काठमाडौं। विश्वकै उत्कृष्ट होटलको सूचीमा शिन्तामिण मुस्ताङ रिसोर्ट परेको छ। नेशनल जोग्राफिकले विश्वका उत्कृष्ट र मन परेका होटलहरूको सूचीमा राखेको शिन्तामणि एसियाको पहिलो नम्बरमा परेको हो।
मुस्ताङको जोमसोममा सञ्चालित मोक्ष रिसोर्टको व्यवस्थापन शिन्तामणिले दुई वर्ष अघिबाट सुरु गरेसँगै सन् २०२४ का लागि विश्वकै उत्कृष्ट र मन पराइएको होटलको सूचीमा पर्न सफल भएको हो। नेशनल जोग्राफीले घुम्न र प्रकृति तथा पर्वतसँग रमाउन चाहनेहरुका लागि सो होटल सिफारिस गरेको छ।
यति वल्र्ड ग्रुपको सहायक कम्पनी शेर्पा हस्पिटालिटीमार्फत मुस्ताङ्गको जोमसोममा सञ्चालित मुस्ताङ रिसोर्टको व्यवस्थापन सम्हाल्नेगरी शिन्तामणि नेपाल भित्रिएको थियो।
शिन्तामणि मुस्ताङ रिसोर्ट स्थानीय ढुंगाबाट प्राचीन तथा परम्परागत डिजाइबाट बनाइएको छ। जोग्राफिक डट कमले उल्लेख गरे अनुसार संसारभरबाट हिमाली क्षेत्रका साथै गुम्बा र स्थानीय जनजीवनसँग घुलमिल गर्न चाहने पर्यटकहरूले सर्वाधिक रुचाइएको जनाएको छ।
शिन्तामणि विश्व बजारमा जंगलका बीचमा महँगो होटल सञ्चालन गरेर ख्याति कमाएको ब्राण्ड हो। यति ग्रुप अफ कम्पनीका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले १ अर्ब १० करोड रूपैयाँ लगानीमा निर्माण भई सञ्चालनमा रहेको रिसोर्टको व्यवस्थापन शिन्तामणिले सम्हालेपछि विश्वकै उत्कृष्ट गन्तव्यमा दरिएकोमा खुसी व्यक्त गरे।
शेर्पा हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत नाम्गेल शेर्पाले शिन्तामणि मुस्ताङले पर्यटकलाई प्रकृतिसँग नजिक राखेर बिदा मनाउने उत्कृष्ट गन्तव्यका रूपमा आभाष दिलाउन सफल बताए। मुस्ताङमा सञ्चालित मोक्ष रिसोर्ट व्यवस्थापन सिन्तामणी होटल एन्ड रिसोर्टले लिएसँगै नेपालको सबैभन्दा महँगो लक्जरी रिसोर्ट बनेको छ।
समुद्र सतहबाट २ हजार ८ सय मिटर उचाइ तथा कालिगण्डकी नदीछेउ जोमसोममा रहेको होटलमा २९ कोठा छन। शिन्तामणिमा बस्न न्यूनतम ५ दिनको बुकिङ गर्नुपर्छ। नेपाली वा विदेशी जो भए पनि होटलमा बस्न चाहनेले अनिवार्य कम्तीमा ५ दिनको बुकिङ गर्नुपर्नेछ।
होटलमा बस्न प्रतिरात १ हजार ८ सय अमेरिकी डलर तिर्नुपर्छ। यो प्याकेज दुईजनाका लागि हुनेछ। यही रकममा कोठा, वेलनेश प्रोगाम, खाना र पेयपदार्थ पाइने छ। होटलका कोठा अमेरिकी आर्किटेक्ट कम्पनी बेन्सलेकै डिजाइनअनुसार पुनर्निर्माण गरिएको छ।होटलले आतिथ्यतासाथै हर्स राइडिङ, साइक्लिङ, रक क्लाइम्बिङ, आर्चरी, हाइकिङ, ट्रेकिङ, योगालगायत सुविधा उपलब्ध गराउँदै आएको छ।
होटलमा बस्ने पाहुनालाई पैसामात्र होइन, उनीहरूलाई कुनै पनि सुविधामा अपुग नहोस् भन्ने सोचसाथ प्रत्येक पर्यटकलाई एक÷एक गाइडसमेत उपलब्ध गराउने र पृथक महसुस दिलाउने लक्ष्य राखेको छ।