काठमाडौं। कोइला अभावका कारण हेटौंडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि बन्द छ। सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कोइला अभाव भएकाले उत्पादन हुन नसकेको उद्योग प्रशासनले जनाएको छ।
सिमेन्ट उत्पादन नभएपछि प्राविधिक तथा प्रशासनिक कर्मचारी र श्रमिक कामविहीन भएका छन्। चार आर्थिक वर्षदेखि निरन्तर घाटामा रहेको उक्त उद्योगबाट सिमेन्ट उत्पादन नहुँदा थप आर्थिक समस्या बढ्दै गएको उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले बताए।रकम अभावले कोइलासमेत खरिद गर्न समस्या भइरहेको उनको भनाइ थियो।
रकम अभाव भएपछि अवकाशप्राप्त कर्मचारीले पाउने सेवासुविधासहितको उपदान नपाएको गुनासो आइरहेको छ। उक्त उपदान नपाउने कर्मचारीको संख्या १५ रहेको उद्योग प्रशासनले जनाएको छ।
दैनिक सात ७५० मेट्रिक टन सिमेन्ट उत्पादन हुनुपर्ने सो उद्योगबाट असोजदेखि उत्पादन शून्य भएको छ। हाल विगतमा उत्पादित मौज्दात सिमेन्ट विक्री वितरण भइरहेको छ। उद्योग प्रशासनका अनुसार चालू आर्थिक वर्षको हालसम्म २ लाख ४९ हजार ४५६ बोरा सिमेन्ट बिक्री भइसकेको छ।
उद्योगका महाप्रबन्धक पाण्डेले उद्योग सञ्चालनसँगै निरन्तर रूपमा सिमेन्ट उत्पादनका लागि कोइला खरिद प्रक्रिया सुरु गरिएको बताए। कोइला आपूर्ति हुनासाथ काम अगाडि बढाइने उनले जानकारी दिए। उद्योगले एकपटक बोलपत्र आह्वान गर्दा १३ हजार टन कोइला आपूर्ति हुने गरेको छ।
आव ७६/७७ देखि ७८/७९ सम्म उद्योगलाई ६५ करोड ४७ लाख १६ हजार सात सय ८२ नोक्सान भएको थियो। गत आवमा मात्र २३ करोड ५५ लाख नोक्सान भएको थियो।
उद्योग सञ्चालनको माग गर्दै अखिल नेपाल मजदुर संघले आन्दोलन गरिरहेको छ। उद्योगमा हाल ज्यालादारी तथा स्थायी गरी करिब ३ सय कर्मचारी कार्यरत छन्। हेटौंडामा निजी क्षेत्रबाट सञ्चालित शिवम् र ऋद्धिसिद्धि सिमेन्ट उद्योग भने चलिरहेका छन्।–रासस