काठमाडौं। क्यापिटलनेपालले आजदेखि साताभरका मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर क्यापिटल बिजनेस साप्ताहिक बुलेटिन,साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ सुरु गरेको छ। यस्ता छन्, संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचार।
१. सिजी होल्डिंग्सका अध्यक्ष अरुण चौधरी पक्राउ परेका छन्। बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा व्यक्तिको नाममा ल्याएको प्रकरणमा प्रहरीले पक्राउ गरेको हो। बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिनाको विषयबारे जानकारी लिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चौधरीलाई पक्राउ गरेको हो। निजी स्वामित्वमा लगिएको सरकारी जग्गा सिजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ।
२. भाटभटेनीले नक्कली भ्याट बिल बनाएर कर छलेको अभियोगमा सरकालाई २ अर्ब बढी जरिवमना तिनुपर्ने भएको छ। सर्वोच्च अदालतले वर्षौं पुरानो कर छलीको मुद्दामा अन्तिम फैसला सुनाउँदै अगाडिको फैसलालाई सदर गरेपछि भाटभटेनीले सो जरिमाना र ब्याज तिर्नुपर्ने भएको हो।
३. यती एयरलाइन्सले २ वटा एटिआर ७२–५०० विमान थपेको छ। एयरलाइन्सले ७२ सिट क्षमताको २ वटै विमान बंगलादेशबाट खरिद गरी ल्याएको हो। विमान थप गरेसँगै यतीसँग एटिआर ७२–५०० वायुयानको संख्या ७ पुगेको छ।
४. वरिष्ठ अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डेले लाजिम्पाटमा बुटिक होटलसहितको अनमीव हेल्थ र अनमीव अस्पताल सञ्चालनमा ल्याएका छन्। उनले नेपालमै पहिलो पटक पाँचतारे सुविधासहितको बुटिक होटलसँगै अर्थोपेडिक अस्पताल सञ्चालनमा ल्याएका हुन्। करिब साढे ४ रोपनी क्षेत्रफलमा फैलिएको अस्पतालमा जग्गाबाहेक करिब ३५ करोड रुपैयाँ ऋण लगानी भएको छ।
५. सरकारले लामो समयदेखि बन्द रहेका उद्योग खोल्ने तयारी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले लामो समयदेखि बन्द रहेका विराटनगर जुट मिल, हेटौंडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखानालगायतका उद्योग सञ्चालन गर्ने निर्णय भएको जनाएका छन्। लामो समयदेखि बन्द रहेका उद्योगमध्ये केही नेपाली सेनालाई सञ्चालन गर्न दिने तयारी रहेको छ भने कतिपय उद्योग निजी÷सार्वजनिक साझेदारी मोडलबाट सञ्चालन गर्ने तयारी सरकारले गरेको छ।
६. एनसेल सेयर खरिद–बिक्री प्रकरण अध्ययन गर्न बनेको उच्चस्तरीय छानबिन समितिले यथास्थितिमा एनसेलको सेयर खरिद–बिक्रीलाई अनुमति दिन नमिल्ले बताएको छ। पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा गठित समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाउँदै यस विषयमा थप अध्ययन आवश्यक भएको निष्कर्ष निकालेको हो।
७. प्रदूषण परीक्षण गराउँदा सरकारी र संस्थानका १० गाडीमध्ये ७ फेल हुने गरेको पाइएको छ। सवारी परीक्षण कार्यालय काठमाडौंका अनुसार प्रदूषण परीक्षणमा आउने सरकारी र संस्थानका १० सवारीसाधनमध्ये औसतमा ७ वटा फेल हुने गरेको पाइएको हो।
८. काठमाडौंमा लग्जरियस बुटिक होटल वर्णवास सञ्चालनमा आएको छ। १ अर्ब ३१ करोड रुपैयाँ लागतमा निर्मित यस होटल साढे नौ तलाको छ। होटलमा कुल ४८ वटा कोठा छन्। यीमध्ये ६ वटा प्रेसिडेन्टल स्विट,१८ वटा स्विट र बाँकि डिलक्स रुम छन्। यहाँ कोठाका लागि न्युनतम २५० अमेरिकी डलर(हालको मुल्यमा करिब ३४ हजार रुपैयाँ) पर्छ। बढीमा प्रेसिडेन्टल स्विटका लागि १७ सय डलर(करिब २ लाख २७ हजार रुपैयाँ तिर्नुपर्नेछ।
९. नारायणगढ–मुग्लिन सडक खण्डमा पुल निर्माणका लागि भित्ता काट्ने काम नसकिएपछि थप तीन साता बन्द गरिने भएको छ। गत पुस ७ देखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरेर काम गर्ने भनिए पनि काम नसकिएपछि तेस्रो पटक म्याद थप गरिएको हो। म्याद सकिएसँगै अन्तिम पटकका लागि भनेर फागुन १२ गतेसम्म २१ दिनका लागि चट्टान पहाड फोर्न म्याद थप भएको हो।
१०. सरकारले चालु आर्थिक वर्ष २०८०/८१ का लागि घोषणा गरेको ‘स्टार्टअप’ उद्यम कर्जाका लागि प्रस्ताव आह्वान गरेको छ। यस वर्ष सरकारले स्टार्टअप कर्जाका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको छ। सरकारले ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म स्टार्टअप कर्जा दिने तयारी गरेको छ। स्टार्टअप कर्जाका लागि २१ दिनभित्र प्रस्ताव पेस गर्नुपर्नेछ।
११. ट्रान्सपरेन्सी इन्टरनेसनलले विश्वका १८० देशलाई समेटेर तयार पारेको भ्रष्टाचार हुने मुलुकको सूचीमा नेपाल १०८औं स्थानमा परेको छ। नेपालले १०० नम्बरमा ३४ ल्याएर गत वर्षभन्दा यो वर्ष दुई स्थान तल झरेको छ। गत वर्ष नेपाल ३५ अंक पाएर ११०औं स्थानमा थियो।
१२. सरकारले काठमाडौं, पोखरा, भैरहवा र पूर्ण क्षमताको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सर्तसहित सार्वजनिक÷निजी साझेदारी (पिपिपि) मोडलमा सञ्चालन गर्नेबारे अध्ययन समिति गठन गरेको छ। विमानस्थल अध्ययनका लागि पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा ५ सदस्य समिति गठन गरिएको छ।
१३. विश्वकै उत्कृष्ट होटलको सूचीमा शिन्तामिण मुस्ताङ रिसोर्ट परेको छ। नेसनल जोग्राफिकले विश्वका उत्कृष्ट र मन परेका होटलको सूचीमा राखेको शिन्तामणि एसियाको पहिलो नम्बरमा परेको हो। जोमसोममा रहेको यस होटलमा २९ कोठा छन् भने बस्नलाई न्यूनतम ५ दिनको बुकिङ गर्नुपर्छ।
१४. नेपाल बिमा प्राधिकरणले पुनर्बिमा कम्पनीको न्यूनतम चुक्तापुँजी २० अर्ब पुर्याउने निर्णय गरेको छ। प्राधिकरणको गत बुधबार बसेको सञ्चालक समितिको बैठकले पुनर्बिमा कम्पनीको चुक्तापुँजी सिमा बढाएर २० अर्ब पुर्याउने निर्णय गरेको हो। प्राधिकरणका अनुसार एक वर्षभित्र उक्त पुँजी कायम गर्नुपर्नेछ भने १५ दिनभित्र योजना पेस गर्नुपर्नेछ। यसअघि पुनर्बिमा कम्पनीको चुक्तापुँजी १० अर्ब रुपैयाँ तोकिएको थियो।
१५. भारत सरकारले नेपाललाई दिने अनुदानमा वृद्धि गरेको छ। गत आर्थिक वर्षमा भारतले नेपाललाई ५ अर्ब ५० करोड अनुदान विनियोजन गरेको थियो। अब १ अर्ब बढेर ६ अर्ब ५० करोड भएको छ।
१६. सरकारले नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैंठकले राईसहित नरदेवी आयुर्वेद चिकित्सालयको सदस्य पदमा लेखनाथ लामा र डा. साहारा श्रेष्ठलाई नियुक्त गरेको छ। राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा रौतहटका उमाशंकर प्रसादलाई नियुक्त गरेको छ।