काठमाडौं। सरकारले काठमाडौं, पोखरा, भैरहवा र पूर्ण क्षमताको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सर्तसहित पीपीपी मोडलमा सञ्चालन गर्नेबारे अध्ययन समिति गठन गरेको छ। आजको मन्त्रिपरिषद् बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समिति गठन प्रस्तावलाई स्वीकृति दिएको हो।
विमानस्थलबारे अध्ययनका लागि पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा लगानी विज्ञ घनश्याम ओझा, हवाई महाशाखा प्रमुख बुद्धिसागर लामिछाने, लगानी बोर्डका सहसचिव र सदस्यसचिव रहने गरी नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक दीपेन्द्र श्रेष्ठ सम्मिलित ५ सदस्यीय समिति गठन गरेको हो।
त्यस्तै, वायुसेवा निगम करार व्यवस्थापनका लागि योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा, व्यवस्थापन विज्ञ टीकाराम राई, पर्यटन विभागका महानिर्देशक, अर्थ मन्त्रालयका प्रतिनिधि र नेवानि अर्थ विभाग प्रमुख सदस्य रहने गरी ५ सदस्यीय समिति गठन भएको छ।
समितिलाई ४५ दिने समयावधि दिइएको छ। यस्तै, तत्काल भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाले जग्गा उपलब्ध गराउनुपर्ने र भत्किएको संरचना नागरिक उड्डयन प्राधिकरणले निर्माण गर्ने, घोडाको नयाँ ब्रिडिङ सेन्टरका लागि सेनालाई शक्तिखोरमा जग्गा उपलब्ध गराउने र खर्च हुने संभावित रकम सरकारले व्यवस्था गर्ने निर्णय गरेको छ।