काठमाडौं। अमेरिकाको रेन्टन वाशिंगटन निवासी पासाङ(पिजी) शेर्पा गएको डिसेम्बरदेखि नेपालमा छन्। अमेरिकामा बसोबास गर्दै आएका शेर्पा यो वर्ष जस्तै हरेक वर्ष डिसेम्बरमा नेपाल आएर मार्चसम्म बस्ने गरेका छन्।
उनि यो सिजनमा नेपालमा आउनुको एउटै कारण हो, अमेरिकामा हुने जाडो छल्न। अमेरिकाको उनी बस्ने ठाउँमा जाडो मौसममा अत्याधिक हिमपात हुनेगर्दछ। यसर्थ, उनी जाडो छल्न वर्षौंलेखि यसैगरी नेपाल आउँछन्। नेपालमा रहदा उनी यहाँका हरेक ठाउँमा घुम्न पुग्छन्। ‘अमेरिकामा भन्दा नेपालमा चिसो कम हुने भएकाले हरेक वर्ष जाडो मौसममा नेपाल आउने गरेको छु,’ शेर्पा भन्छन्, ‘आफ्नो ठाउँमा घुमघाम पनि हुने र जाडो पनि छलिने भएकाले यो गन्तव्य मलाई उत्तम लाग्छ।’
शेर्पा जस्तै दक्षिण कोरियामा कामका लागि पुगेका जिबी जिरेल डिसेम्बरको अन्तिम साता नेपाल आएर जनवरीको अन्तिम साता फर्किए। जिरेलको नेपाल आउनुको प्रमुख कारण पनि कोरियामा हुने चिसो छल्नु नै हो। अन्य समयमा पाउने विदालाई सञ्चित गरेर डिसेम्बरदेखि जनवरीसम्मको विदा लिएर केहि साता अघि मात्र कोरियामा फर्किएका जिरेलका अनुसार जाडो मौसममा विदेश भन्दा नेपालको मौसम निकै अनुकुल हुन्छ।
‘नेपालमा हरेक दिन घाम लाग्ने र चिसो कम हुने भएकाले पनि यो सिजनमा नेपाल आउन मन लाग्छ,’ जिरेल सुनाउँछन्। जाडो मौसम अनुकुल लागेर नेपाल आउने शेर्पा र जिरेल एक प्रतिनिधि पात्र मात्रै हुन्। विशेषगरी, योय समयमा नेपालमा घाम ताप्नका लागि ठुलो संख्यामा पर्यटक आउने गरेका छन्।
पछिल्लो समय यस्ता पर्यटकको संख्या झन् बढेर गएको छ। विदेशीहरु आफ्नो मुलुक छोडेर अन्य मुलुकमा घुम्न निस्कने मध्ये केहि प्रतिशत घाम ताप्नकै लागि निस्कने गरेको पर्यटन व्यवसायीहरु बताउछन्। समुद्री सतहमा गएर घण्टौंसम्म घाम तापेर बस्ने गरेका विदेशीहरु पनि हामीले देख्ने गरेका छौं। विदेशीहरु घामलाई बढी नै मान्यता दिने भएकाले उनिहरु परिवारसहित घुम्न निस्कन्छन्।
नेपालमा डिसेम्बर अन्तिमदेखि मार्चसम्मलाई अफ सिजनको रुपमा व्याख्या गरिन्छ। तुलनात्मकरुपमा यी महिनामा विदेशीहरुको आवागमन कम हुन्छ। खासगरी हिउँ पर्ने र चिसो बढी हुने भएकाले पर्वतारोहण र ट्रेकिङका गतिविधिहरु हुँदैन। जसको कारण यो बेला पर्यटकीय गविधिहरु कम हुन्छ। यसले नेपालको होटलको अकुपेन्सी एकतिहाइमा सिमित हुने गरेको छ। होटलको अकुपेन्सी एक तिहाई, पाँच तारेमा १०० डलरको कोठा
यहि बीचमा पछिल्लो समय पर्यटन व्यवसायीहरुले नेपाललाई बाह्रै महिना आउन मिल्ने गन्तव्यको रुपमा विदेशमा प्रचार गरिरहेका छन्। छिमेकी मुलुक भारतसहित धेरै देशमा यो सिजनमा घाम लाग्नै मुस्किल हुने र अत्याधिक चिसो हुने हुन्छ। यसैले नेपालमा घाम ताप्न आउनु भन्ने सन्देश फैलाउन सके पर्यटकको अभाव कहिल्यै नहुने काठमाडौं म्यारियटका सञ्चालक शशिकान्त अग्रवालको बताउछन्।
भारतकै कतिपय प्रान्तमा यो बेला अत्याधिक चिसो हुने भएकाले केही समयका लागि जाडो छल्न नेपाल जाउँ भन्ने सन्देश दिन सके धेरै पर्यटकको संख्या बढ्ने बताउदै यसका लागि निजी क्षेत्रले मात्र नभई सरकारी निकायको विषेश ध्यान पुग्न आवश्यक रहेको उनको भनाइ छ।अहिलेसम्म निजी क्षेत्रले नेपालको प्रचार गरिरहेको बताउदै सरकारी स्वामित्वमा रहेको नेपाल पर्यटन बोर्डले यस्तो विषयमा विषेश चासो राखेर काम गरे नेपालमा अफ सिजन भन्ने नै नहुने उनको भनाइ छ।
कोर्रा टुर एण्ड ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत विजय अमात्यले नेपाल बाह्रै महिना घुम्न मिल्ने विश्वका गन्तव्यहरु मध्येको एक भएको बताउछन्। नेपालमा जाडोमा घाम ताप्ने पर्यटक धेरै ल्याउन सकिने उनले बताए। ‘यो बेला चिसो हुने मुलुकका नागरिकलाई नेपालमा भित्र्याउन सकिन्छ।
‘तुलनात्मकरुपमा कम चिसो हुने भएकाले नेपाल आउन आग्रह गर्न पनि मिल्छ,’ प्रमुख कार्यकारी अधिकृत अमात्यले भने,‘अमेरिका, क्यानाडा, आइसल्याण्ड, नर्वे, स्वीडेन, डेनमार्क, फिनल्याण्ड र भारतमा यो बेला निकै चिसो हुन्छ। यसर्थ, त्यहाँबाट घाम ताप्नका लागि नेपालमा जाउँ भन्ने सन्देश दिन सके धेरै प्रभावकारी हुन्छ।’ निजी क्षेत्रले जाडो मौसममा पनि पर्यटक ल्याउनका केहि पहल गरिरहेको बताउदै अझ सरकारले साथ दिएर काम गरे ठुलो समूहमा पुग्ने उनको भनाइ छ।
‘यो धेरै सम्भावना भएको क्षेत्र हो, निजी क्षेत्रले १०⁄१२ वटा टुर अपरेटरलाई भनेर १०० देखि २०० जना पर्यटक ल्याइरहेको छौं,’ प्रमुख कार्यकारी अधिकृत अमात्यले भने ‘राज्यले नै विशेष चासो देखाएर प्रचार गरे ठुला समुदायमा पुग्न सक्छ र एकै साथ धेरै पर्यटकहरु ल्याउन सकिन्छ।’
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले अफ सिजनमा पर्यटक ल्याउन केही प्रचार भने सुरु गरिएको बताए। जाडो मौसममा घाम ताप्नका लागि नेपाल उत्तम गन्तव्य हो भनेर भारतका केहि शहरमा गरेको प्रचार–प्रसारको प्रभाव देखिन थालेको उनको भनाइ छ। अहिले पूर्वि नेपाल इलाम, धनकुटा र भेडेटार लगाएतका क्षेत्रमा धेरै भारतीय पर्यटकहरु आउन लागेको उनले जानकारी दिए।
पछिल्लो केहि वर्षयता हिलस्टेशन पर्यटनका लागि प्रचार प्रसार गरिरहेको बताउदै भारतबाहेक विदेशका अन्य मुलुकमा पनि घाम ताप्न नेपाल जाउ भन्ने सन्देशसहितको प्रचार गर्न बोर्ड तयार रहेको बताउदै यसमा निजी क्षेत्रसँग पनि आवश्यक सहकार्य गर्ने उनले बताए। ‘अहिलेसम्म घाम ताप्न नेपाल जाउ नै भनेर प्रचार भने गरिएको छैन,’ निर्देशक लामिछानेले भने, ‘अब आउने कार्यक्रममा यो विषयमा पनि छलफल अगाडि बढाउछु।’
बोर्डको तथ्यांक अनुसार सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार १ सय पर्यटक नेपाल आएको देखिन्छ। यो संख्या अघिल्लो वर्ष जनवरीको तुलनामा २४ हजार बढी हो। बोर्डको तथ्यांकअनुसार सबभन्दा धेरै भारतबाट २४ हजार १ सय ३९ पर्यटक यो समयमा नेपाल आएका छन्।