काठमाडौं। ‘मे आई कम इन सर’।
अनुप बरालले एक दिन सिप्रदीका सिइओ शम्भुप्रसाद दाहालको क्याबिनमा पुगेर अनुमति मागे।
‘ए अनुप आऊ–आऊ। कति कामले आयौ?’ दाहालले प्रश्न गरे।
‘सर मैले सिप्रदीबाट बिदा हुने सोच बनाएँ। आफ्नै केही व्यवसाय गर्ने सोच बनाएको छु,’ अनुपले जवाफ दिए।
‘कुरा त ठीकै हो तर के गर्ने भयौ,’ शम्भुले फेरि प्रश्न गरे।
‘पानीको व्यापार गर्ने सोच बनाएको छु सर,’ अनुपले उत्तर दिए।
‘ए राम्रै हो। सिप्रदीको यस्तो चमकधमकको काम छाडेर पानी बेच्दै हिँड्छौं,’ दाहालले भने, ‘तिमीजत्तिको मान्छेलाई हामीले छाड्नुहुन्न। अहिले चेयरम्यान अमेरिका हुनुहुन्छ। म कुरा गर्छु। तिमी काठमाडौंको डिलर भएर काम गर।’
यति भनेपछि अनुपलाई के चाहियो। उनले पनि आँटिहाले। उनले बालकुमारीमा सर्भिस सेन्टर र महाराजगञ्जमा सोरुम बनाए। शम्भु दाहालले दिएको त्यो आँटले अनुप अहिले सफल उद्यमी बनेका छन्।
हाल अनुपको सुजुकी गाडी सोरुम, सुजुकी सर्भिस सेन्टर, टिभिएस सोरुम, सिएट टायरलगायत अटोमोबाइल केन्द्रित व्यवसाय छ।त्यस्तै, उनको केही हिस्सेदारीमा चितवनमा होटल बन्दै छ। उनले मिडियामा पनि लगानी गरेका छन्।
त्यसैगरी उनले अर्थतन्त्रको अवस्था हेरेर अन्य केही व्यवसाय गर्ने सोच बनाइरहेका छन्। उनको अटोमोबाइल व्यवसायमा मात्रै ५२ जनाले रोजगारी पाइरहेका छन्।
ललितपुरमा जन्मिएका उनी बुबाको चितवनमा सरकारी विद्यालयमा जागिर भएपछि सानैमा बुबा आमासँगै चितवन गए। उनको हुर्काइबढाइ र पढाइ चितवनमै भयो। एसएलसीपछि उनले आइकम, बीकम भरतपुरकै बालकुमारी क्याम्पसबाट गरे।
उनका बुबा विभिन्न विद्यालयका प्रधानाध्यापक र विभिन्न जिल्लामा जिल्ला शिक्षा अधिकारी भएका कारण पनि परिवारमा पहिल्यैदेखि शिक्षाका चेत थियो। त्यसकारण पनि अनुपका लागि पढाइ पहिलो रोजाइ बन्यो। उनी हाल पनि आमसञ्चार तथा पत्रकारितामा पिएचडी गर्दै छन्।
उनका बुबाले अवकाशपछि चितवनमै निजी स्कुल सञ्चालनमा ल्याएका थिए। अनुपले कलेज पढ्दै गर्दा त्यही स्कुलमा पढाउन सुरु गरे। स्थापनाकालमा ५ कक्षाबाट सुरु भएको त्यो स्कुललाई प्रत्यक वर्ष एउटा कक्षाको दरले बढाउँदै लगेका थिए। पहिलो ब्याज एसएलसी सकिएपछि त्यो स्कुल अरुलाई नै जिम्मा लगाए।
‘बुबाको स्वास्थ्यमा समस्या देखिन थाल्यो। मलाई पनि मास्टरी पेसा खासै जम्दैन जस्तो लागेरै होला, बुबाले त्यो स्कुलमा प्रत्यक्ष रुपमा नजोडिने निर्णय गर्नुभयो,’ उनले भने। बुबा बेलाबेला उपचारका लागि काठमाडौं आइरहनुपर्ने भएकाले २०५७ मा पूरै परिवार काठमाडौं बसाइँ सर्यो। त्यो बेलासम्म अनुपको विवाह पनि भइसकेको थियो।
काठमाडौं आएपछि अनुपलाई थप चुनौती थपिए। श्रीमती र तीन वर्षीय छोरासमेत काठमाडौं बस्ने गरी ल्याउँदा उनलाई आर्थिक चुनौतीले छोप्यो। काठमाडौं आएपछि उनले इभेन्ट म्यानेजमेन्ट कम्पनीमा मासिक ३ हजारको जागिर पाए। जागिर गरे पनि उनले आफ्नो बायोडाटा धेरै अफिसमा छाड्ने गरेका थिए।
‘म ब्यागमा बायोडाटाको बन्डलै बोकेर हिँड्थे। कुनै राम्रो अफिस देख्नेबित्तिकै त्यहाँ छिरेर मान्छे चाहिए मलाई सम्झनुहोला भनेर बायोडाटा छाडेर आउँथे। यो क्रममा म तिनकुनेदेखि बानेश्वर, बत्तीसपुतली, बागबजार, पुतलीसडक, कलंकी, कुपन्डोल जाउलाखेल, लगनखेल, टेकु, कालीमाटी, महाराजगञ्जलगायत काठमाडौंका सबैजसो स्थानका अफिसमा आफ्नो बायोडाटा छाडें। त्यो बेलामा मैले करिब ४ सय ठाउँमा आफ्नो बायोडाटा छाडेको रहेछु,’ उनले भने।
एक दिन अनुपलाई घरबेटीको ल्यान्डलाइनमा कुपन्डोलबाट एक अपरिचित मान्छेको फोन आयो। ‘तपाईंले यहाँ बायोडाटा छाड्नुभएको रहेछ। यहाँ होइन, सिप्रदी टाटा कम्पनीमा मान्छे मागेको रहेछ। सेल्समा इन्ट्रेस्ट छ भने जानू भए हुन्छ,’ फोनमार्फत ती व्यक्तिले भने।
अनुपलाई उनले सिप्रदीको नम्बर दिए। अनुपले टाटा भन्ने सुनेका त थिए तर सिप्रदी भन्ने थाहै थिएन। उनले सिप्रदीमा सम्पर्क गरे र बायोडाटा च्यापेर त्यता हानिए।
उनलाई सिप्रदीले अन्तर्वार्तामा बोलाए पनिसजिलै प्रवेश पाएनन्। उनको पटक–पटक गरी ४ वटा डिपार्टमेन्टमा ६ पल्ट त अन्तर्वार्ता नै भयो। त्यसपछि बल्ल उनले सिप्रदीको सेल्स असिस्टेन्टमा मासिक ५ हजार २ सयको जागिर पाए। सिप्रदीमा जागिर पक्का भएपछि इभेन्ट कम्पनीमा जागिर छाड्न भनेर गए।
‘जागिर छाड्न जाँदा त्यो कम्पनीमा तलब ५ हजार बनाइदिन्छु भने पनि मैले मानिनँ। मैले तपाईंहरुलाई ५ हजार तलब माग्दा ३ हजार मात्र दिनुभयो। त्यसकारण मैले नयाँ जागिर खोजेको हो। अतः म उतै जान्छु,’ उनले भने।
त्यसपछि मोटरसाइकल मात्र चलाउन जान्ने अनुपको गाडी बेच्ने यात्रा सुरु भयो। सिप्रदीमा उनले धेरै कुरा सिक्ने अवसर पाए। ‘मैले सिप्रदीमा बिजनेस कल्चर, बिजनेस प्लान, काम गर्ने सिस्टम, अनुशासन, कस्टमर भ्यालु, ठूला मान्छेसँगको संगतलगायत धेरै कुरा सिक्न पाएँ। त्यो सिकाइले मलाई अहिलेसम्म सहयोग गरिरहेको छ,’ उनले भने।
उनी सिप्रदीमा जोडिँदा टाटाका प्यासेन्जर गाडी आइसकेका थिएनन्। सुरुमा उनलाई सिप्रदीले गाडीबारे तालिम दियो। उनी सन् २००० को अगस्तमा सिप्रदीमा जोडिए। अक्टोबरमा टाटाको पहिलो प्यासेन्जर गाडी ‘टाटा इन्डिका’ नेपाल आइपुग्यो।
नीलो रङको डिजेल इन्जिनका ४ वटा गाडी आएको सम्झना उनको मानसपटलमा अझै ताजै छ। ‘४ वटा भेरियन्टका गाडी आएका थिए। त्यसको मूल्य त्यतिबेला ७ लाख ९७ हजारदेखि १० लाख ५७ हजारसम्म थियो,’ उनले भने।
अचम्म भइदियो के भने नेपालमा टाटाको कार बेच्ने पहिलो व्यक्ति अनुप नै बने। उनले पहिलो गाडी डा. हर्षरत्न शाक्यलाई बेचेका थिए। सिप्रदीमा काम गरेको ८ महिनामा उनले आउट स्ट्यान्डिङ अवार्ड पाए। त्यो बेलाको कम्पनीले दिएको चिठी अझै उनीसँग सुरक्षित छ। अवार्डसँगै उनले ३ महिनाको तलब बराबर नगद पुरस्कार पनि पाए।
‘त्यो बेलाको १५ हजार भनेको मलाई त डेढ लाख पाएसरह भएको थियो,’ उनले विगत कोट्याए। अनुपले सिप्रदीमा सिद्धार्थ राणाको नेतृत्वमा सौर्य राणा र शम्भु दाहाललगायतबाट धेरै कुरा सिक्ने अवसर पाए। उनले विस्तारै चितवन, हेटौंडा, वीरगञ्जलगायत जिम्मेवारी सम्हाले। यो क्रममा उनले धेरै यात्रा गरे।
त्यसपछि अर्को वर्ष सेल्स अफिसर, त्यसको अर्को वर्ष असिस्टेन्ट सेल्स म्यानेजर र २००५ देखि हेड अफ प्यासेन्जर कार युनिटको जिम्मेवारी नै पाए। सिप्रदीमा काम गर्दै गर्दा फुर्सद समय उनले रेडियो र टेलिभिजनमा कार्यक्रम चलाउने र पढाउने काम पनि गर्थे।
प्यासेन्जर कार बेच्न थालेपछि सिप्रदीले देशका विभिन्न ठाउँमा डिस्ट्रब्युसन च्यानल बनाउँदै थियो। डिस्ट्रब्युसन च्यानल बनाउँदाको अनुभव अनुपले राम्रोसँग लिन पाए। जागिर छाडेपछि २०१० मा शम्भु थापाले दिएको अवसरको उनले राम्रोसँग सदुपयोग गर्न सके। उनले डिलरको रुपमा धेरै गाडी बेचे। जागिरेबाट उद्यमी बने।
तर, उनलाई फेरि अर्को समस्या पर्यो। सन् २०१२ तिर सरकारले सडक फराकिलो बनाउन थाल्यो। त्यही क्रममा उनको सोरुम पनि भत्काइयो। त्यही बेला बालकुमारीको सर्भिस सेन्टर पनि रिङरोड चक्रपथले भत्कायो। त्यो घटनाले उनलाई आर्थिक रुपमा ठूलो धक्का लाग्यो।
सुरुमा ४ महिनामा बनाएको सोरुम पुनर्निर्माण गर्न उनलाई पौने २ वर्ष पूरा लाग्यो। तर, गाडी बेच्न भने कम गरेनन्। उनले नक्सालमा पनि अर्को सोरुम ठड्याइसकेका थिए। सोरुम बनाइसकेपछि १ वर्ष जति राम्रै संख्यामा गाडी बेचे। तर, ७२ भूकम्पले दुवै सोरुमलाई भत्काइदिएर जीर्ण बनायो। त्यसपछि उनले जीवनकै सबभन्दा ठूलो आर्थिक संकट झेले।
उनले दुवै सोरुम छाड्नुपर्यो। त्यसपछि पनि उनले हिम्मत हारेनन्। ३÷४ जना स्टाफ मात्र राखेर कमलादीमा एउटा कर्पोरेट अफिस बनाए। त्यहीँबाट सम्पर्कको भरमा गाडी बेच्न थाले। त्यसपछि अनुप फेरि नाकाबन्दीको मारमा परे। केही आन्तरिक अड्चनका कारण सिप्रदीबाट अलग्गिए।
२०१६ बाट बालकुमारीमा सोरुम बनाएर सुजुकी गाडी बेच्न थाले। हाल पनि उनी सुजुकी गाडी बिक्रीकै पेसामा छन्। अनुपले बैंकमा तरलता अभाव, आयात प्रतिबन्ध, कोभिडलगायत समस्या भोगे। ‘व्यापारीले सधैं स्ट्रगलै गर्ने हो। असफलताका अनुभव मसँग धेरै छन्,’ उनले भने। पछिल्लो २ वर्षदेखि उनलाई व्यापारमा छोराले पनि सघाइरहेछन्।
जागिर र व्यापार दुवैको अनुभव लिएका अनुप जागिरलाई सिक्ने थलो र व्यापारलाई लक्ष्य ठान्न्छन्।‘जागिर भनेको करियअरको पहिलो धरातल हो। घरमा जसरी व्यावसायिक कुरा सिकिन्छ, जागिर व्यापारको नीति, सम्बन्धको नीति सिक्ने ठाउँ हो। त्यो जीवनको नयाँ विश्वविद्यालय हो,’ उनले भने, ‘व्यापार भनेको एम्बिसन हो, लक्ष्य हो।’