काठमाडौं। धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरुले सेयर बिक्री गरेको रकम रोकेर, माथिल्लो तामाकोशीको सेयर बाँडफाँडपछिको सेयर नपरेको रकम फिर्ता भुक्तानी नगरेर र कतिपय लगानीकर्ताले मौद्रिक नीति देखाएर सेयर बजार प्रभावित बनाउने प्रयास भएको छ।
खासगरि माघ लागेपछि ब्रोकरहरुले सेयर विक्री गरेको रकम भुक्तानीमा आलटाल गरिरहेका छन्। विद्युतीय भुक्तानी प्रणालीमा समस्या आएको भन्दै ब्रोकरहरुले छिट्टै भुक्तानी गर्ने बताउँदै आएका छन्। उता, तामाकोशीको नपरेको सेयरको पैसा फिर्ता भुक्तानी दिने प्रक्रिया अघि बढाएको छ।
सेयर बजार सुचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) पटक पटक बढ्ने कोशिष गरेपनि २२०० माथिको बिन्दु पार गरेर स्थिर हुन सकेको छैन। अघिल्लो साता पनि २२१५ सम्म पुगेको नेप्से घटेर २०८४ सम्म झ¥यो। गत साता सुरुवाती ३ दिन बढेको बजार फेरी २ दिन घटेर साताभर १७ अंकको न्युनता आउँदै विहीबार २०६७ अंकमा आइपुगेको छ। आइतबारदेखी बजार कता जाला भनेर लगानीकर्तामा एक प्रकारको कौतुहलता पाइन्छ।
माघ लागेदेखी नै ब्रोकरहरुले सेयर बिक्री गरेको रकम लगानीकर्ताको बैंक खातामा पठाउन विलम्ब गरिरहेको भनेर सामाजिक सञ्जालमा पनि व्यापक विरोध भइरहेको छ। समयमा पैसा नआउँदा लगानीकर्ताले अर्को सेयर खरिद गर्न सकिरहेका छैनन्। कतिपय लगानीकर्ताले सेयर बिक्री गरेको रकम पाउन ढिला भएको भन्दै नियामक निकायहरुमा गुनासो गरिरहेका छन्। कारोबार भएको दुई दिनभित्र राफसाफ गर्नुपर्ने भएपनि ब्रोकरहरुले विभिन्न बहानाबाजी गर्दै आइरहेका छन्।
स्टक ब्रोकर एसोसिएसन नेपालका पूर्वअध्यक्ष भरत रानाभाट गत साताको नेप्से माथिल्लो तामाकोसीको विक्री नभएको हकप्रद सेयरको ‘ह्याङ्गओभर’को प्रतिफल भएको बताउँछन्। ‘गत साताको सुरुवाती दिनमा माथिल्लो तामाकोसीको पैसा फिर्ता आउने आँकलन गरिएको थियो तर, पैसा फिर्ता आएन,’ रानाभाट भन्छन्, ‘उकालो लाग्नुपर्ने बजार घट्नुमा त्यसको पनि केही हात छ जस्तो लाग्छ किनभने अहिले बजारलाई नकारात्मक प्रभाव बनाउने अन्य कुनै कारण देखिँदैन।’
माथिल्लो तामाकोशीको पैसा फिर्ता गर्ने सुचना आएकाले यो साता सकारात्मक प्रभाव पार्न सक्ने रानाभाटको विश्वास छ।
पछिल्लो समय सेयर बजारलाई प्रभाव पार्ने किसिमका नीतिगत विषयहरु चर्चामा छैनन्। तर, लगानीकर्ताहरु मौद्रिक नीतिको अर्धवार्षिक समिक्षालाई देखाएर बजारमा विभिन्न किसिमका हौवा चलाउन उद्यत छन्।
मौद्रिक समिक्षामा यो आउने र त्यो आउने हल्ला चलाएर बजारलाई आफुअनुकुल बनाउने प्रयासमा लगानीकर्ताहरु देखिन्छन्। यस्ता हल्ला सामाजिक सञ्जालदेखी आ–आफ्ना समुहहरुमार्फत प्रसार गरिरहेका छन्। कतिपयले भने गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यताको प्रश्न उठाएर सञ्चारमाध्यममा आएको विषयहरुलाई बेच्न खोजिरहेको देखिन्छ। यस्ता हल्लाहरुमा लगानीकर्ता सचेत रहनुपर्छ।
लगानीकर्ता छोटेलाल रौनियार अहिलेको बजार घटाइ स्वभाविक र निरन्तरताको करेक्सन भएको ठान्छन्। ‘गत साता स्टकमा देखिएको उतार–चढाव बजारको स्वभाविक प्रक्रिया हो। दुई–तीन दिन बढ्ने र फेरी केही दिन घट्नेक्रम जारी छ,’ रौनियार भन्छन्, ‘बजार अझै २२०० बिन्दु पार गर्ने प्रयासमा देखिन्छ।’
पछिल्लो समय बैंकमा पैसा थुप्रैदै गएको छ। नेपाल राष्ट्र बैंकले पैसा रिपोबाट तानिरहेको छ। बैंकमा भएको पैसा नागरिक र लगानीकर्तासम्म पुग्नुपर्नेमा त्यस्तो हुन सकेको छैन। राष्ट्र बैंक र अर्थ मन्त्रालयले बजारमा पैसा जाने नीति ल्याएर वास्ताविक रुपमा ऋणको ब्याजदर घटेमा मात्रै लगानीको वातावरण बन्छ।
रौनियारकाअनुसार पछिल्लो समय निक्षेपको व्याजदर घटेपनि कर्जाको व्याजदर घटेको छैन। जसले गर्दा बजार माथिल्लो बिन्दुतर्फ सजिलै जान सकिरहेको छैन। ‘बैंकले चालू वर्ष लगानीकर्ताको हात खालि बनाएका छन्। लगानीकर्तालाई मारमा पार्ने, साधारणसभा समयमा नगर्ने प्रवृत्ति सँधैको हो,’ रौनियार भन्छन्, ‘यो वर्ष एकातिर बैंकको सेयरको भाउ घटेर र अर्कोतिर लाभांश नपाएर लगानीकर्ता धेरै मारमा परेका छन्।’
सेयर बजारमा नयाँ नयाँ कम्पनीहरु थपिनेक्रम जारी छ। नयाँ कम्पनी थपिएसँगै बजारको आकार (भोल्युम) बढ्दै जानुपर्छ। तर, बजारमा एकपछि अर्को कम्पनी थपिए पनि बजार सूचक र भोलुम बढ्न सकेको छैन। एउटा परिवेश चलिरहेको बजारलाई चलायमान बनाउन विभिन्न क्षेत्रमा सकारात्मक माहोल आवश्यक पर्छ। त्यसको पहिलो अस्त्र ब्याज दर बन्न सक्छ। ‘अहिले पुरानो ऋण महँगो छ भन्दै ब्याजदर नघटाइ बस्न मिल्दैन।
बैंक नियमअनुसार नचल्ने र केन्द्रीय बैंकले पनि केही नगर्ने हो भने सुधार हुँदैन,’ रौनियार भन्छन्, ‘राम्रो राम्रो कम्पनीको सेयर मूल्य बढेको छैन तर, कमजोर कम्पनीको सर्किट लाग्छ। राष्ट्र बैंक, अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डले बजारमा बदमासी हुन नदिन र अनधिकृत रुपमा खेल्न नपाओस् भन्नका लागि सोहीअनुसारको वातावरण बनाएमा मात्रै बजार स्थिरतातर्फ अघि बढ्छ।’
अहिले सेयर बजारका लागि सकारात्मक माहौल छ। लगानीकर्ताले अझै ब्याजदर घटाउने, सेयर धितोलाई खुकुलो बनाउने नीति खोजेका छन्। सेयर बजारमा १०० अंक तलमाथि हुनु सामान्य भएकाले लगानीकर्ता आत्तिइहाल्नु पर्दैन। बरु लगानीकर्ताले सूचक नहेरी आफ्नो पोर्टफोलियो र राम्रा कम्पनी छनोटमा ध्यान दिनुपर्छ।
सेयर कारोबारीले २÷३ दिन सस्तोमा किन्ने र भाउ बढेपछि बेचिहाल्ने गर्छन्, जसको प्रभाव नेप्सेमा पर्छ। यो व्यापारी हावी भएको बजारको विशेषता हो। लगानीकर्ता बढी भएको भए राम्रो–राम्रो कम्पनीको सेयर मूल्य बढ्नुपर्ने हो तर, त्यस्तो अवस्था देखिँदैन। बजारमा हरेक दिनक कारोबार विश्लेषण गर्ने हो भने पुँजी कम भएका र सिमित व्यक्तिहरुले मूल्य चलाउन सक्ने कम्पनीको कारोबार अधिक भएको पाइन्छ।
पछिल्लो बजार ट्रेड हेर्दा प्रिमियम र बुक बिल्डिङसहितको आइपिओ बजारमा आउन नपाईं त्यसको मूल्यमा सर्किट लाग्छ। तर, बिसौं वर्ष चलेका, पुँजी, सञ्चित कोषलगायतका धेरै सूचकहरु राम्रा भएका बैंक वा अन्य कम्पनीको सेयर प्रतिकित्ता १६०÷१७० रुपैयाँमा पाइने स्थिति छ। यस्तो विषयमा केही समूह र पहुँच राख्नेले प्रभाव पार्ने भएकाले नियामकहरुले सोच्नुपर्ने रौनियारको भनाइ छ।