नेपाल वायुसेवा निगम (नेवानि) मा ठूलो विमानमा विमान परिचारिका(एयर होस्टेज) भएर सुमिली सुब्बा (ज्वार्चन) धेरै मुलुकमा पुगिन्।
विमानस्थलमा आराम गर्दा होस् या होटलमा। जहाँ बस्दा पनि उनी सम्बन्धित मुलुकको लोकप्रिय कफी ब्रान्ड कस्तो छ र कसरी उत्कृष्ट कफी बनाउँछन् भन्नेमा ध्यान केन्द्रित गर्थिन। र, चासोका साथ कफीको बारेमा जानकारी लिइरहन्थीन्। हस्पिटालिटी क्षेत्रमा सानैदेखि रुची भएकोले आफ्नो कामबाट रिटायर्ड भएपछि भविष्यमा कफी शप खोल्ने योजना भने उनले धेरै पहिलादेखिनै बनाइरहेकी थिइन।
परिवारनै जहाजमा उड्ने भएकोले रिटायर्ड हुनु अघि उनलाई आफ्नो कफी शप खोल्ने कल्पना समेत गर्न सकेकी थिइन। जव, ६ महिना अघि उमेर हदका कारण रिटायर्ड भइन त्यसपछि भने उनले आफ्नो सपनाको व्यवसायलाई अगाडी बढाइन। आफ्नो यात्राको क्रममा देखेको र सुनेका अनुभवहरुलाई यथार्थमा ढाल्नका लागि नेपाली कफी पारखीलाई पनि पिउन दिने मेसो मिलाएकाी छिन्।
झम्सीखेलस्थित अरुण थापा चोकमा सञ्चालनमा रहेको टप अफ द वर्ल्ड कफी सप आउने कफी पारखीलाई विभिन्न देशका भिन्न–भिन्न ब्रान्डका स्वाद चाख्न पाइन्छ। यो कफी सप पुग्ने ग्राहकले रुचिअनुसार विभिन्न देशका ब्रान्डेड कफीको स्वाद लिन पाउँछन्।
०००
मोरङमा जन्मिएकी सुमिलीले उच्च शिक्षा काठमाडौंमा लिइन्। अध्ययनकै क्रममा नेवानिमा जागिर खुलेको सुनेपछि उनी त्यसमा आबद्ध भइन्।
उमेर हदका कारण सुमिलीले नेवानिबाट अवकाश पाएको केही महिना मात्र भएको छ। सारा जीवन अकासमा उडेकी सुमिलीलाई अवकाश उमेर कसरी बिताउने भन्ने पिरलो थियो। अहिले टप अफ द वर्ल्ड कफी सप सञ्चालन गरेपछि उनको त्यो चिन्ता सर्लक्कै हटेको छ।
सन् १९९५ मा एयर होस्टेसका रूपमा नेवानि प्रवेश गरेकी सुमिलीले क्याबिन क्रुको सबैभन्दा माथिल्लो तह सुपरभाइजर (क्याबिन क्रु विभाग प्रमुख) भएर अवकाश लिइन्। करिब २८ वर्ष सरकारी सेवा गरेर बिदा भएकी उनी बाँकी जीवन सेवाक्षेत्रमै बिताउने निधो गरेर कफी सपतिर लागिन्।
एयर होस्टेस पेसा हवाई यात्रु सेवामा पर्छ। जहाजका यात्रुको सेवा गरेर बिदा भएकी सुमिली कफी सपमार्फत पुनः सेवाक्षेत्रमै क्रियाशील छिन्। जहाजमा काम गर्दागर्दा ग्राहकलाई कसरी सेवा दिने र सन्तुष्ट बनाएर पठाउने भन्ने विषयमा धेरै ज्ञान बटुलेकी उनले कफी सप सञ्चालन अनुभव भने पहिलोपल्ट लिइरहेकी छन्।
‘ठाउँ फरक भए पनि काम उस्तै हो,’ आफ्नै कफी सपको एउटा टेबुलमा कुराकानी गर्दै सुमिलीले भनिन्, ‘जहाजमा यात्रुको सेवा गरिन्थ्यो, यहाँ ग्राहकको सेवा गरिरहेकी छु।’ उमेर हदका कारण नेवानिबाट बिदा भए पनि आफूलाई सधैं क्रियाशील बनाइराख्न कफी सप सञ्चालन गरेको उनी बताउँछिन्।
जागिर खानु र आफ्नो काम गर्नुमा धेरै फरक रहेको उनको अनुभव छ। व्यापार गर्दा पैसा मात्र कमाउने नभई रोजगारी सिर्जना गरेर केहीलाई आत्मनिर्भर बनाउने उद्देश्य रहेको सुमिली सुनाउँछिन्।
०००
रेस्टुरेन्टबाट व्यावसायिक उडान
रेस्टुरेन्ट सेवामूलक क्षेत्र भएकाले अवकाशपछि सुमिलीको पहिलो रोजाइ कफी सप नै प¥यो। वर्षौंदेखि एक जना विदेशीले सञ्चालन गरिरहेको उक्त कफी सप खरिद गरेर उनले चलाउन थालेकी हुन्। सुमिली कफी सपलाई विशेषगरी ब्रेक फास्ट खानेका लागि उत्तम गन्तव्यमा विस्तार गर्न खोजिरहेकी छन्, उनले। उनको अनुभवका आधारमा पनि अन्य व्यवसायभन्दा रेस्टुरेन्ट नै उत्तम हुने सोचसाथ काम अगाडि बढाइरहेकी छन्।
रेस्टुरेन्टमा विभिन्न परिकारका स्वाद लिने मात्र होइन, कफी पारखीसमेत लोभिने गर्छन्। सुमिलीको टप अफ द वल्र्ड कफीमा सबैभन्दा बढी रुचाइएको कफी फ्लेभर भने ह्याजलनट हो। योसँगै विदेशबाट ल्याइएका विभिन्न स्वादका कफीको स्वाद पनि लिन पाइन्छ।
नेपालीसँगै इटालियन फ्लेभरका खाजा र परिकार खान पाइन्छ। यस्तै, स्थानीय परिकार (अर्गानिक) खालका पनि पाइन्छ। मःमः, किमा नुडल्स, स्न्याक्स, एभोकाडो फुड सलाद धेरै मन पराउने परिकारमध्ये हो। नेपालका लागि एभोकाडो सिजन फल भए पनि उनको रेस्टुरेन्टमा सदावहार पाइन्छ।
०००
परिवारका तीनै जना उडानमा
संयोग नै मान्नुपर्छ, सुमिलीको परिवारै नेवानिमा जागिरे हुन्। सुमिली, एयर होस्टेस, श्रीमान् यामप्रसाद ज्वार्चन नेवानिकै वाइडबडी जहाजका क्याप्टेन र छोरा दीपु पनि क्याप्टेन हुन्। एकै परिवारका तीनै जना एउटै संस्थामा त्यो पनि नेवानिमा हुनु शौभाग्य नै भन्नुपर्छ। जहाजमा काम गर्दाकै क्रममा चिनजानबाट यामसँग विवाह गरेकी सुमिलीका एक मात्र सन्तान क्याप्टेन दीपु हुन्।
आफूहरु दिनहुँ अकासमा उडिरहनुपर्ने र परिवारमा धेरै समय बिताउन नपाइने भएकाले सुमिली दम्पतीलाई छोरा डाक्टर बनोस् भन्ने चाहना थियो। तर, दीपु आफ्ना बाआमाले अँगालेको पेसालाई नै आत्मसात् गर्ने अठोट राखेर अगाडि बढे र क्याप्टेन बने। अहिले दीपु न्यारोबडी जहाजका वरिष्ठ क्याप्टेन हुन्। उनी नेवानिका निमित्त महाप्रबन्धकसमेत भइसकेका छन्।