काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताएका छन्। बिहीबार राजर्षिजनक विश्वविद्यालयको सातौं सभालाई सम्बोधन गर्दै उनले विद्यार्थीको बौद्धिक पोषणका निम्ति साधना, क्षमताको पूर्ण परिचालन एवं रचनात्मक तत्परताबाट पलायन रोक्न सकिने बताए।
राजर्षिजनक विश्वविद्यालयबाट बाहिर निस्कने प्रत्येक स्नातकमा शिक्षाको वर्तमान तस्बिर र भविष्य अन्तर्निहित हुने उल्लेख गर्दै प्रधानमन्त्रीले शिक्षा पद्धतिलाई योगानुकूल परिस्करण गर्दै लैजानुपर्नेमा जोड दिए। उनले शिक्षामा गुणात्मक सुधार ल्याउनुपर्ने बताए।
प्रधानमन्त्रीले विश्वव्यापीकरणको सबैभन्दा ठूलो प्रभाव शिक्षा क्षेत्रमा परिरहेको हालको अवस्थामा विश्वविद्यालयको नीति, पाठ्यक्रम, शिक्षाविधि, कार्यशैलीमा गुणात्मक सुधार गर्नुपर्ने अवस्था आएको धारणा व्यक्त गरे।
विश्वविद्यालय स्थापनाको छोटो अवधिमा प्राविधिक विषयका चिकित्सा शिक्षा, व्यवस्थापन र कम्प्युटर प्रविधि विषयमा स्नातक र स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सञ्चालन गरेकामा उनले धन्यवाद दिए।
विश्वविद्यालयले जग्गा र भवन पूर्वाधार अभावमा झेल्नुपरेका कठिनाइ क्रमशः सम्बोधन गरिने विश्वास दिलाएको प्रधानमन्त्रीले सचिवालयले जनाएको छ।
मधेस प्रदेश ज्ञान विज्ञानको केन्द्र
प्रधानमन्त्री दाहालले मधेस प्रदेशलाई ज्ञान विज्ञानको केन्द्र भएको बताएका छन्। राजा जनकले ज्ञानी ऋषिमुनीसँग शास्त्रार्थ गरेर ज्ञानको सर्वोच्चता सिद्ध गरेको उनले उल्लेख गरे।
राजर्षिजनकका नाममा विश्वविद्यालय खोलिनु प्राचीन सभ्यता, संस्कृति र सांस्कृतिक धरोहरप्रतिको अगाध आस्था भएको प्रधानमन्त्रीले बताए।