काठमाडौं। मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका स्थानीय क्षेत्रमा फोरजी सेवा थप सुधारिएको जनाएको छ। यी प्रदेशका डेढ दर्जन बढी क्षेत्रका ग्राहकले अब सुधारिएको फोरजी सेवामा पहुँच पाएको कम्पनीले बताएको छ।
एनसेलले सेवा विस्तार गर्दै आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धताबमोजिम यी स्थानका फोरजी सेवामा थप सुधार गरेकोे हो।
देशका अन्य स्थानमा पनि सेवाको अवस्था हेरेर आवश्यक लगानी गर्दै विस्तारित फोरजी सेवामा थप सुधार गर्ने योजना रहेको कम्पनीको भनाइ छ।
हाल फोरजी सेवा सुधार गरिएका स्थानीय स्तर तथा क्षेत्रमा सुदूरपश्चिमका बेलौरी, धनगढी, गौरीगंगा, घोडाघोडी, जानकी, कृष्णपुर र लम्कीचुहा रहेका छन्। त्यसैगरी लुम्बिनी प्रदेशका बुटवल, देवदह, घोराही, लुम्बिनी सांस्कृतिक नगरपालिका, नरैनापुर, ओमसतिया, सैनामैना, सिद्धार्थनगर, सुनवल, तिलोत्तमा र तुलसीपुर रहेका छन् ।
आधुनिक प्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभव दिने आफ्नो प्रतिबद्धताबमोजिम एनसेलले ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै २०७४, जेठ १८ मा काठमाडौं उपत्यकाबाट फोरजी सेवा सुरु गरेको थियो। हाल यो सेवा ७७ वटै जिल्लामा विस्तार गरिएको र कुल जनसंख्याको ९२.०९ प्रतिशत जनतामाझ पुगेको कम्पनीले बताएको छ।
दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहक संख्या असोजसम्म ६८ लाख ८५ हजार रहेको छ भने भिजिटर लोकेसन रजिस्ट्रर (भीएलआर) तथ्यांकका आधारमा एनसेलको बजार हिस्सा ५४.०६ प्रतिशत रहेको छ। कम्पनीले विभिन्न जिल्लाका टावरमा फोरजी क्षमताको स्तरोन्नति गर्दै आएको छ।