काठमाडौं। वायुसेवा कम्पनी यती एयरलाइन्सले सेवा विस्तारका क्रममा दुई वटा एटिआर ७२–५०० विमान थपेको छ।
थप गरेको यो विमान आज साँझ ५ः२० र ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको कम्पनीले जानकारी दिएको हो।
यतीले ७२ सिटे क्षमताका दुई विमान बंगलादेशबाट खरीद गरी ल्याएको हो। विमान थप गरेसँगै यतीसँग एटिआर ७२–५०० वायुयानको संख्या ७ पुगेको छ। थप गरिएका विमानले नेपाली रजिस्ट्रेसन ९एन– एओएफ र ९एन–एओएच पाएका छन्। खरीद गरिएका विमान यतीका क्याप्टेनले नै बंगलादेशको ढाकाबाट उडान गरी नेपालमा ल्याएको कम्पनीका प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए।
कम्पनीले थपेका जहाजले हाल उडान गर्ने गन्तव्यमै सेवा विस्तार गर्ने नीति लिएको र आवश्यक कागजी प्रक्रिया पूरा गरी एक सातापछि उडान सेवा दिइने उनले बताए। आन्तरिक हवाई सेवालाई थप सहज तथा सुलभ बनाउन थप जहाज भित्रेयाउने नीति लिइएको यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाको भनाइ छ।
जहाज थपेसँगै यात्रुलाई तोकिएको समयमै उडान गर्न कम्पनी प्रतिबद्ध रहेको उनले बताए। सन् २०२४ भित्रै थप ३ वटा जहाज ल्याएर १० पुर्याउने लक्ष्य रहेको उनले जानकारी दिए।
एटिआर कम्पनीको वेबसाइटकाअनुसार एटिआर ७२–५०० टर्बोप्रप विमानले पछिल्लो पुस्ताको प्रतिनिधित्व गर्दछ । ७०–७२ सिट क्षमताको यो जहाज टर्बोप्र इन्जिन भएको उत्कृष्ट विमान मानिन्छ।
पिडब्लु १२७ इन्जिनद्वारा सञ्चालित एटिआर ७२–५०० यस आकारको विमानको लागि उत्कृष्ट मानिन्छ । अन्य विमानभन्दा कम आवाज र कम्पन हुने तथा भित्री इन्टेरियर उत्कृष्ट भएकाले उडानको क्रममा आरामदायी हुनेछ।
यती एयर हालै एसियन लाइफ ईन्स्योरेन्सलाई लगानीकर्ताको रुपमा भित्र्याएको छ। कम्पनीले यसै वर्षभित्र सर्वसाधारणका लागि आइपिओ जारी गर्ने लक्ष्य लिएको छ।
हाल यतीले नेपालका सुगम गन्तव्य काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्जलगायत पर्वतीय उडान गर्दै आएको छ भने अन्तर्राष्ट्रियतर्फ चार्टर र नन–सेड्युल हवाई सेवा दिँदै आएको छ।