काठमाडौं। अकामा होटलले पाँचतारेको मान्यता पाएको छ। धुम्बाराहीमा ४ वर्षदेखि सञ्चालनमा रहेको अकामा होटलको व्यापार प्रवर्द्धन तथा व्यवसाय विस्तारका निम्ति अन्तर्राष्ट्रिय स्तरको चेन होटल वेनधाम होटल्स एन्ड रिसोर्टसँग फ्रेन्चाइजका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो।
सम्झौतासँगै चारतारेबाट सञ्चालित अकामा होटल अमेरिकन चेन होटल ब्रान्ड रामाडा बाई वाइन्धमको नामबाट सञ्चालन हुनेछ।सन् २०१९ को फेब्रुअरीबाट सफ्ट लञ्च भई सोही वर्षको अन्त्यबाट पूर्ण रुपमा सञ्चालनमा आएको अकामा होटल १२० बढी देशमा पुगेको झरामाडा बाइ वाइन्धम ब्रान्डबाट सञ्चालित हुनु खुसीको विषय भएको होटल व्यवस्थापनले जनाएको छ।
यसबाट नेपालको पर्यटन, होटल तथा आतिथ्य क्षेत्रमा योगदान पुग्न गई पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने र विश्व बजारमा नेपालको प्रचार–प्रसारमा समेत मद्दत पुग्ने होटलको विश्वास छ।
९ रोपनी क्षेत्रफलमा फैलिएको अकामा होटलमा सुपेरियर ९५, डिलक्स ६, डिलक्स स्विट ४, फेमिली स्विट–२, प्रेसिडेन्टल स्विट १ गरी जम्मा १०८ कोठा र २ सय बेड छन्।
न्यूनतम २० देखि ६५० जनासम्म कभर गर्ने विभिन्न किसिमका ५ वटा हलका साथै स्पेसल चाउवेलासमेत गरी तीन वटा रेस्टुरेन्ट तथा आउटडोर स्विमिङ पुल, जिम, स्टिम, साउना, ज्याकुजी र स्पा रहेका छन्। होटलमा हाल १३० जनाले रोजगारी पाइरहेका छन्। होटलमा दुईतले बेसमेन्टसहितको पर्याप्त पार्किङ सुविधासमेत छ।
त्रिभुवन इन्टरनेसनल एयरपोर्ट, पशुपतिनाथ, बौद्ध स्तुपा, बूढानीलकण्ठ मन्दिर, दरबार स्क्वायर, स्वयम्भूनाथ स्तुपा तथा ठमेललगायतका प्रमुख पर्यटकीय गन्तव्य स्थल नजिक रहेको यो होटल चक्रपथको मध्य भागमा अवस्थित छ। अकामा होटलले निकट भविष्यमा सर्वसाधारणमा समेत सेयर जारी गर्ने तयारी छ।