काठमाडौं। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) अध्यक्ष करण चौधरी नेतृत्वको प्रतिनिधिमण्डलले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर विभिन्न विषयमा छलफल गरेको छ।
गृहमन्त्रीसँगको छलफलमा अध्यक्ष चौधरीले नेपालमा मालवाहक इन्डियन ट्रक निर्वाध रुपमा ७२ घन्टासम्म नेपाल प्रवेश गर्न सक्ने व्यवस्थाका कारण नेपालका मालवाहक सवारीसाधन बिक्री र व्यवसायमा गम्भीर असर परेको बताए। उनले भारतीय मालवाहक साधनलाई नेपालमा २४ घन्टाको मात्र समयावधि दिन र भन्सार बिन्दुबाट अधिकतम १६ किमिसम्म मात्रै सञ्चालन गर्न दिने व्यवस्थाका लागि आग्रह गरे।
छलफलमा महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपाल–भारतबीच खुला सीमानाको कारण भारतबाट ठूलो मात्रामा अनधिकृत रुपमा लुब्रिकेन्टस्, टायर तथा अटोमोबाइल स्पेयर पाट्र्स आयात हुँदै आएको जानकारी गृहमन्त्रीलाई दिए।
यसले नेपालका लुब्रिकेन्टस् र टायरट्युब उद्योगलाई गम्भीर असर परिरहेको र अर्कोतर्फ ती वस्तुको अनधिकृत आयातका कारण नेपालमा व्यापार गरिरहेकालाई व्यवसायमा टिकिरहन कठिन हुँदै गएको उनको भनाइ थियो।
सरकारले सीमा क्षेत्रमा कडाइका साथै व्यवस्थित गरे मात्रै देशले गुमाइरहेको ठूलो राजस्व प्राप्त हुने सक्नेतर्फ उनले गृहमन्त्रीको ध्यानाकर्षण गराए।
छलफलमा गृहमन्त्री श्रेष्ठले भारतीय मालवाहक ट्रकको नेपाल प्रवेशको विषय र सीमानाकामा भइरहेको समस्या समाधानका लागि सरकारले आवश्यक पहल गर्ने विश्वास दिलाएको नाडाले जनाएको छ।
उक्त अवसरमा नाडाका संस्थागत उपाध्यक्ष पुष्कर ओझा, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्यसमिति सदस्यद्वय ऋद्धि कार्की, नारायणप्रसाद पौडेल तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधानसमेत सहभागी थिए।