काठमाडौं । रामकोट काठमाडौंका सुमित मानन्धरले पाँच वर्ष इन्जिन वारेन्टी भनेर हिरोको एक्सपल्स मोटरसाइकल २ बर्षअघि खरिद गरे। पाँच वर्ष नपुग्दै उनको मोटरसाइकलको इन्जिन बिग्रियो।अहिले इन्जिन फेर्नुपर्ने अवस्था छ, तर यसको पार्टस् र इन्जिन कम्पनीले उपलब्ध नगराउँदा उनले हैरानी खेप्नु परेको छ।
उनले मोटरसाइकल खरिद गरेको ज्योती गु्रपअन्तर्गतको नेपाल जनरल मार्केटिङ (एनजिएम) कम्पनीबाट थियो तर अहिले नेपालको लागि आधिकारिक बिक्रेता एनजिएमबाट खोजिएर चौधरी ग्रुपअन्तर्गतको सिजी मोटर्समा पुगेको छ। मानन्धर एनजिएममा गएर इन्जिनको वारेन्टी दाबी गरे तर कम्पनीले एकबर्षदेखि पार्टस् नआएकाले उपलब्ध गराउन आनाकानी गरिरहेको छ।
मानन्धर मात्र होइनन् मिलनचोक बुटवलका सञ्जय चौधरीले पनि हिरोको एक्सपल्स नै खरिद गरेर उनले सर्भिसिङ गर्दा विभिन्न पार्टस् चेन्ज गर्नुपर्ने भन्यो तर त्यहाँको आधिकारिक डिलरमा पार्टस् उपलब्ध भएन, डिलर आफै खोजेर ल्याए चेन्ज गरिदिन्छु भनेको छ, चौधरीले भने।
त्यस्तै, बालाजुका हरी गजुरेलले पनि केही समयअघि एक्सपल्स किनेका थिए। उनको मोटरसाइकलको ६ महिना अघि स्ट्याण्ड सेन्सर, ३ महिना अघि गियर इन्डिकेटर सेन्सर र २ महिना अघि साइड इन्डिकेटर बिग्रियो। तर उनले मोटटरसाइकल बनाउन भने अझै पाएका छैनन्। ‘बनाउन जादा डिलरले हामीसगा पार्ट्स छैन भन्छ। यो त हामी उपभोक्ता माथी ज्यादती नै भयो नी,’ उनले भने।
नेपालमा लामो समयदेखि हिरोको आधिकारिक बिक्रेता भएको ज्योती ग्रुपअन्तर्गत एजिएमले एकबर्षदेखि मोटरसाइकलको पार्टस् नल्याउँदा यसका प्रयोगकर्ताहरुले हैरानी खेप्न थालेका छन्।
ज्योती ग्रुपबाट चौधरी ग्रुप पुगेको हिरो मोटरसाइकलको आधिकारिकताको विषयमा लामो समय मुद्धा र कानुनी लडार्ईको कारण कम्पनीले मोटरसाइकलको पार्टस् नपठाउँदा अहिले हिरोका प्रयोगकर्ताहरुलाई समस्या उत्पन्न भएको हो।
‘सिजी मोटर्र्सले पार्टस् ल्याएर आधिकारीक बिक्री वितरण गरिसकेको छैन, पुरानो कम्पनीमा पार्टस् छैन यसमा हामी जस्तो प्रयोगकर्तालाई समस्या भएको काठमाडौं सितापाइला निवासी रोहन शर्माको भनाई छ। ‘अब हामी कहाँ जाने, मेरो इन्जिन हाफ खोलेर बनाइयो फेरि देखाउँदा समस्या छ भनेको छ, भाइजर र क्लज प्लेट पनि परिवर्तन गर्नुपर्ने छ सामान्य पार्टस् पनि छैन।’, शर्माले भने।
भारतीय कम्पनीले हिरोकर्पले ज्योतिबाट खोसेर आधिरिक बिक्रेता चौधरी ग्रुपलाई दिने निर्णय गरेपछि अदालतमा समेत मुद्दा परेको थियो। तर, भारतीय अटो निर्माता कम्पनी हिरोले चौधरी ग्रुपलाई आधिकारिक रुपमा नेपालको एजेन्सीको रुपमा मान्यता दिएको हो। योसँगै ज्योती ग्रुपको हिरो मोटरसाइकलसँगको लिगेसी अन्त्य भएको थियो।
चौधरी ग्रुपले सबैभन्दा पहिले स्पेयर पार्टस् मा काम गरेको सिजी मोटर्सका सिइओ हेमन्त अग्रवालले बताए।‘हिरो मोटरसाइकल चढ्ने सबैजना हाम्रो उपभोक्ता हो। हामी हिरोको आयातकर्ता भएपछि मोटरसाइकल भन्दा पहिले पार्ट्स ल्याउदै छौं। यसका लागि एलसी पनि खोलिसक्यौं। त्यसकारण उपभोक्ताले अहिले दुख पाउनु भएको भएपनि अवको दिनमा पाउनु हुन्न,’ उनले क्यापिटल नेपालसगँ भने।
एनजिएमका अध्यक्ष अभिक ज्योतीले नेपालमा हिरोको आधिकारिकताको मुद्धा नटुङ्गिएका कारण पार्टस् आउन समस्या भएको बताए । ‘हामीले वारेन्टी दिएर बेचेको मोटरसाइकललाई सकभर पार्टस् र सर्भिस उपलब्ध गराएका छौं तर हिरो इन्डियाले नै कतिपय अवस्थामा पार्टस् नपठाउँदा समस्या भएको हो,’ उनले भने ।