काठमाडौं। त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मणिराम पौडेलले आर्थिक ऐन, २०८० लाई गलत व्याख्या गर्दा एयरलाइन्स र हेलिकोप्टर कम्पनी समस्यामा परेका छन्।
केही साताअघि मात्र त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा सरुवा भई आएका प्रमुख भन्सार अधिकृत पौडेलले आर्थिक ऐनमा उल्लेख भएका विषयलाई गलत व्याख्या गर्दा एयरलाइन्स कम्पनी समस्यामा परेका हुन्।
भन्सार अधिकृत पौडेल आएपछि आर्थिक ऐनमा छुट दिइएका पार्टपुर्जामा समेत एचएस कोडको आधारमा थप शुल्क लिन थालेसँगै एयरलाइन्स कम्पनीले एक सातादेखि सामान छुटाएका छैनन्।
जहाजमा लाखौंको संख्यामा पार्टपुर्जा लाग्ने भएकाले मुख्य पार्टपुर्जाको नाम राखेर बाँकीलाई हवाईजहाज वा हेलिकोप्टरका अन्य पार्टपुर्जा भनेर राखिएको छ। सोही बुँदालाई टिपेर एयरलाइन्सका पार्टपुर्जामा एचएस कोडअनुसार नै भन्सार शुल्क लिने नयाँ भन्सार अधिकृत पौडेलको अड्डी।
आर्थिक ऐन, २०८० को दफा १४ को उपदफा (क) बमोजिम भन्सार महसुल १ प्रतिशत मात्र लाग्ने सूचीमा हवाई सेवाप्रदायक संस्था वा नागरिक उड्डयन प्राधिकरणबाट इजाजत प्राप्त कम्पनीले पैठारी गर्ने उपशीर्षक भनेर केही विवरण उल्लेख गरिएको छ।
जहाजमा लाखौंको संख्यामा पार्टपुर्जा लाग्ने भएकाले मुख्य पार्टपुर्जाको नाम राखेर बाँकीलाई हवाईजहाज वा हेलिकोप्टरका अन्य पार्टपुर्जा भनेर राखिएको छ। सोही बँुदालाई टिपेर नयाँ भन्सार अधिकृत पोखरेलले एयरलाइन्सका पार्टपुर्जामा एचएस कोडअनुसार नै भन्सार शुल्क लिने भनेपछि एयरलाइन्स विमान कम्पनी त्रसित भएका छन्।
वायुसेवा सञ्चालक संघका महासचिव एवं समिट एयरका एकाउन्ट म्यानेजर मनोज कार्कीले नयाँ भन्सार अधिकृतले कुन शीर्षकमा कुन पार्टपुर्जा राखिएको छ भन्ने जानकारी नपाउँदा समस्या उत्पन्न भएको बताए।
‘हार्मोनिक कोर्डको आधारमा भन्सारदर तोकिएको हुन्छ,’ महासचिव कार्कीले भने, ‘नयाँ भन्सार अधिकृतले ऐनमा उल्लेख गरिएको अन्य पार्टपुर्जा पनि १ प्रतिशत भन्सार शुल्कमै छुटाउने हो भन्ने विषय नबुझ्दा समस्या उत्पन्न भएको हो।’
नयाँ भन्सार अधिकृतलाई पटक–पटक बुझाउन खोज्दा पनि बेवास्ता गरेको र आर्थिक ऐनमै उल्लेख हुनुपर्ने अडान लिएपछि पार्टपुर्जा छुटाउन नसकिएको उनको भनाइ छ। सोही कारण धेरै जहाज र हेलिकोप्टर पार्टपुर्जा अभावकै कारण ग्राउन्डेड हुने स्थिति सिर्जना हुन लागेको एयरलान्स सञ्चालक बताउँछन्।
२५ वर्षसम्म १ प्रतिशत भन्सार शुल्कमा सामान छुटाइरहेका बेला अहिले एउटा कर्मचारीको अड्डीले ५,१०, १५ र ३० प्रतिशतसम्म भन्सार शुल्क लिइएको छ। एचएस कोड हेरेर शुल्क निर्धारण गरिरहेको छ। जहाजमा प्रयोग हुने कम्पासलाई ५ प्रतिशत, स्टाटर जेनेरेटर १५ प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट लगाइदिएपछि समस्या उत्पन्न भएको छ।
भन्सार अधिकृतले कुरा नबुझेकै कारण एक सातादेखि एयरलाइन्स कम्पनीले सामान नपाउँदा जहाज उडाउन मुस्किल हुन लागेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।
‘भन्सार शुल्क बढाएपछि लागत मूल्य बढ्ने र त्यसको असर अन्ततः हवाई भाडामा जोडिने भएकाले एयरलाइन्स कम्पनीले एक सातादेखि सामानै छुटाएका छैनौं,’ प्रवक्ता बर्तौलाले भने, ‘यसको असर विस्तारै जहाजमा देखिँदै जान्छ र विस्तारै ग्राउन्डेड हुने स्थितिमा पुग्छ।’ अहिले विश्वमै एयरलाइन्सको पार्टपुर्जा महँगो भइरहेका बेला भन्सार शुल्कसमेत बढाएपछि झनै समस्यामा कम्पनीको भनाइ छ।
यता, भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले विमानस्थल भन्सार कार्यालयमा देखिएको समस्याबारे जानकार नरहेको बताए। ‘मलाई यो विषयमा जानकारी आएको छैन’, महानिर्देशक पौडेलले भने, ‘नयाँ कर्मचारीले केही विषय नबुझेका हुन सक्छन्। समन्वय गरेर समाधान गर्छु।’
त्रिभुवन विमानस्थल भन्सारका प्रमुख भन्सार प्रशासक डा. टोकराज पाण्डेले पनि अधिकृत र एयरलाइन्स कम्पनीबीच भएको विवादबारे थाहा नभएको बताए। ‘मलाई पनि यो विषयमा जानकारी आएको छैन,’ प्रमुख पाण्डेले भने, ‘आर्थिक ऐनमा भएका विषयलाई विवाद गरिराख्नुपर्ने स्थीति छैन। समन्वय गरेर काम गर्छु।’