काठमाडौं। पछिल्लो समय नेपालका सडकमा प्रशस्तै विद्युतीय भ्यान गुडिरहेको देखिन थालेका छन्। विद्युतीय सवारीसाधनको क्षेत्रमा सुरुआती समय ‘प्यासेन्जर भेइकल’को मात्र प्रतिस्पर्धा भइरहेका बेला अहिले विद्युतीय भ्यानमा स्पर्धा हुन थालेको हो।
सुरुआती चरणमा स्कुल भ्यानका रुपमा प्रयोग भएका विद्युतीय भ्यान अचेल छोटो र मध्यम दूरीको सार्वजनिक यातायातमा प्रयोग भएको देख्न सकिन्छ। यस्ता गाडी विशेषतः काठमाडौंदेखि सिन्धुली, बर्दिवास, मन्थली, गाईघाट, सिन्धुपाल्चोक, ओखलढुंगा, जनकपुर, नारायणगढलगायत स्थानमा गुड्न थालेका छन्।
काठमाडौं बाहिर विराटनगरदेखि इलाम, वीरगञ्जदेखि नारायणगढ, नारायणगढदेखि बुटवल, बुटवलदेखि अर्घाखाँची, महेन्द्रनगरदेखि धनगढी, धनगढीदेखि डडेल्धुरा रुटमा विद्युतीय गाडीको संख्या बाक्लिँदै गएकोे यातायात व्यवसायी नै बताउँछन्।
अहिले नेपालका सडकमा १ हजार ५ सय बढी विद्युतीय भ्यान सञ्चालन भइरहेको दिगो गु्रपका अध्यक्ष राजन रायमाझी सुनाउँछन्। नेपालका सडकमा सुरुआती चरणमा चलाउन थालिएका विद्युतीय भ्यान करिब ४ लाख किलोमिटर गुड्दा पनि समस्या नआएपछि लोकप्रिय हुँदै गएको उनको बुझाइ छ।
‘विद्युतीय भ्यान सञ्चालन खर्च निकै न्यून छ। यसमा यात्रा गर्दा आरामदायी पनि छ। त्यसमाथि ठूला–ठूला बिजनेस हाउसले पनि विद्युतीय भ्यान आयात गर्न थालेपछि यसको विश्वास र लोकप्रियता झनै बढ्यो,’ उनले भने।
यी हुन् नेपाली बजारमा उपलब्ध र ल्याइन लागेका विद्युतीय भ्यानः
दिगो डाँफे
नेपालमा विद्युतीय भ्यानलाई स्थापित गर्ने मुख्य ब्रान्ड दिगो हो भन्दा फरक पर्दैन। दिगोले २०७७ मा ११ सिटे डाँफे विद्युतीय भ्यान नेपाली बजारमा भित्र्याएको थियो। ४२ किलोवाट आवरको लिथियम आयन ब्याट्री रहेको यो भ्यानमा ६० किलोवाटको मोटर छ।
यो सवारीसाधनले एकपल्टको फुल चार्जपछि ३ सय किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ। हाल यो गाडी स्कुल भ्यान, छोटो तथा मध्यम दूरीका सार्वजनिक यातायातलगायतमा धेरैजसो प्रयोगमा आइरहेको छ। यो भ्यान कर्मचारी परिवहन, एयरपोर्ट सटल, टुरिस्ट पिकड्रप आदिका लागि उत्कृष्ट विकल्प हुन सक्ने कम्पनीले जनाएको छ। कम्पनीले यसको मूल्य ४५ लाख ९५ हजार निर्धारण गरेको छ।
हाइगर
शशिला मोटर्सले केही समय अघिदेखि हाइगर ब्रान्डका विद्युतीय भ्यान नेपाली बजारमा भित्र्याउन थालेको छ। हालसम्म हिइगर एच५सी मोडल २ सय बढी बुकिङ भएको शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले जानकारी दिए।
कम्पनीले सुरुआती चरणमा १६ सिटे क्षमताका दुई ब्याट्री भेरियन्टको हिइगर एच५सी मोडल भित्र्याएको हो। ७०.४७ किलोवाट आवर र ५० किलोवाट आवरको ब्याट्रीमा उपलब्ध यो गाडीको मोटर क्षमता ९० किलोवाटको छ। यो गाडीको उच्च रेन्ज ३ सय किलोमिटर रहेको कम्पनीको दाबी छ।
यो गाडीमा फराकिलो बडी भएकाले बस्न आरामदायी हुने, पर्सनल एसी भेन्ट, एयर ब्याग, अलोए ह्विललगायत फिचर्स रहेको खतिवडाले जानकारी दिए। कम्पनीले यसको मूल्य ७२ लाख ९० हजार र ६१ लाख ५० हजार रुपैयाँ निर्धारण गरेको छ।
एसआरएम
नेपालमा एसआरएमको आधिकारिक वितरक पूजा कन्स्ट्रक्सन हो। कम्पनीले हाल ११ सिटे एक्स ३० एल ईभी भ्यान आयात तथा बिक्री–वितरण गर्दै आएको छ। यो विद्युतीय भ्यान स्कुल बस तथा छोटो तथा मध्यम दूरीका रुटमा उपयुक्त हुने कम्पनीले जनाएको छ।
एसआरएम एक्स ३० एलमा ४१.८६ किलोवाट आवरको ब्याट्री र ६० किलोवाटको ब्याट्री छ। यसले सिंगल चार्जमा ३ सय किलोमिटर रेन्ज दिने र ४५ मिनेटमा शून्यदेखि ८० प्रतिशत चार्ज भइसक्ने कम्पनीको दाबी छ। यसको ग्राउन्ड क्लियरेन्स १ सय ८० एमएमको छ भने कम्पनीले यसको मूल्य ४५ लाख ५० हजार निर्धारण गरेको छ।
फोटोन
नेपालका लागि फोटोनको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले फोटोनको ‘हाई रुफ’ विद्युतीय भ्यान नेपाली बजारमा भित्र्याएको छ। अटोकर्पले १४ र १५ सिटे क्षमताका ‘हाई रुफ’ विद्युतीय भ्यान सार्वजनिक गरेको हो। ५०.२३ किलोवाट आवरको ब्याट्री प्याक रहेको यो भ्यानमा ८५ किलोवाटको मोटर जडान गरिएको छ। कम्पनीले यी गाडीको मूल्य ५६ लाख र ५७ लाख रुपैयाँ निर्धारण गरेको छ। यी विद्युतीय भ्यानमा ५ वर्ष वा ३ लाख किलोमिटर वारेन्टी दिइएको छ।
केवाइसी
नेपालका लागि केवाइसीको आधिकारिक वितरक सिजी मोटर्सले हाल केवाइसी भी५ नेपाली बजारमा बिक्री सुरु गरेको छ। ४१.८६ किलोवाट आवर ब्याट्री रहेको यो भ्यानमा ६० किलोवाटको मोटर छ। ११ सिटे यो गाडीले २ सय २० एनएम टर्क जेनेरेट गर्ने र सिंगल चार्जमा ३ सय किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ। कम्पनीले यसको मूल्य साढे ४५ लाख निर्धारण गरेको छ।
किङलङ
किंगललंगका लागि नेपालको आधिकारिक वितरक सिजी मोटर्सले हालयसको किङविन इभी बजारमा ल्याएको छ। ५०.२३ किलोवाट आवर ब्याट्री प्याक रहेको यो भ्यान ५० किलोवाट र ८० किलोवाट मोटर अप्सनमा आउँछ। २ सय ७० एनएम उच्च टर्क रहेको यो गाडीले सिंगल चार्जमा ३ सय किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ। कम्पनीले यसको मूल्य साढे ५६ लाख रुपैयाँ निर्धारण गरेको छ।
हाइलंग
नेपालमा हाइलंग विद्युतीय भ्यानका भित्र्याउने तयारी भइरहेको छ। यसलाई नेपाल चेम्बर अफ कर्मस अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वको अक्र्ष समूहले भित्र्याउने तयारी गरेको हो। कम्पनीले पहिलो चरणमा हाइलंगको ‘एचवाईएल ६५३०जेई’ मोडल नेपाली बजारमा ल्याउन लागेको हो। यसमा ५०.२३ किलोवाट आवरको ब्याट्री र ५० किलोवाटको मोटर छ। १५ सिटे क्षमताको यो गाडीले एकपटक चार्ज गर्दा ३ सय किलोमिटर रेन्ज दिने बताइएको छ। कम्पनीले यसको मूल्य ५७ लाख निर्धारण गर्ने तयारी छ।
रेड पान्डा
रेड पान्डा कम्पनी कम्पनीको विद्युती भ्यान नेपाली बजारमा आएको छ। ११ सिटे क्षमताको यो भ्यान सुन्दर ट्रेडर्स प्रालिले नेपाली बजारमा भित्र्याएको हो।
४१.८६ किलोवाट आवरको ब्याट्री रहेको यो गाडीमा ६० किलोवाटको मोटर जडान गरिएको छ। फुल चार्जमा २ सय ६५ किलोमिटर रेन्ज दिने भनिएको यो गाडीको मूल्य ४३ लाख ५० हजार निर्धारण गरिएको कम्पनीका प्रबन्ध निर्देशक भेषबहादुर थापाले जानकारी दिए। यसमा २ लाख १० हजार किलोमिटर वा ५ वर्षे वारेन्टी रहेको थापाले बताए।
स्काइबेल
नेपाली बजारमा स्काइबेलका भ्यान भित्र्याउने तयारी भइरहेको छ। विशाल ग्रुपअन्तर्गतको पूजा कन्स्ट्रक्सनले यो गाडी नेपालमा ल्याउन लागेको हो। कम्पनीले पहिलो चरणमा ‘डी१०’ मोडलको १४ सिटे भ्यान ल्याउन लागेको हो। ५०.२३ किलोवाट आवर ब्याट्री प्याक क्षमताको यो गाडी ४५ र ८० किलोवाटको मोटरमा उपलब्ध हुनेछ। फुल चार्जमा ३ सय किलोमिटर रेन्ज दिने यो गाडीको सुरुआती मूल्य ५८ लाख ३० हजार तोक्ने कम्पनीको तयारी छ।
डंगफेङ
त्रिवेणी ग्रुपअन्तर्गतको रेन्बो मोटोकर्प प्रालिले ११ र १५ सिटे इलेक्ट्रिक भ्यान नेपाली बजारमा ल्याउन लागेको छ।
कम्पनीले चिनियाँ कम्पनी डंगफेङ ब्रान्डका भ्यान ल्याउन लागेको हो। यी गाडी ५० किलोवाट मोटर क्षमताका हुने बताइएको छ। यो गाडी आगामी मार्चबाट नेपाली बजारमा आउने बुझिएको छ।