काठमाडौं। सन् २०२३ मा ओभर–द–काउन्टर र स्टक फ्लोसहित विश्वव्यापी सुनको कुल माग गत वर्ष चार हजार ८९९ टन रहेको छ।
वर्ल्ड गोल्ड काउन्सिलले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२३ मा केन्द्रीय बैंकहरूको माग एक हजार ३७ टन पुगेको छ, जुन इतिहासकै दोस्रो उच्च हो।
विश्वव्यापी सुनजन्य सामान विनिमय व्यापार कोष (ईटीएफ)ले सुन मागमा लगातार वृद्धि भइरहेको अवस्थामा यसको कारोबारमा पनि वृद्धि देखिएको हो।
सन् २०२३ मा सुनको विनिमयमा २४४ टन बढी रेकर्ड भएको उल्लेख छ। यसको विपरीत, चिनियाँ बजारमा गत वर्ष १० टन सुनको ईटीएफको प्रवाह देखिएको थियो, जसले २०२३ को अन्त्यसम्म सुनको ईटीएफको कुल नियन्त्रण ६१.५ टनमा ल्याएको थियो।
सुनको बार र सिक्काको विश्वव्यापी माग वार्षिक रूपमा तीन प्रतिशतले घटेको छ भने गहनाको खपतको माग दुई हजार ९३ टन पुगेको छ। चीनको आर्थिक सुधारले विश्व बजारमा सुनका गहना माग बढाएको छ।
‘चीनको आर्थिक सुधारले सुनका गहना मागलाई बढावा दिएको छ। चीन विश्वव्यापी सुनका गहना बजारका लागि महत्त्वपूर्ण आकर्षण बनेको छ’, रिपोर्टमा भनिएको छ ।
गत वर्ष विश्वमा सुनको आपूर्ति तीन प्रतिशतले बढेको थियो। सन् २०२३ मा सुनखानीको उत्पादन एक प्रतिशतले वृद्धि भई तीन हजार ६४४ टन पुगेको प्रतिवेदनमा उल्लेख छ।–एजेन्सी