काठमाडौं। के तपाईंले आजै सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल पास गर्नुभयो? यदि पास गर्नुभएको हो भने लाइसेन्स छिट्टै हात पार्छु भन्ने नसोच्नु होला।
नेपालको सुस्त लाइसेन्स छपाइ प्रक्रियाका कारण तपाईंले लाइसेन्सको सक्कली कार्ड (स्मार्ट कार्ड) हात नपर्दै रिन्यू (नवीकरण) गर्नुपर्ने हुन सक्छ। तपाईंको स्मार्ट कार्डको अवधि ट्रायल पास गरेको मितिले ५ वर्ष हुन्छ। जबकि तपाईंले लाइसेन्स हात पार्दा समय गुज्रिइसकेको हुन सक्छ।
अहिले नै ट्रायल पास गरेकाको लाइसेन्स आउँदासमेत ५ वर्ष बढी समय लाग्ने परिस्थिति बनिसकेको छ। छपाइ प्रक्रियामा ढिलाइ हुँदा ट्रायल पास भएर लाइसेन्स लिनकै लागि आवदेन दिनेहरुको संख्या थामिनसक्नु भएको छ।
हाल करिब १४ लाख लाइसेन्स छपाइ हुन बाँकी रहेको यातायात व्यवस्था विभागले जनाएको छ। हाल दैनिक ८ सय वटा छपाइ भइरहेको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए। यो आँकडाले अहिलेसम्मको मात्र लाइसेन्स छाप्न पनि अझै ५ वर्ष लाग्ने देखिएको हो।
अहिले नै ट्रायल पास गरेकाको लाइसेन्स आउँदासमेत ५ वर्ष बढी समय लाग्ने परिस्थिति बनिसकेको छ। छपाइ प्रक्रियामा ढिलाइ हुँदा ट्रायल पास भएर लाइसेन्स लिनकै लागि आवदेन दिनेहरुको संख्या थामिनसक्नु भएको छ।
विभागले लाइसेन्स छपाइ जिम्मा प्रदेशमा हस्तान्तरण नगर्दा यो समस्या देखिएको हो। लाइसेन्स परीक्षा लिनेदेखि छाप्ने अधिकार र जिम्मेवारी प्रदेश सरकारकै भएको पनेरु बताउँछन्। ‘हामीले प्रदेश कार्यालयहरु तयार नभएका कारण सहयोग गरेका मात्र हौं। यो जिम्मेवारी उनीहरुकै हो,’ उनले क्यापिटल नेपालसँग भने।
प्रदेश मन्त्रालयहरुसँग यो विषयमा विभिन्न चरणमा छलफल गरेको उनले बताए। ‘हामीले उनीहरुलाई धेरै पटक जिम्मेवारी लिनुस् भनिरहेका छौं। यो उनीहरुकै अधिकार क्षेत्रभित्रको विषय पनि हो। त्यसकारण उनीहरुले चाहेको समय लाइसेन्स छाप्न सक्छन्,’ उनले भने।
विभागले प्रणाली हस्तान्तरण नगरेका कारण प्रदेशबाट लाइसेन्स छपाइ ढिलो भएको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले बताए।
‘हामीलाई लाइसेन्स छाप्न कठिन होइन तर त्यसका लागि विभागले प्रणाली दिनुपर्छ। अबको एक साताभित्र हामी निचोडमा पुग्छौं। १५/२० दिनभित्र अस्थायी लाइसेन्स भए पनि छाप्न थाल्छौं,’ उनले क्यापिटल नेपालसँग भने।
अर्को सातादेखि नयाँ लाइसेन्स छपाइ हुँदै
यातायात व्यवस्था विभागले अर्को सातादेखि नयाँ लाइसेन्स मास प्रिन्टरमा राख्ने तयारी गरेको छ। जर्मन कम्पनी म्युहलबौयर आइडी सर्भिसले ठेक्का पाएको १२ लाख कार्डमध्ये ६ लाख केही दिनअघि नेपाल पठाएको थियो। ती कार्ड ल्याब परीक्षणपछि छपाइ सुरु गरिने पनेरुले जानकारी दिए।
‘कार्ड आए तर हामीले भनेजस्तो गुणस्तरयुक्त भए/नभएको ठम्याउन स्याम्पल पिसलाई ल्याब परीक्षण गराउनुपर्छ। स्याप्पल पिसलाई जर्मनी पठाएर परीक्षण रिपोर्ट आएपछि मात्र नयाँ कार्डमा छपाइ सुरु गर्छौं,’ उनले भने।
त्यसैगरी बाँकी ६ लाख कार्ड केही महिनामै नेपाल आइपुग्ने विभागले जनाएको छ। कार्ड अभावमा विभागले करिब ६ महिनादेखि नियमित लाइसेन्स प्रिन्ट गर्न सकेको थिएन।
सीमित मात्रै कार्ड बाँकी रहेपछि विभागले विभिन्न मुलुकका शान्ति मिसनमा जाने सेना, प्रहरी, वैदेशिक रोजगारी र अध्यनमा जानेका निम्ति मात्रै प्रिन्ट गरिरहेको थियो।