काठमाडौं। संघीय संसद्को तेस्रो अधिवेशन आजदेखि बस्दै छ। आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछ। सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन्।
बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्य मनोनयन गर्ने सम्भावित कार्यसूची छ।
बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० पेस गर्नेछन्।
त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद् निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाऊ आदेश सदनमा पेस गर्ने कार्यसूची छ।