काठमाडौं। राष्ट्रिय योजना आयोगले १६औं योजना र अतिकम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा स्तरोन्नतिका विषयमा अन्तर्राष्ट्रिय विकास साझेदारसँग छलफल गरेको छ।
आयोग उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा संयुक्त राष्ट्रसंघ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत विभिन्न देशका राजदूत तथा प्रतिनिधिले सुझाव दिएका छन्।
आयोगले आगामी ५ वर्षका लागि तयार गरिरहेको १६औं योजनाका लागि विभिन्न क्षेत्र तथा सरोकारवालासँग सुझाव लिइरहेको छ।सोही क्रममा आयोगले अन्तर्राष्ट्रिय विकास साझेदार समूहसँग छलफल गरेको हो।
नेपालस्थित अन्तराष्ट्रिय विकास साझेदार समूहको नेतृत्व हाल संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधि हाना सिंगर हाम्डी र नेपालका लागि फिनल्यान्डका राजदूतले संयुक्त रुपमा गरिरहेका छन्। छलफलमा अतिकम विकसित मुलुक (एलडिसी)बाट विकासशील मुलुकमा स्तरोन्नतिका सन्दर्भमा पनि छलफल भएको थियो।
नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि हाना सिंगर हाम्डीले सफल एलडिसी स्तरोन्नतिपछि नेपाल विकासको अर्को अध्ययायमा प्रवेश गर्ने बताइन्। १६औं योजनामा फल एलडिसी स्तरोन्नतिका सन्दर्भमा पनि सोच्नुपर्ने उनको सुझाव थियो।
सहभागी अन्य विकास साझेदारले आफ्नो कन्ट्री प्रोगामलाई १६औं योजना र अतिकम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा स्तरोन्नति रणनीतिसँग तादम्य मिलाउनुपर्ने बताएका छन्।
आयोग उपाध्यक्ष डा. श्रेष्ठले विकास साझेदारबाट धेरै राम्रा सुझाव आएको बताए। नेपालको विकासका लागि विकास साझेदार समूहले गर्दै आएको सहयोगको लागि धन्यवाद दिँदै आएका सुझाव १६औं योजना र स्मुथ ट्रान्जिसन स्ट्रेटिजी फर एलडिसीमा समावेश गर्ने प्रतिबद्धता जनाएका छन्।
आयोगले यसअघि गत बुधबार १६औं योजनाको सन्दर्भमा राष्ट्रिय विकास परिषद्का नवनियुक्त सदस्यसँग छलफल गरेको थियो।