काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सांसद विनोद चौधरीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बाँसबारी छालाजुत्ता जग्गा प्रकरणका विषयमा आफ्ना भाइ अरुण चौधरीलाई पक्राउ गरेकामा आपत्ति जनाउँदै यस्ता घटनाले दुःखी तुल्याए पनि आफ्नो आत्मबल भने कमजोर नबनाएको बताएका छन्।
शुक्रबार दिउँसो कांग्रेस संसदीय दलको बैठकमा भावुक रूपमा प्रस्तुत भएका चौधरीले संघर्षका बाबजुद आफूले आफ्नो देश र माटोप्रतिको धर्म नबिर्सने र झन् सशक्त भएर आर्थिक रुपान्तरणमार्फत नेपालको विकासमा लागिरहने सुनाए।
‘यो घटनापछि मलाई देश र विदेशका धेरै साथीभाइ तथा इस्टमित्रले किन यो देशमा अपहेलित भएर बसेका छौ भन्नेसम्मका प्रश्न गरे,’ चौधरीले भने, ‘म एकदम भावुक भएँ। म यस्ता समस्याबाट विचलित हुने भए उहिले नै अरु कुनै देशलाई आफ्नो कर्मभूमि बनाउँथें। म विचलित कहिले भइनँ, हुँदिनँ र हुने पनि छैन।’
एउटा व्यावसायिक घराना, जसले हरेक वर्ष सरकारलाई १६ अर्ब बढी कर तिर्छ, हजारौं नेपालीलाई रोजगारी दिएको छ, मानव सेवामा अग्रस्थानमा छ र नेपाललाई संसारमा चिनाउन ठूलो भूमिका खेलेको छ। त्यस घरानाको प्रतिनिधित्व गर्ने व्यक्तिलाई लक्षित गरेर उसको अस्तित्व मेटाउन खोज्नु कदापि ठीक नभएको चौधरीले बताए। ‘म राजनीति चाहिने मान्छे हैन र राजनीतिमा आउनु मेरो बाध्यता पनि हैन।
‘कतिले त मलाई सोध्छन्, तिमीलाई के चीजको कमी छ, किन तिमी नवलपरासीको जंगल अनि पहाडको विकासका निम्ति लडिरहेको छौ,’ उनले भने।
‘मेरो राजनीतिको एकमात्र उद्देश्य नै आर्थिक विकासमार्फत देशको रुपान्तरणमा सहयोग गर्नु मात्र हो,’ उनले भने, ‘मैले देखेको विकासको लक्ष्य प्राप्ति नहुन्जेल, आफूले सिकेका सिप, ज्ञान आफ्नै माटोमा प्रयोग गरिरहन्छु र यसक्रममा आइपर्ने यस्ता घटनासँग लडिरहन्छु।’
चौधरीले आगामी दिनमा पनि आफ्नो व्यावसायिक संस्था, यसका प्रतिनिधि र आफू देशको आर्थिक विकास, रोजगारी सृजना र सामाजिक दायित्वप्रति प्रतिबद्ध रहेको जानकारी गराए। तर, एक प्रतिष्ठित उद्यमी एवं व्यावसायिक घरानाप्रति नियोजित रुपमा राज्यसंयन्त्र नै लाग्नु दुर्भाग्यपूर्ण रहेको उनले बताए।