चितवन। भरतपुर महानगर प्रमुख रेनु दाहाल र निक्षेप तथा कर्जा सुरक्षण कोषका कार्यकारी अधिकृत रमेश घिमिरेबीच छलफल भएको छ। महानगरका युवालाई लगानी गरी रोजगारी दिन महानगर र कोषबीच सहकार्य गर्ने विषयमा छलफल भएको हो।
भरतपुर महानगरले दक्ष जनशक्ति उत्पादन गरी रोजगारी सिर्जना गर्न विभिन्न कार्यक्रमको अवधारणा अंगीकार गर्दै आइरहेकाले कोषको प्रस्तावमा सकारात्मक रहेको प्रमुख दाहालले बताइन्।
महानगरले यसअघि पनि स्वरोजगारी कार्यक्रममार्फत व्यवसाय गर्न चाहने उद्यमीलाई ब्याज तिर्ने गरी कर्जा दिने गरेको थियो।कोषले सुरक्षण कार्यक्रममार्फत बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको लघु तथा विपन्न वर्ग कर्जा, कृषि कर्जा, साना मझौला उद्यमलगायत अन्य विविध कर्जा सुरक्षण गर्दै आएको अधिकृत घिमिरेले बताए।
सूचना प्रविधि तालिमका लागि बैंक तथा वित्तीय संस्थाबाट बिनाधितो अधिकतम ५ लाखसम्मको कर्जा ३ वर्ष अवधिका लागि प्रशिक्षार्थीले प्राप्त गर्नेछन्।कर्जाको सुरक्षण निक्षेप तथा कर्जा सुरक्षण कोषले गर्नेछ।
कर्जाको पहिलो वर्षको ब्याज र कर्जा सुरक्षण शुल्कमा महानगरको अनुदान रहने प्रस्तावनामा उल्लेख छ। अनुदान प्रयोजनका लागि महानगरले आफ्नो क्षेत्रभित्रका प्रशिक्षार्थीमा प्रवाहित कर्जाको २५ प्रतिशत रकम सुरक्षण कोषको रुपमा कोषमा राख्नुपर्ने व्यवस्था छ।
सुरक्षण कोषको स्वामित्व महानगरमै रहने र कोषको सुरक्षण दायित्व समाप्त भएपछि बाँकी रकम महानगरमै फिर्ता हुने गरी कार्यक्रममा प्रस्तावित गरिएको छ।
प्रस्तावित कार्यक्रमबाट तालिमका लागि बैंक तथा वित्तीय संस्थाबाट प्रशिक्षार्थीले सहज र सहुलियतपूर्ण कर्जा प्राप्त गर्नेछन्। तालिमपछि रोजगारी सुनिश्चितता हुने र युवा जनशक्ति पलायन रोकिने, विदेशी मुद्रा आर्जन हुने अपेक्षा राखिएको छ।
कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र पौडेल र कोषका कर्मचारी उपस्थित थिए।