काठमाडौं। बेलुन नेपालले हट एयर बेलुनमा यात्रुलाई जमिनको सतहबाट ९ हजार फिटसम्म उडाउने अनुमति पाएको छ। यसअघि ३ हजार फिट माथिसम्म मात्रै उडान गर्दै आएको हट एयर बेलुनले थप उचाइ लिएपछि अन्नपूर्ण हिमशृंखला, पोखरा आसपासको दृश्य र समयअनुसार सूर्योदय तथा सूर्यास्त झनै राम्रो देख्न सकिने संस्थाका अध्यक्ष विक्रम वाडे बताउँछन्।
पोखराको लौरुकदेखि चंखपुर क्षेत्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल टावर फ्रिक्वेन्सी निरन्तर मनिटरिङ गर्ने गरी मन्त्रीस्तरीय निर्णयअनुसार उडान अनुमति दिइएको पर्यटन मन्त्रालयका एटिसी अधिकृत मुकेशले डंगोलले बताए। उडान स्थलको प्राविधिक जाँच र हाल उडानमा रहेको बेलुन उत्पादक कम्पनीको फ्लाइट म्यानुअलसमेतको अध्ययनपछि अनुमति प्राप्त भएको अध्यक्ष वाडेले जानकारी दिए।
तातो हावाले भरिएको बेलुनमा बसेर हावामा कावा खाँदै मनोरम दृश्यावलोकन गरिने साहसिक खेल हो, हट एयर बेलुन। नेपालमा पोखरामा मात्रै सञ्चालित हट एयर बेलुन साहसिक पर्यटन पारखीको आकर्षण बनेको छ। बेलुन आकारमा देखिने यसको ‘इनेभेलप’भित्र पंखाले हावा भरिन्छ। बेलुन आकारमा आइसकेपछि ग्यासबाट आगो बालेर उक्त हावालाई तताइन्छ।
तातो हावाले बेलुनको उचाइ लिन्छ र हावाको गति नियन्त्रण गर्दै पाइलटले उडान गर्छन्। २१ मिटर अग्लो बेलुनको तल्लो भागमा ३२ वर्गमिटरको बास्केट जडित छ। बास्केटमा आठ जनाले एकैपटक यात्रा गर्न सक्छन् ।
सूर्योदय मन पर्नेले बिहानको उडान रोज्न सक्छन् भने सूर्यास्त मन पराउनेले साँझको। दिउँसोको समय हावाको गति बढी हुने भएकाले बिहान र साँझतिरको समय हट एयर बेलुनका लागि उपयुक्त मानिन्छ।
उचाइको उडान हुने भएकाले पन्जा र टोपीसहित न्यानो कपडा लगाउनु राम्रो हुन्छ। हिल भएको जुत्ताचप्पलभन्दा स्पोर्ट्स जुत्ता लगाउनु उत्तम हुन्छ।
टाढा देखिएका दृश्य नजिकै हेर्न मन लागे दूरबिन लैजान सकिन्छ। क्यामेरा÷मोबाइलबाट फोटो खिच्दा तल नझरोस् भनेर सावधानी अपनाउनुपर्छ। सीमित उडान हुने भएकाले पहिले नै बुकिङ गरेर जाँदा राम्रो हुन्छ।
आधा घन्टा उडानको नेपाली पर्यटकले आधा घन्टा उडानको ९ हजार ५०० सय रुपैयाँ प्रतिव्यक्ति तिर्नुपर्छ। ३ देखि ९ वर्षका बालबालिकाका लागि प्रतिव्यक्ति ५ हजार रुपैयाँ शुल्क लाग्छ। भारतीय तथा सार्क मुलुकका नागरिक र अन्य देशका नागरिकका लागि फरक शुल्क रहेको छ।