेस’ को जोइन्ट भेन्चर कम्पनी (जेभी) सँग ठेक्का सम्झौता भएको थियो। अध्ययन कम्पनीले बुझाएको प्रतिवेदनअनुसार सुरुङको लम्बाइ ३.८७ किलोमिटर र लागत रकम ११ अर्ब ३८ करोड ६८ लाख ६३ हजार रुपैयाँ अनुमान गरिएको छ।
उक्त सुरुङ मार्गका लागि चालू आवमा ५० लाख रुपैयाँ बजेट विनियोजन भएको केन्द्रले जनाएको छ। त्यस्तै, कैलाली, डोटीमा बन्ने खुटिया–बिपी नगर–दिपायल सुरुङ मार्गको लम्बाइ ७.१ किमि हुने सम्भाव्यता अध्ययनले देखाएको छ। ‘इनभाइरोमेन्ट एन्ड रिसर्च म्यानेजमेन्ट कन्सल्ट’ ले २०७७ माघ १० मा केन्द्रसँग सम्झौता गरी आव २०७९/८० मा प्रतिवेदन बुझाएको थियो।
उक्त प्रतिवेदनले ७.१ किमि सुरुङ बनाउन १३ अर्ब ४० करोड ७२ लाख २७ हजार रुपैयाँ लाग्ने देखाएको छ। त्यस्तै, ललितपुर र काभ्रेपलाञ्चोक जोड्ने गोदावरीकुण्ड–काभ्रे–मनेदोभान सुरुङ मार्गको लम्बाइ ३.६५ किमि हुने सम्भाव्यता अध्ययनले देखाएको छ। उक्त सुरुङको लागत ७ अर्ब ९७ करोड ९९ लाख ७५ हजार रुपैयाँ लाग्ने देखाएको छ।
निर्माणाधीन र प्रारम्भिक सम्भाव्यता अध्ययन सकिएका ९ वटा आयोजनाको लागत १ खर्ब रुपैयाँ बढी छ। ८ वटा सुरुङ मार्ग निर्माणको सम्भाव्यता अध्ययन भइरहेको छ भने ३ वटा सुरुङ निर्माण सम्भाव्यता अध्ययन प्रक्रियामा छ।
बागलुङमा बनाउन लागिएको ‘बागलुङ बिहुँं नरेठाँटी सुरुङ मार्ग’ बनाउन २० अर्ब ४८ करोड ३५ लाख ३३ हजार रुपैयाँ लागत अनुमान गरिएको छ। ७.४४ किमि लामो सुरुङ बन्ने सम्भाव्यता अध्ययनले देखाएको छ। ‘बागलुङ बिहुँ–नरेठाँटी सुरुङ मार्ग’ नेपालमा हालसम्म अध्ययन भएका सुरुङमध्ये सबैभन्दा लामो देखिएको छ।
पाल्पामा निर्माण प्रस्ताव गरिएको ‘प्रवास–जोर्ते सडक सुरुङ मार्ग’ ४ किमि लामो बन्ने भएको छ। साल्ट कन्सल्ट्यान्टले चालू आर्थिक वर्षमा बुझाएको सम्भाव्यता अध्ययन प्रतिवेदनले ४ किमि सुरुङम ार्ग बनाउन ९ अर्ब ३५ करोड ३६ लाख ३३ हजार रुपैयाँ लाग्ने देखाएको विकास केन्द्रको भनाइ छ।
मकवानपुरमा अध्ययन गरिएको कुलेखानी–भीमफेदी सुरुङ मार्गको लम्बाइ ३.१६५ किमि र लागत १० अर्ब ७२ करोड ३४ लाख ३८ हजार अनुमान गरिएको सम्भाव्यता अध्ययनले देखाएको छ।
त्यस्तै, सिन्धुलीको खुर्कोट–सिन्धुली सुरुङ मार्ग ४.९० किमि लामो र १६ अर्ब ८१ करोड ८७ लाख ४२ हजार रुपैयाँ लाग्ने सम्भाव्यता अध्ययनले देखाएको छ।
सम्भाव्यता अध्ययन सम्पन्न भएका ७ वटा सुरुङ मार्गको लागत रकम कुल ९० अर्ब १५ करोड ३४ लाख १३ हजार रुपैयाँ देखिएको छ। निर्माणाधीन २ वटा र सम्भाव्यता अध्ययन सकिएका ७ वटा सुरुङको लागत १ खर्ब १८ अर्ब रुपैयाँ बढी छ।
अध्ययनमा रहेका सुरुङ मार्ग
गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले २०८० वैशाख ७ मा फरक–फरक कम्पनीसँग सम्भाव्यता अध्ययनका लागि फुश्रेखोला छोरेपाटन (पोखरा) देखि स्याङ्जा गुडीकोला सुरुङ र ताथली–रविओपी सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि सम्झौता गरेको थियो।
सोही दिन रारा राजर्मागको कुशे पाटन (जाजरकोट ब्याउलीढुंगा र जुम्ला इमिलचा खोला (सुरुङ मार्ग) को विस्तृत परियोजना प्रतिवेदन रिपोर्ट (डिपिआर) अध्ययनका लागि पनि केन्द्रले सम्झौता गरेको थियो।
त्यस्तै, बबई–छिन्चु, मझिम्तार–शक्तिखोर सुरुङ मार्ग, इलामको सुनमाई राजदुबोल सुरुङ मार्ग अध्ययनको ‘इन्सेप्सन रिपोर्ट’ अर्थात् निर्माण कम्पनीले स्थलगत अध्ययन गरेर ‘सम्भाव्यता अध्ययन गर्न सक्ने रिपोर्ट’ दिएको विकास केन्द्रका निर्देशक नरेशमान शाक्यले बताए। ‘हामी सम्भाव्यता अध्ययन गर्न सक्छौं भन्ने रिपोर्ट सम्झौता गरेका कम्पनीले दिएका छन्।
अहिले अध्ययन भइरहेको छ,’ निर्देशक शाक्यले भने। त्यसबाहेक हेम्जा नयाँपुल खण्ड सडक सुरुङ मार्ग र दुम्कीबास–बर्दघाट सुरुङको विस्तृत सम्भाव्यता अध्ययन भइरहेको केन्द्रले जनाएको छ।
चिनियाँ लगानीमा निर्माण तयारी थालिएको टोखा–छहरे सुरुङ मार्गको वातावरणीय प्रभाव मूल्यांकन अध्ययनको तयारी हुँदै छ भने दोलखाको लामाबगरमा पनि सुरुङ मार्ग सम्भाव्यता अध्ययनको तयारी भइरहेको सडक विभागले जनाएको छ।
सम्भाव्यता अध्ययन तयारीमा रहेका सुरुङ मार्ग
बेंसीसहर नाल्म बेंसी सुरुङ मार्ग, लुम्बिनी रारा पर्यटकीय राजमार्गअन्तर्गतको तुलसीपुर लुहाम सुरुङ मार्ग र पाणिनी गाउँपालिकादेखि दुर्गाफाँटा सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि चालू आवमा केन्द्रले ठेक्का आह्वानको तयारी गरेको छ।
३ वटा सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि चालू आवमा क्रमशः ५० लाख र २०–२० लाख रुपैयाँ बजेट रहेको विकास केन्द्रले बताएको छ। उक्त बजेटले ठेक्का आह्वान गर्न सकिने शाक्यको भनाइ छ।