काठमाडौं।नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई भेटेर विभिन्न विषयमा छलफल गरेको छ।
छलफलमा अध्यक्ष चौधरीले नेपालमा दुईपांग्रे सवारीसाधनको एसेम्बलिङ उद्योग खुल्दै गएको अवस्थामा चारपांग्रे एसेम्बलिङ उद्योग पनि खुलाउन सरकारबाट पहल हुनुपर्ने माग गरे।
सरकारको अस्थिर नीतिका कारण यस क्षेत्रका अधिकांश उद्यमी तथा व्यवसायी पर्ख र हेरको अवस्थामा रहेकाले अटोमोबाइल उद्योगलाई अघि बढाउन स्थायी नीति ल्याउन मन्त्री रिजालसँग उनले आग्रह गरे। छलफलमा सचिव विक्रम सिंघानियाले अटोमोबाइल व्यवसायको उत्थानका लागि आवश्यक विभिन्न सुझाव मन्त्री रिजालसमक्ष पेस गरेको नाडाले जनाएको छ।
नाडाले अस्थिर महसुल दरले व्यवसायी हतोत्साहित भइरहेकाले महसुल दरमा स्थिरता कायम गर्न माग गरेको छ। देशलाई औद्योगिकीकरणतर्फ अग्रसर गराउन अटोमोबाइल व्यवसायीले अत्यधिक रुपमा सवारीसाधन उत्पादन गर्ने सीकेडी स्थापना गर्दै लगेको बताइएको छ।
औद्योगिक लगानीलाई सुरक्षित गर्न तथा उद्योगीको मनोबलमा वृद्धि र दीर्घकालीन रुपमा सफल बनाउन हाल अन्तःशुल्क महसुलमा दिइएको छुटको व्यवस्था कम्तीमा १५ वर्षसम्म कायम गर्न ऐनमै राख्ने व्यवस्था हुनुपर्ने माग नाडाको छ।
एउटै ब्रान्ड्को पाट्र्स मुख्य उत्पादनकर्ताको अनुमतिबिना तेस्रो पक्षबाट निर्वाध पैठारी हँुदै आएकाामा नेपालका आधिकारिक आयातकर्ताले मात्र आयात गर्न पाउने व्यवस्था गर्न नाडाले सुझाएको छ।
स्वदेशमै स्थापना हुने सवारीसाधन तथा अटोमोबाइलसम्बन्धी एसेम्बलिङ उद्योग, अटोमोबाइल स्पेयर पार्टस् उद्योग, टायर उद्योग, लुब्रिकेन्ट्स उद्योग तथा ब्याट्री उद्योग स्थापनाका लागि छुट्टै औद्योगिक क्षेत्र निर्माण गरिनुपर्ने माग उसको छ।
नेपाल–भारतबीचको द्विपक्षीय आर्थिक सम्बन्ध विस्तार गर्न, नेपालमा उद्योगलाई आकर्षित गर्न, व्यापार सहज बनाउन र विदेशी लगानीलाई आकर्षित गर्न इन्टरनेसनल इकोनोमिक जोन स्थापना गरिनुपर्ने माग नाडाको छ।
यस्तै, नाडाले नेपालमै लुब्रिकेन्टस् उद्योग भएको अवस्थामा संरक्षणका लागि उच्च गुणस्तरीय लुब्रिकेन्टस् मात्र आयात व्यवस्था हुनुपर्नेलगायत ११ वटा सुझाव मन्त्री रिजाजलाई पेस गरेको छ।
छलफलमा मन्त्री रिजालले अटोमोवाइल क्षेत्र देशलाई राजस्व र रोजगारी दिने प्रमुख स्रोत भएको र यसको विकासका लागि आवश्यक स्थिर नीति ल्याउन पहल गरिने आश्वासन दिएको नाडाले जनाएको छ। मन्त्री रिजालले अटोमोबाइल उद्योग खोल्ने उपयुक्त स्थानबारे सुझाव दिन उनले अटोमोबाइल व्यवसायीसँग आग्रह गरे।
उनले गोरखकाली रबर उद्योग चलाउन पीपीपी मोडल अपनाउने तयारी सरकारको रहेको बताए। छलफलमा नाडाका संस्थागत उपाध्यक्ष पुष्कर ओझा, केन्द्रीय कार्यसमिति सदस्यद्वय अभिक ज्योति, मेघराज पौडेल, सोहन श्रेष्ठ तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधानलगायत सहभागी थिए।