झापा। विभिन्न जिल्लाबाट भेला भएका मिटर ब्याजपीडितहरुले आज काँकडभिट्टास्थित मेची पुलबाट ‘न्याय मार्च’ सुरु गरेका छन् ।
मिटरब्याज तथा ठगी किसान मजदुर संघर्ष समितिको अगुवाइमा भएको मार्चका सहभागीले खान र बस्नका लागि आवश्यक सामान बोकेरै पैदल यात्रा थालेका हुन्।
पूर्वपश्चिम राजमार्गमा पैदल यात्रा गरेरै चितवन हुँदै १५ दिनमा काठमाडौं पुग्ने लक्ष्य रहेको उनीहरुले बताए। यात्रामा झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरीलगायत ५० मिटर ब्याजपीडित सहभागी छन्। तीमध्ये आधा जति महिला छन्। आजै पश्चिमको सीमावर्ती महेन्द्रनगरबाट पनि पीडितले एउटै समयमा ‘न्याय मार्च’सुरु गरेको बताइएको छ।
दुईतिरबाट सहभागी यात्री चितवनमा भेट गर्ने र त्यहाँबाट एकीकृत भएर काठमाडौं जाने सहभागीहरूको भनाइ थियो। मिटरब्याज तथा ठगी किसान मजदुर संघर्ष समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहले मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण नक्कली लिखत तथा पीडितको सम्पत्तिको हक हस्तान्तरण बदरलगायत ६ बुँदे माग सरकारसँग राखेर सहिद दिवसका अवसरमा पैदल यात्रा सुरु गरिएको बताए।
सरकारले देशभरबाट मिटरब्याजपीडितको निवेदन संकलन गरे पनि उनीहरुलाई न्याय दिन नसकेको र अदालतबाट पनि पीडककै पक्षमा पटकपटक आदेश जारी हुन थालेकाले सडक आन्दोलनमा उत्रिन बाध्य हुनुपरेको उनको भनाइ छ।
पैदल यात्राका कतिपय सहभागी पाको उमेरका महिला र वृद्धसमेत छन्। सोमबार विभिन्न जिल्लाबाट काँकडभिट्टामा भेला भएका पीडितले स्थानीय मेची सामुदायिक भवनको चिसो कोठामा रात बिताएका थिए। देशभरमा पाँच हजार र झापामा ६ सयभन्दा बढी मिटर ब्याजपीडित रहेको सङ्घर्ष समितिका झापा सचिव नारद दवाडीले बताए।
पैदल यात्रामा सहभागी सिराहा–२ की राम राजीले सात लाख ऋण लिएकामा ९ लाख तिरिसक्दासमेत मिटर ब्याजीले घरजग्गा हड्पेको गुनासो गरिन्।
तमसुक, दृष्टिबन्धक र रजिस्ट्रेसनलगायत नक्कली लिखत खारेज हुनुपर्ने र पीडितको सम्पत्तिको हक हस्तान्तरण बदर हुनुपर्ने मिटरब्याज पीडितले माग राखेका छन्।–रासस