काठमाडौं। नेपालमै पहिलो पटक पाँचतारे सुविधासहितको बुटिक होटलसँगै अर्थोपेडिक अस्पताल सञ्चालनमा आएको छ। वरिष्ठ अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डेले लाजिम्पाटमा बुटिक होटलसहितको अनमीव हेल्थ र अनमीव अस्पताल सञ्चालनमा ल्याएका हुन्।
करिब साढे ४ रोपनी क्षेत्रफलमा फैलिएको अस्पतालमा जग्गाबाहेक करिब ३५ करोड रुपैयाँ ऋण लगानी भएको सञ्चालक पाण्डेले जानकारी दिए। ‘अहिले कम्पनीको नाममा १५ वर्षका लागि बैंकबाट ऋण लिएर काम अगाडि बढाएको छु,’ सञ्चालक पाण्डेले भने, ‘केही आफ्नो घर र केही भाडामा लिएर सञ्चालन गरेको छु।’
स्वदेशी तथा विदेशी बिरामीका लागि एउटै ठाउँबाट बहुविशिष्टीकृत सेवा उपलब्ध रहेको बताउँदै देशभरिका मानिस आउन सक्ने अस्पतालको मुटु विभाग अर्थोपेडिक्स भएकोले ज्वाइन्ट रिप्लेसमेन्ट, स्पोर्टस् मेडिसिन, कम्प्लेक्स ट्रमा, पेडियाट्रिक अर्थाेपेडिक्स सर्जरी र कम्प्लिकेटेड अर्थोपेडिक्स (मल्टीपल टाइम शल्यक्रिया भएको बिरामीलाई रिभिजन गरेर निको बनाउने) सेवा उपलब्ध रहेको डा. पाण्डेले जानकारी दिए। केही समयभित्रै स्पाइनलगायतका अर्थेपेडिक्सका अन्य विभाग पनि खुल्दै जाने उनको भनाइ छ।
अनमीव अस्पतालको मुख्य उद्देश्य नै शल्यक्रियाबिना उपचार गर्न सकियोस् भन्ने रहेको बताउँदै फिजियोथेरापी, लाइफस्टाइल परिवर्तन, एक्टीभिटी मोडिफिकेसनलगायतमा बढी ध्यान दिएको उनले बताए।
‘हामी प्रिभेन्टिभ हेल्थकेयरमा जोड दिन्छौं’, डा. पाण्डेले भने, ‘अनमीवमा त्यसैका लागि भनेर रोबुस्ट फिजियोथेरापी क्लिनिक बनाइएको छ। दुर्घटनामा परेर हड्डी भाँचिएका, लिगामेन्ट नै च्यातिएका, स्पोर्टस् इन्जुरी भएका, हिप ज्वाइन्ट र घुँडा खिइएर हिँड्न नसक्ने बिरामीको मात्रै शल्यक्रिया गर्ने हो।’
अनमीवले प्रिभेन्टिभ अर्थाेपेडिक्सका रुपमा हड्डी खिइएको, टेन्डीनोप्याथी टेन्डनमा डिजेनेरेसन भएको अवस्थामा स्पेनको बायोटेक्नोलोजी इन्स्टिच्युट वार्सिलोनाले बनाएको पीआरजीएफ एन्डोरेट (प्लाज्मा रिच ग्रोथ फ्याक्टर एन्डोरेट) सिस्टम ल्याएका छन्।
यो सिस्टममा बिरामीको रगतबाट प्लेटलेट्स निकालेर त्यसलाई एक्टिभेट गरेर बिरामीको इन्ज्युरी भएको घुँडा, टेन्डेनमा र लिगामेन्टमा हाल्ने व्यवस्था गरिएको छ। यसले लिगामेन्टको चाँडो हिल हुने, निको हुने, घुँडा खिइनलाई ढिलो हुने बताउँदै अनमीवले बिरामीको जोर्नीमा धेरै असर नपरोस्, जोर्नी लामो समयसम्म टिकोस् भन्ने उद्देश्यले किबुन प्रविधिका विशेष जुत्ता व्यवस्था गरेको डा. पाण्डेले जानकारी दिए।
प्रिभेन्टिभ अर्थोपेडिक्सको अभिन्न अंग र स्पेसल सिस्टम भएको बताउदै यससँगै पैताला दुख्ने, टेनिस एल्बो (एल्बोमा दुख्ने), टेन्डनमा धेरै पीडा हुने, हिँड्न नसक्ने, पैतालाको कक्षमा दुख्ने त्यस्तोलाई दुखाइ कम गर्ने औषधीबिना अथवा सुई नलगाइकन स्वीट्जरल्यान्डमा बनेको डियोलिथ अथवा एक्स्ट्रा कर्पोरियल सक्ड पेनको मद्दतबाट उपचार गर्ने विधि पनि अनमीव हेल्थमा रहेको उनको भनाइ छ।
अनमीव अस्पताल पाँचतले भवनमा शल्यक्रिया गर्ने ठाउँसहितको सिंगल बेड र डबल बेड गरेर १५ शय्या रहेको छ। त्यसबाहेक अस्पतालमा दुई वटा अत्याधुनिक शल्यक्रिया कक्ष छन्। राम्रो शल्यक्रिया गर्ने र बिरामीको सेफ्टीलाई ध्यान दिने हो भने क्वालिटी एअर एकदमै महत्त्वपूर्ण हुन्छ भने पोजेटिभ एयर प्रेसरको अर्को महत्वपूर्ण रोल रहने उनको भनाइ छ।
अस्पतालको दुवै अप्रेसन थियटरमा एयर ह्यान्डलिङ युनिट र आउट डोर युनिट फरक छ।
यसले अप्रेसन थियटरभित्र भएको ७५ प्रतिशत हावालाई फेरि ब्याक लगेर फिल्टर गरेर पठाउँछ। फिल्टर गर्दा ०.०३ माइक्रोनभन्दा ठूलो पार्टीकल अप्रेसन थियटरमा आउँदैन। ब्याक्टेरियाको साइज ०.०३ हुने भएकाले त्यो र त्योभन्दा माथिको साइज आउन नदिँदा मेजर ब्याक्टेरियल इन्फेक्सनलाई रोक्न सकिने उनले सुनाए।
‘नेपालको हेल्थकेयरमा क्रान्ति ल्याउने उद्देश्यका साथ इनोभेसन टेक्नोलोजी (मोर्डन मेडिसिनमा चाहिने उपकरण, शल्यक्रियामा बिरामीलाई र स्टाफलाई दिनुपर्ने सेफ्टीलाई केन्द्रमा राखेर आईपीटी ब्लक बनाएका छौं,’ डा. पाण्डेले भने।
अनमीव अस्पताल पाँचतले भवनमा शल्यक्रिया गर्ने ठाउँसहितको सिंगल बेड र डबल बेड गरेर १५ शय्या रहेको छ। त्यसबाहेक अस्पतालमा दुई वटा अत्याधुनिक शल्यक्रिया कक्ष छन्।
अस्पतालमा लामो समय बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै सकेसम्म एकै दिन बिरामीलाई पठाउने योजना उनले बनाएका छन्। ‘अबको हेल्थकेयर आईपीडी बिरामी धेरै बनाउनुको सट्टा लामो अस्पताल बसाइँ घटाएर बढी प्रडक्टिभ वर्क गर्नुपर्छ भन्ने अवधारणा अगाडि बढिरहेको छ,’ डा. पाण्डेले भने, ‘बिरामीको अस्पताल बसाइँ कम गराउने कन्सेप्टमा काम गर्दा बिरामीको समय र खर्च पनि बच्छ।’
अबको तीन महिनापछि उद्घाटन गर्ने तयारी रहेको अस्पतालमा छुट्टाछुट्टै भवन सञ्चालनमा रहेको छ। तीमध्येको अनमीव हेल्थ पनि एउटा हो। यसअन्तर्गत प्रिभेन्टिभ अर्थोपेडिक्स र अलाइड मेडिकल साइन्सका लागि पूर्वाधार बनाइएको छ। यसमा अस्पतालको प्रशासनसहित बहिरंग सेवा पर्छन्।
यो विभागमा फराकिलो गार्डेन र पार्किङसहितका पाँच वटा घर छन्। ओपिडी कक्ष, प्रयोगशाला, रेडियोलोजी, आधुनिक फिजियोथेरापी, स्टोर, फार्मेसीसँगै क्लासरुम र क्यान्टिन। अहिले दैनिक ७० देखि १ सय जनासम्म बिरामीलाई ओपिडीमा सेवा दिइरहेको अनमीव अस्पतालको इमर्जेन्सी ह्यान्डलिङ पनि सोही ब्लकमा रहेको छ।
‘अनमीव हस्पिटल चेन्जिङ द हेल्थ केयर ल्यान्डस्केप अफ नेपाल हो,’ डा. पाण्डेले भने। प्रविधिमा कुनै अभाव नहोस् भन्न युरोप, अमेरिका, टर्कीलगायत मुलुकबाट सामान ल्याएर अस्पतालमा जडान गरेको उनले बताए।
हाडजोर्नी, स्पोर्टस् मेडिसिन, जोर्नी प्रत्यारोपण र ठूला–ठूला दुर्घटनालाई समाधान गर्न ट्रमा सेन्टरको रुपमा विकास गर्ने योजना रहेको उनले सुनाए। अस्पालतमा सरकारी नीतिअनुसार गरिबलाई निःशुल्क उपचार व्यवस्थाका लागि २ वटा बेडसमेत राखिएको छ। अनमीव अस्पतालमा दुई महिनामा ८५ वटा शल्यक्रिया भइसकेको उनले बताए।
खासगरी अस्पतालको बसाइँ छोटो बनाउने र चिकित्सकको प्रत्यक्ष निगरानीमा छिटो उपचार गराएर घर पठाउने उद्देश्यका साथ बिरामी र कुरुवा बस्न बुटिक होटल सञ्चालनमा ल्याएको डा. पाण्डे बताउँछन्।
अहिले अनमीव अस्पतालमा अर्थोपेडिक सर्जन ५ जना, एनेस्थेसियामा ३ जना, स्त्री तथा प्रसूति रोग विशेषज्ञ २ जना, कार्डियोलोजी, ईएनटी, न्यूरो सर्जरी, एमडिजीपी, पेडियाट्रिकमा १र१ जना विशेषज्ञ चिकित्सक छन्। त्यसबाहेक १६ जना नर्स, ७ जना फिजियोथेरापिस्टसहित अनमीव अस्पतालको टिम ६५ जना पुगेको छ।
अहिले अस्पतालमा मेडिसिन, पेडियाट्रिक, युरोलोजी, कार्डियो, स्त्री तथा प्रसूति, ईएनटीलगायत अन्य विशेषज्ञ सेवा थपिएको र केही समयमै अनमीवमा नियोनेटल आईसीयु सेवा पनि सुरु हुने डा. पाण्डेले बताए।
डा.पाण्डेलाई उनका श्रीमती सपना पाण्डेले साथ दिइरहेकी छिन्। अस्पतालकी सह—संस्थापक एवंम प्रमुख कार्यकारी अधिकृत(सिईओ)को रुपमा रहेकी सपनाले अनमीव हेल्थ र अस्पतालको सिईओका रुपमा सम्पूर्ण व्यवस्थापन हेरिरहेकी छन्।
अस्पताल, अनमीव हेल्थ र बुटिक होटलको आर्किटेक्ट डिजाइन देखि बगैचाको व्यवस्थापन उनै सपनाले गरेकी हुन्। अस्पतालसँगै बुटिक होटल सञ्चालन गर्दा बिरामीको समय र खर्च बचत हुने अवधारणा सिईओ पाण्डेकै हो, सञ्चालक पाण्डेले भने उनको अथक मेहनतले अस्पतालको स्वरुपनै परिवर्तन भएको छ।
डा. पाण्डेकी छोरी सुजिता क्यानडामा पीएचडी गर्दैछन् भने उनका छोरा चिरन बेलायतको क्याम्ब्रिज युनिभर्सिटीबाट अंग्रेजी साहित्य र क्रिटिकल राइटिङमा माष्टर्स सकेर अहिले अर्को प्रतिष्ठित छात्रवृत्तिमा मेडिकल स्कुल मिलान इटलीमा अध्ययनरत छन् मिलान मेडिकल स्कुलमै अध्ययनरत अर्की छोरी चाँदनीले अस्पतालको वेव डिजाइन र रणनीति निर्माणको काम गरिरहेकी छन्।
बिरामी र कुरुवा बस्न बुटिक होटल
सम्भवतः नेपालमा पहिलो पटक अस्पतालसँगै बुटिक होटल सञ्चालन भएको यो नै पहिलो हो। खासगरी अस्पतालको बसाइँ छोटो बनाउने र चिकित्सकको प्रत्यक्ष निगरानीमा छिटो उपचार गराएर घर पठाउने उद्देश्यका साथ बिरामी र कुरुवा बस्न बुटिक होटल सञ्चालनमा ल्याएको डा. पाण्डेको भनाइ छ।
हाडजोर्नीका बिरामीलाई जस्तो पायो त्यस्तै बेडमा सुत्न र बस्न असहज हुने भएकाले होटलमा राखिएका बेड आधुनिक र सहज रुपमा बस्न मिल्ने खाले रहेको उनले बताए। अहिले धेरै सुविधाभोगी भएकाले सुविधासम्पन्न बनाउँदा कोठाको मूल्य भने केही महँगो रहेको उनले जानकारी दिए। होटलमा एक रात बास बसेको सिंगल बेडको १० हजार र डबल बेडको ८ हजार रहेको छ।
तर, बिरामीलाई होटलमा बस्न बाध्यकारी भने नरहेको उनको भनाइ छ। बाहिर बस्न समस्या हुने र बिरामीलाई डाक्टरको निगरानीमा राख्नुका साथै सहज बसाइ खोज्नेका लागि होटल उपयुक्त रहेको उनको दाबी छ।
२ रोपनी क्षेत्रफलमा फैलिएको होटमा ९ वटा कोठा रहेको लक्जरी बुटिक होटल पुनःस्थापना केन्द्र (रिह्यालिबिटेसन सेन्टर)का रुपमा प्रयोग भएको छ। यो संरचना छोटो समय र मध्यम समय बस्न मिल्ने गरी तयार पारिएको उनले बताए।
होटलमा मनोरम प्राकृतिक वातावरण र फराकिलो गार्डेनसहित प्रत्येक दिन मोटिभेसनलगायत सुविधा समावेश गरिएको छ। उपचारपछि निको हुने समयसम्म सहज होस् भन्ने हेतुले होटललाई अस्पतालको अंगका रुपमा विकास गरिएकाले यहाँ बस्दा बिरामीलाई पटक-पटक अस्पताल आउनुपर्ने यातायात खर्चसमेत जोगिने उनले दाबी गरे।
अहिले धेरैका परिवार युरोप, अमेरिका र अस्ट्रेलियासहितका मुलुकमा रहेका कारणले पनि उनीहरुले त्यही किसिमको सेवा–सुविधा खोज्ने संख्या धेरै भएकाले होटल सोही स्ट्यान्डर्डअनुसार बनाइएको उनको भनाइ छ।