काठमाडौं। कोशी प्रदेशमा किवी खेतिको उच्च सम्भवाना देखिएको छ। यस प्रदेशमा किवी खेतीमा लगानी गर्ने किसानले आफ्नो लगानीबाट औषत ५१.४ प्रतिशतसम्मको प्रतिफलदर प्राप्त गर्ने गरेका छन्। प्रदेशको सोलुखुम्बु जिल्लामा सबैभन्दा बढी ७९.८ प्रतिशत प्रतिफल प्राप्त हुँदा सबैभन्दा कम प्रतिफल प्राप्त हुने धनकुटामा पनि १८.१ प्रतिशत प्रतिफल प्राप्त हुने गरेको छ।
विशेषगरी सोलुखुम्बु जिल्लाको कुल उत्पादन लागत नै न्यून लाग्ने भएकाले जिल्लाको प्रतिफल अन्यको तुलनामा उच्च हुनेगर्दछ। सोलुखुम्बुमा किवीमा गरिएको लगानी फिर्ता पाउन पनि कम समय लाग्ने गरेको छ। जिल्लाका किसानले किवीमा गरेको लगानी १.३ वर्ष लाग्छ भने सबैभन्दा बढी समय लाग्ने धनकुटामा औषत ५.५ वर्ष लाग्ने गरेको छ। कोशी प्रदेशमा लगानी फिर्ता पाउन लाग्ने औषत समय भने १.९ वर्ष रहेको छ।
कोशी प्रदेशमा किवी खेती गर्ने किसानहरुको औसत परिवर्तनशील लागत २३.९ रुपैयाँ प्रतिकेजी, औसत कुल उत्पादन लागत ३४.२ रुपैयाँ, अनुदान बाहेकको प्रतिकेजी औसत आम्दानी १ सय ३१ रुपैयाँ रहेको छ। धनकुटा जिल्लामा प्रतिकेजी औसत उत्पादन लागत सबैभन्दा बढी ८८.७ रुपैयाँ छ भने सोलुखुम्बु जिल्लाको औसत उत्पादन लागत सबैभन्दा न्यून प्रतिकेजी २८.२ रुपैयाँ रहेको छ।
सोलुखुम्बु जिल्लामा ऋण उपभोग गर्ने किसानको संख्या न्यून रहेको र ब्याज खर्च अन्य जिल्लाको भन्दा कम रहेकोले उत्पादन लागत कम हुने गरेको छ। विक्रम संवत २०७९ सालमा सोलुखम्बु जिल्लाका किसानहरुले अधिकतम मूल्य प्रति केजी ३०० रुपैयाँसम्म प्राप्त गरेका थिए भने इलाम जिल्लाका किसानले सबैभन्दा न्यूनतम मूल्य प्रतिकेजी ३५ रुपैयाँ सम्ममा किवी बिक्री गरेका छन्।
नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले गरेको कोशी प्रदेशमा व्यावसायीक किवी खेतीको अवस्था, सम्भावना र चुनौतीहरुको अध्ययन प्रतिवेदन, २०७९÷८० ले कोशी प्रदेशमा किवी खेती व्यवसायमा ५२.३ प्रतिशत पुरुष र ४७.७ प्रतिशत महिलाले रोजगारी प्राप्त गरेको देखाएको छ। कोशी प्रदेशमा व्यावसायीक किवी खेतीका सन्दर्भमा कुल १ सय ४४ कृषकहरुको स्थलगत भ्रमण गरी गरिएको अध्ययनले यस्तो अवस्था देखाएको हो।
अध्ययनले ८८.२ प्रतिशत किसान व्यवसायप्रति सन्तुष्टि रहेको देखाएको छ। अन्य बालीका तुलनामा कम झन्झटिलो, बहुवर्षीय बाली र उच्च उत्पादकत्व भएको कारण किसानहरु यस व्यवसायप्रति सन्तुष्ट रहेको देखिन्छ। सर्वेक्षणमा सहभागि किसानहरुमध्ये ४२.४ प्रतिशतले ५ रोपनीभन्दा कम क्षेत्रफलमा र २३.६ प्रतिशत किसानले १५ रोपनीभन्दा बढी क्षेत्रफलमा किवी खेती गरेका छन्।
अध्ययनले कोशी प्रदेशमा रहेका करिब ६१ प्रतिशत किवी किसानहरुको व्यावसायीक पुँजीको मुख्य स्रोत आफ्नै पुँजी रहेको तथा किवी खेती व्यवसायमा बैंक–वित्तीय संस्थाको ऋण लगानी २५ प्रतिशत रहेको देखाएको छ। वित्तीय क्षेत्रसँग सम्बन्धित समस्याको रुपमा सोलुखुम्बु र धनकुटामा बैंक वित्तीय संस्थाबाट ऋणको सहज उपलब्धता हुन नसक्नु प्रमुख कारण रहेको देखिएको छ। पाँचथर र इलाम जिल्लामा सहुलियतपूर्ण कर्जाको सहज उपलब्धता हुन नसक्नु प्रमुख समस्याको रुपमा रहको देखिएको छ।
अध्ययनले कोशी प्रदेशमा देखाएको किवी खेतिको सम्भावना
अध्ययनले कोशी प्रदेशका पहाडी जिल्लामा विद्यमान समशितोष्ण न्यानो हावापानी र मलिलो पाँगो माटोको कारण किवी खेती व्यवसायका लागि तुलनात्मक लाभ प्राप्त गर्न सक्ने देखाएको छ। अन्य हिउँदे फलफुलका तुलनामा प्रति हेक्टर उत्पादन बढी रहेको, कम झन्झटिलो, आंशिक श्रमको पूर्तिबाट समेत गर्नसकिने, रोगव्याधिको प्रकोप न्यून रहेको तथा बहुवर्षीय फल भएको हुँदा अन्य बालीलाई प्रतिस्थापन गर्न सकिने र यसलाई बढावा दिन सकिने अध्ययनले देखाएको छ।
कोशी प्रदेशका अधिकांश स्थानहरुमा बैंक वित्तीय संस्था बिमा कम्पनीहरुको सघन उपस्थिति रहेको, सम्पूर्ण जिल्लाका सदरमुकामहरु तराईसँगको सडक सञ्जालसँग जोडिएका कारण किवी खेतीलाई आवश्यक पर्ने पुँजीको सहज आपूर्ति, बाली बिमा, ढुवानी लगायतका अन्य पूर्वाधार खर्चमा कमी आई मूल्यका हिसावले यस क्षेत्रमा उत्पादित किवी प्रतिस्पर्धात्मक हुनसक्ने निष्कर्ष अध्ययनको छ।
गुणस्तरीय मूल्य प्रतिस्पर्धी किवीको उत्पादन गर्नसके भारत, चीन लगायत अन्य मुलुकमा निर्यात गर्नसक्ने प्रशस्त सम्भावना रहनुका अतिरिक्त नेपाल भित्रिने आयातित किवीलाई समेत प्रतिस्थापन गर्नसक्ने प्रशस्त सम्भावना रहेको छ। कोशी प्रदेशमा रहेका औद्योगिक क्षेत्र, औद्योगिक पार्क लगायतमा किवीलाई कच्चा पद्धार्थको रुपमा उपयोग गर्ने जाम, ब्राण्डी, वाइन, जुस, चकलेट आदि उद्योगहरुको विकास र विस्तार हुनसके किवीको दीर्घकालीन बजार सिर्जना भई यस क्षेत्रको किवी उत्पादन बढ्नसक्ने प्रशस्त सम्भावना देखिन्छ।
कोशी प्रदेशका वर्षेनी विदेशिने हजारौं जनशक्तिलाई पुँजी, प्रविधि र सीप उपलब्ध गराई किवी खेती व्यवसायमा संलग्न गराउनसके आकासिँदो व्यापार घाटा कम गर्न सकिन्छ भने स्थानीय स्तरमा रोजगारी सिर्जना हुनसक्ने सम्भावना रहेको अध्ययनले औंल्याएको छ। इलाम बाहेकका अन्य जिल्लामा यो व्यवसाय सुरुवाती अवस्थामै रहेको देखिन्छ भने करिब ५८ प्रतिशत किसानहरु ५÷१० वर्षदेखि व्यवसायिक किवी खेतीमा संलग्न रहेका छन्।