काठमाडौं। पर्यटन व्यवसायी तथा कांग्रेस सांसद राजेन्द्र बजगाईंले राजधानीको बालुवाटारमा निर्माण गरिरहेको चारतारे स्तरको ‘वर्णवास‘ म्युजियम लक्जरी होटल फेब्रुअरी १ (माघ १८) देखि सञ्चालनमा आउने भएको छ।
सन् २०१९ देखि निर्माण सुरु भएको होटल २०२१ आधाउधीबाट होटल सञ्चालनमा ल्याउने योजना बनाए पनि कोभिड र आर्थिक मन्दीका कारण ढिलाइ भएकामा अहिले पूर्ण रुपमा तयार भएको सञ्चालक बजगाईंले जानकारी दिए।
होटलको सफ्ट ओपनिङ यसअघि नै गरिसके पनि फेब्रुअरी १ देखि पूर्ण रुपमा सञ्चालनमा ल्याइने सञ्चालक बजगाईंको भनाइ छ।
राजधानीको केन्द्र गैरीधारा–बालुवाटारमा निर्माणाधीन होटलमा ४८ कोठा छन्। होटलमा १ अर्ब १६ करोड लगानी रहेको छ।
उक्त लगानीमध्ये बजगाईंले बैंकबाट ५६ करोड ६७ लाख रुपैयाँ ऋण लिएका छन्। होटलमा ६९ प्रतिशत ऋण र ३१ प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना तयार पारिएको छ।
पहिला ७५ प्रतिशत ऋण र बाँकी २५ प्रतिशत स्वपुँजी लगानी हुने गरी संरचना बनाइएको थियो। होटलको प्रतिकोठा लागत २ करोड ३० लाख रुपैयाँ पुग्ने भएको छ। यसअघि प्रतिकोठा लागत १ करोड ३० लाख रुपैयाँ हुने अनुमान थियो।
सुविधासम्पन्न र लक्जरियस होटल तथा रिसोर्टको भीडमा नयाँपन दिन खोजेका बजगाईंले करिब २ रोपनी क्षेत्रफलमा साढे ९ तले लक्जरी बुटिक होटल निर्माण गरेका हुन्। होटलमा १८ प्राइभेट ज्याकुजी रहेको छ।
होटलका कोठामध्ये सबैभन्दा ठूलो ६० वर्गमिटरको हुनेछ। यस्तो कोठा प्रत्येक तलामा एक÷एक वटा रहेको छ। तर, अन्य कोठा भने ४० देखि ३४ वर्गमिटरको रहेको उनले बताए।
होटलभित्र नेपालका विभिन्न जातजातिको संस्कृति झल्किने खाले वेशभूषा र ग्यालरी राखिएको छ। साढे ९ तलाको होटललाई तीन तहमा विभाजन गरिएको छ। जहाँ हिमाल, पहाड र तराई गरी सिंगो नेपाललाई नै होटलभित्र चित्रित गरिएको छ।
भवनको टुप्पोलाई सगरमाथा हिमालको आकृति दिइएको छ। वर्णवासमा प्रवेश गर्नेबित्तिकै काठमाडौं उपत्यका, त्यसमा पनि नेवारी समुदायको संस्कृति झल्कने आर्ट देख्न पाइन्छ।
लामो समयदेखि पर्यटन क्षेत्रमा आबद्ध भएका व्यवसायी बजगाईंले नयाँ सोच र अवधारणाका साथ ५ तारे बराबरको सेवासुविधाकै स्तरमा होटल निर्माण गरेका हुन्।
‘लभी र प्रि–फङ्सनमा आर्ट ग्यालरी रहेको छ’, सिञ्चालक बजगाईले भने, ‘होटलमा प्रवेश गरेसँगै काठमाडौं उपत्यकाभित्रका संस्कृति झल्किने आर्ट देख्न सकिन्छ। होटलभित्र घुम्दा नेपालको सभ्यता झल्कियोस भन्ने अवधारणा मेरो हो।’
होटलभित्र नेपालका विभिन्न जातजातिको संस्कृति झल्किने खाले वेशभूषा र ग्यालरी राखिएको छ। साढे ९ तलाको होटललाई तीन तहमा विभाजन गरिएको छ। जहाँ हिमाल, पहाड र तराई गरी सिंगो नेपाललाई नै होटलभित्र चित्रित गरिएको छ। वर्णवासमा प्रवेश गर्नेबित्तिकै काठमाडौं उपत्यका, त्यसमा पनि नेवारी समुदायको संस्कृति झल्कने आर्ट देख्न पाइन्छ।
रुफटपमा भने सगरमाथाको झल्को दिने खाले आकार बनाएका छन्। सगरमाथा र लोत्सो हिमालको बीचबाट छुट्टिएर सगरमाथा आरोहणका लागि जाने ठाउँ साउथ कोलको नामबाट ‘साउथ कोल बार‘ सञ्चालन हुने र त्यहाँ विदेशी र स्वदेशी मदिराको सजावटले आकर्षण थप्ने सञ्चालक बजगाईंको भनाइ छ।
त्यहाँ सगरमाथा आरोहीले काम गर्नेछन र हिमाल आरोहणको अफ सिजनमा काम गर्ने अवसर पनि हुने उनी बताउँछन। त्यसका लागि हिमाल आरोहीसँग समन्वय भइरहेको उनले जानकारी दिए।
होटलमा ओभर लुकिङ स्विमिङ पुल बनाइएको छ, जसलाई ‘गोक्यो स्विमिङ पुल’ नाम दिइएको छ। त्यहाँको रङ गोक्यो झल्कने खाले राख्ने काम भइरहेको बजगाईंले बताए।